स्वास्थ्य

कोभिड अस्पताललाई प्रवासीको सहयोग

इकागज |
साउन २, २०७८ शनिबार १७:३ बजे

भोजपुर : कोभिड अस्पतालका लागि सहयोग जुट्ने क्रम बढेको छ । अस्पताललाई सहजरूपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीले आफ्नो खर्चलाई कटाएर ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरिएको समाजका  केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । 

त्यस्तै अस्पतालका लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले रु एक लाख ८० हजार बराबरको अक्सिजनसहित १० सिलिण्डर वितरण गर्नुभएको छ  । श्रेष्ठले आफू कोभिडको बिरामी भएर उपचार गराउँदा अक्सिजनको आवश्यकता धेरै नै रहेको महसुस भएकाले अक्सिजन सहयोग गरेको बताए । यसले कोभिडका बिरामीलाई केही राहत हुने उनको भनाइ छ ।


त्यस्तै भोजपुर नगरपालिकाले ब्लड बैंक स्थापनाका लागि फ्रिज र नेपाल चिकित्सक सङ्घले भेन्टिलेर वितरण गरेको छ । अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग भइरहेको भए पनि जनशक्ति व्यवस्थापनमा भने समस्या रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले भने, “अस्पताललाई आवश्यक मापदण्डअनुसार निर्माण गरेर यहाँका बिरामीलाई बाहिर नपठाउने गरी काम गरिरहेका छौँ, विभिन्न ठाउँबाट सहयोग पनि जुटिरहेको छ, तर जनशक्ति व्यवस्थापनमा चुनौती छ, यसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्छौँ ।” अस्पताल सञ्चालनका लागि बजार क्षेत्रका व्यवसायी, समाजसेवी, विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।

कोभिडका बिरामीलाई सहजरूपमा उपचारको व्यवस्था गराउनका लागि काम भइरहेको सो नगरपालिकाले जनाएको छ । त्यसका लागि विभिन्न सरोकारवाला पक्षसँगै समन्वय गरेर काम भइरहेको नगरपालिकाको भनाइ छ । नगर प्रमुख कैलाशकुमार आलेले भने, “कोभिड अस्पताललाई व्यवस्थापनका लागि नगरपालिकाले काम गरिरहेको छ, अन्य विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर काम गरिरहेका छौँ ।”

जिल्लामा बिहीबारसम्म एक हजार १३० सङ्क्रमित भएका छन् भने ९६९ निको भएर फर्किएका छन् । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या घट्दै जान थालेपछि जिल्लामा यातायात सेवालाई आजबाट खुला गर्ने निर्णयसमेत गरिएको छ । पसलहरु स्वास्थ्य मापदण्ड पूरा गर्दै समय निर्धारण गरेर सञ्चालनको व्यवस्थापन गरिएको छ । रासस
 


Author

थप समाचार
x