स्वास्थ्य

वीपीका मापसे गरेका उपकुलपति डा. गिरीसहित चार पदाधिकारी कोठामा थुनिए

इकागज |
असार १५, २०७८ मंगलबार २१:८ बजे

काठमाडौँ : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मापसे गरी वार्तामा बसेका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी सहित अन्य चार पदाधिकारीलाई आन्दोलनकारीले कोठामै थुनेका छन् । रजिष्ट्रार प्रा डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा डा. गुरु खनाल, असिस्टेन्ट निर्देशक डा. दिव्यराज मिश्र र पर्मिद बराल थुनिएका हुन् ।

प्रतिष्ठानमा १५ दिनदेखि बढ्दो बेथितिविरुद्ध आन्दोलित संयुक्त संघर्ष समिति र धरान नागरिक दबाब सञ्जालका पदाधिकारीले आन्दोलन गरिरहेका छन् । उपकुलपति वार्तास्थलमा प्रवेश गर्नासाथ रक्सीको गन्ध आएको र बोली लरबरिएर नबुझेकाले आफूहरूले वार्तास्थल छाडेर बाहिरिएको वार्ता समितिका सदस्य डा. अमृत जैशीले इकागजलाई जानकारी दिए । 'प्रतिष्ठानका पदाधिकारीलाई थुनिएको छ,' उनले भने,' अहिले भने धरान उपहमहानगरपालिकाका नगर प्रमुख र प्रहरीको डिएसपीभित्र जानु भएको छ ।'


उनका अनुसार १८ दिनपछि उपकुलपति काठमाडौँबाट आएपछि वार्ता भएको हो । साढे ३ बजे संयुक्त संघर्ष समितिको तर्फबाट सबै समाज र समितिका  एक-एक जना प्नतिनिधिसहित ५ जनाको वार्ता टोलीलाई बोलाएको थियो ।  उपकुलपतिले वार्ता राम्रोसँग नगरेकाले भाँडिएको डा. जैशीको भनाइ छ । 


Author

थप समाचार
x