स्वास्थ्य

सुदूरपश्‍चिममा घट्दै कोभिड संक्रमण र मृत्युदर : पछिल्‍लो दुई दिन यता मृत्यु दर शून्य

इकागज |
असार १२, २०७८ शनिबार १०:३ बजे

सुदूरपश्चिम : कोभिड-१९ को दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा सङ्क्रमितको मृत्यु दर शून्यमा झरेको छ ।  गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोभिड-१९को सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ । दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो ।   प्रदेशमा अहिलेसम्म ४३ हजार४४२ सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोभिड-१९को नमूना परीक्षण गरिसकिएको छ ।

 दोस्रो लहरको कोभिड-१९ फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।


कोभिड-१९को रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ । पछिल्ला हप्तामा कोभिड-१९को सङ्क्रमण र मृत्यु हुने दर घटेको देखिएपनि सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमूना परीक्षण गरिएका मध्ये ४३ हजार ४४२ जना अर्थात झण्डै १७ प्रतिशतमा सङ्क्रमण भएको पाइएको छ ।  सङ्क्रमित हुने मध्ये ५७० जना आर्थात एक दशमलब ३१ प्रतिशतको मृत्यु भएको छ । 

 हालसम्म एन्टिजेन परीक्षण ६६ हजार ९५० जनाको गरिएकोमा आठ हजार ३४४ र पिसिआर परीक्षण एक लाख ९१ हजार ९३७ जनाको गरिएकोमा ३५ हजार ९८ जना सङ्क्रमित भएका छन् । पिसिआर परीक्षण एक वर्ष अघि देखिनै शुरु गरिएकोमा एन्टिजेन परीक्षण भने गएको वैशाखदेखि गर्न थालिएको हो । 

 एन्टिजेन परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्यु दर दुई दशमलब ९१ प्रतिशत रहँदा पिसिआर परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्यु दर शून्य दशमलब ९३ प्रतिशत रहेको छ । अहिलेसम्म एन्टिजेन परीक्षण गराएका २४३ र पिसिआर परीक्षण गराएका ३२७ जनाको उपचार व्यवस्थापनका क्रममा मृत्यु भएको छ । रासस
 


Author

थप समाचार
x