स्वास्थ्य

महामारीको समयमा नीतिगत भ्रष्‍टाचार

वीपी कोभिड उपचार केन्द्रमा स्वास्थ्य सामाग्री खरिद गर्दा डेढ करोड घोटाला

कालो सूचीको कम्पनीलाई उपकुलपतिको संरक्षण

अतिन आचार्य |
असार १७, २०७८ बिहीबार १३:१८ बजे

काठमाडौँ : धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानले कोभिड उपचार केन्द्रका लागि स्वास्थ्य सामग्री खरिद गर्दा डेढ करोडभन्दा बढी घोटाला गरिएको तथ्‍य फेला परेको छ । गत पुसमा १२ वटा आइटम खरिद गर्न प्रतिष्‍ठानले टेण्डर आह्‍वान गरेको थियो ।

प्रतिष्ठानले तीन करोड १२ लाख रुपैयाँको स्वास्थ्य सामग्री मापदण्ड पुर्‍याएर आपूर्ति गर्न टेण्डर गर्‍यो तर,आपूर्तिकर्ताले एक करोड ८० लाख रूपैयाँ बराबरको सामग्री भित्र्‍याएको तथ्‍य इकागजले फेला परेको छ ।


१२ आइटमको एकैपटक टेण्डर गर्नुपर्ने भए पनि केही सयमपछि प्रत्येक सामग्रीको बेग्लाबेग्लै टेण्डर आह्‍वान गरेको थियो । प्रतिष्ठानले सोही समयमा कम मूल्यमा सामग्री खरिद गर्नेलाई नदिएर बढी मूल्यमा सामग्री आपूर्ति गर्नेलाई दिएको थियो ।

आयातकर्ताले केही सामग्री सस्तोमा र उच्च मूल्यमा उपलब्ध गराएको प्रतिष्‍ठानका रजिष्टार डा. मोहनचन्द्र रेग्मीले बताए । खरिद समितिले उक्त आयातकर्ता कम्पनीलाई कालोसूचीमा राख्‍न भने पनि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले राख्‍न नमानेको उनले जानकारी दिए । उनका अनुसार 'दि मेडिकल सोलुसन' प्रालिलाई कालो सूचीमा राखेको थियो ।

एचडियू सेटअपका लागि मागिएका १२ आइटममध्ये ५ थान ‘हाईफ्लो नसल क्यानुला थेरापी डिभाइस’ का लागि ‘जनमुखी हेल्थ इण्टरप्राइजेज’ ले सबैभन्दा न्यूनतम् रकम १५ लाख ९५ हजार कबोल गरेको थियो ।

दोस्रो न्यूनतम् रकम ‘जी.एच.मेडिहेल्थ कन्सर्न प्रालि’ ले र तेस्रो न्यूनतम् रकम ‘वेब ट्रेडिङ प्रालि’ले कबोल गरेका थिए । प्रतिष्ठानले चौथो न्यूनतम् रकम २१ लाख ९५ हजार कबोल गर्ने ‘द मेडिकल सोलुसन प्रालि’लाई स्वीकृति दिएको थियो ।

उक्त सामग्री खरिद गर्दा मात्र ६ लाख रुपैयाँ घाटा भयो । ५ थान 'सिप्याप-बिप्याप मेसिन' मा सबैभन्दा न्यूनतम् ३ लाख कबोल गर्ने 'जनमुखी हेल्थ इण्टरप्राइजेज' थियो तर, अधिक मूल्य ८ लाख रुपैयाँ कबोल गर्ने ‘द मेडिकल सोलुसन प्रालि’लाई नै स्वीकृति दियो । जसले प्रतिष्ठानलाई ५ लाख  बढी भार थपेको थियो ।

प्रतिष्ठानले मागेको २५ थान ‘प्यासेण्ट मोनिटर’का लागि ‘जी.एच. मेडिहेल्थ कन्सर्न प्रालि’ले कम न्यून ९३ लाख ५० हजार कबोल गरे पनि ९३ लाख ७५ हजार कबोल गर्ने ‘द मेडिकल सोलुसन’लाई नै खरिद स्वीकृति दिएपछि प्रतिष्ठानलाई २५ हजार भार बढ्यो ।

एक थान ‘इसिजी मेसिन’ सबैभन्दा न्यून १ लाख ५४ हजारमा उपलब्ध गराउने कबोल गरेको ‘जी.एच. मेडिहेल्थ कन्सर्न प्रालि’ को बद्लामा १ लाख ७५ हजारमा कबोल गर्ने ‘द मेडिकल सोलुसन’ लाई स्वीकृति दिएको थियो । प्रतिष्ठानले २१ हजार रुपैयाँ भार थपिएको छ ।

१० थान ‘साइरिङ पम्प’ न्यूनतम् ४ लाख ५२ हजार १ सय ८० मा उपलब्ध गराउन ‘हिमालयन मेडिकल टेक्नोलोजिज’ ले कबोल गरेको थियो तर, १२ लाख ९९ हजार रुपैयाँमा कबोल गर्ने ‘द मेडिकल सोलुसन’लाई स्वीकृति दिँदा ८ लाख ४६ हजार ८ सय २० रुपैयाँ बढी लागत परेको थियो ।

१० थान ‘इन्फ्युजन पम्प’ का लागि ५ लाख ३२ हजार ९ सय रुपैयाँ कबोल गर्ने ‘हिमालयन मेडिकल टेक्नोलोजिज’लाई नदिएर प्रतिष्ठानले ५ लाख ७५ हजार कबोल गर्ने ‘द मेडिकल सोलुसन’लाई नै स्वीकृति दिएको थियो।

एक–एकवटा आइटम न्यूनतम् कबोल गर्ने ‘जनमुखी हेल्थ इण्टप्राइजेज’ र ‘जी.एच.मेडिहेल्थ कन्सर्न’ले स्वीकृति पाएका थिए तर त्यसमध्ये एउटा आइटमको ठेक्का रद्द भएको थियो ।

न्यूनतम् कबोल गर्नेलाई नदिएर बढी कबोल गर्ने ‘द मेडिकल सोलुसन’लाई स्वीकृति दिएका ६ आइटमबाट जम्मा २० लाख ३४ हजार ९ सय २० र त्यसको भ्याट रकम २ लाख ६४ हजार ५ सय ३९ रुपैयाँ ६ पैसा गरी प्रतिष्ठानलाई जम्मा २२ लाख ९९ हजार ४ सय ५९ रुपैयाँ ६ पैसा व्ययभार बढेको प्रतिष्ठानको मूल्याङ्कन समितिले उपकुलपतिलाई बुझाएको प्रतिवेदनमा पनि उल्लेख छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x