स्वास्थ्य

व्यक्तिगत स्वार्थमा डुबेको प्रतिष्ठानलाई आन्दोलनले निकास दिन्छ : उपकुलपति गिरी

इकागज |
असार १६, २०७८ बुधबार १९:१४ बजे

काठमाडौँ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा ज्ञानेन्द्र गिरीले व्यक्तिगत स्वार्थमा लिप्त प्रवृत्तिका व्यक्तिहरूले बुनेको माकुराको जालोबाट निकास दिन विद्यमान आन्दोलनले सहयोग गर्ने बताएका छन् ।

गिरीले बुधबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानलाई माया र न्यायोचित निष्ठाप्रति उच्च सम्मान गर्ने बताए । 'तपाइहरूको साथ, सहयोग र हाल भइरहेको यस आन्दोलनको बलमा एकताबद्ध भइ देशकै गौरव र प्रतिष्ठा बोकेको यस प्रतिष्ठानको विगतको इतिहास, विद्यमान उचाइ र भविष्यमा अझ उचाइको नयाँ शिखरमा पुग्‍ने विश्‍वास लिएको छु,' उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


कुनै पनि प्रकारको कमिकमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायलाई छानबिन गरी सत्य तथ्य पत्ता लगाउन सहयोग गर्ने डा. गिरीको भनाइ छ । दोषी करार भएमा कानुन बमोजिम कारबाही भोग्न तयार हुने पनि उनले उल्लेख गरेका छन् ।

आर्थिक, नीतिगत र कोभिडसम्बन्धी कार्यका लागि विभिन्न सरकारी निकायमा सहयोगका लागि काठमाडौँमा रहेको उनले बताएका छन् । १५ गतेको वार्तामा आन्दोलनरत पक्षले उठाएका मागहरू जायज रहेको प्रतिक्रिया उनको छ । 

'प्रतिष्‍ठानको विकास र सुन्दर  भविष्यको जिजिविषा बनेका तपाइहरूको यस अभियानलाई स्वागत गर्दछु,' उनले विज्ञप्तिमा लेखेका छन्,'राष्ट्रप्रतिको कर्तव्य अनि नयाँ युगको सपना देखे, स्वास्थ्य क्षेत्रको संवेदनशीलता प्रति गहिरो, अटुट अनि अटल निष्‍ठा देखे ।'


Author

थप समाचार
x