स्वास्थ्य

जाडोमा बाक्लो लुगा लगाउँदा एलर्जी भए के गर्ने ?

डा. सृष्टि श्रेष्ठ |
मंसिर १७, २०७७ बुधबार ८:१७ बजे

जाडो महिनामा तातो कपडा सबैले लगाउँछन् । तर, सबैको शरीरले बाक्लो कपडा सहदैन । बाक्लो कपडाले कसैलाई एलर्जी पनि गर्छ । कपडाबाट एलर्जी हुनुलाई मेडिकल भाषामा ‘क्लोदिङ डर्मेटाइटिस वा कन्ट्याक्ट डर्मेटाइटिस’ भनिन्छ । जाडोमा बाक्लो कपडा लगाउँदा धेरैलाई छाला रातो हुने, चिडचिडाहपन हुने, चिलाउने, पोल्ने आदि हुन्छ । कपडाले भएको एलर्जीलाई धेरैले चिसोको कारणले भएको एलर्जी पनि ठान्छन् र, बेवास्ता गर्छन् ।

कपडाले एलर्जी गर्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । कपडामध्य पनि ऊनीको कपडाले प्रायलाई एलर्जी गर्छ । विशेषगरी ऊनीको कपडा छालामा सिधँै सम्पर्कमा आउँदा एलर्जी गराउँछ ।


यदि ऊनको कपडा लगाउँदा छाला रातो हुने, पोल्ने, चिलाउने, स-साना बिबिरा आउने भयो भने एलर्जी भएको भनेर बुझ्नुपर्छ । सुख्खा र संवेदनशिल छाला भएकाहरुमा यस्तो समस्या देखिन्छ । त्यसैले, यो प्रकारको छाला भएकाहरुले सकेसम्म ऊनीको कपडा नलगाएकै बेस । बालबालिका र बुढाबुढीको छाला संवेदनशील हुने भएकाले उनीहरुलाई यो कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । उमेर बढ्दै गएपछि छालाले तेल र पसिना निकाल्न छाड्छ र,सुख्खा हुन्छ । जसकारण युवायुवतीहरुमा भन्दा पनि उमेर ढल्किसकेकाहरुमा यो समस्या बढी देखिन्छ ।

एलर्जी हुनले यसो गरौँ :
- कपडा छनोट गर्दा ध्यान दिनुपर्छ ।
- आफूलाई एलर्जी हुने खालका कपडा छालाको सिधा सम्पर्कमा आउनेगरि लगाउनु हुँदैन ।
- ऊनका कपडाको एलर्जीबाट बच्नका मोइस्चराइजर वा बडी लोसन लगाउन सकिन्छ । 
- खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ, पर्याप्त मात्रामा फलफुल र तरकारी खानुपर्छ । 
- छाला सकेसम्म सुख्खा हुन दिनुहुँदैन, तोरी वा जैतुनको तेल लगाइरहनुपर्छ । 

ऊनीको मात्रै नभएर अरु लुगाले पनि कतिपयलाई एलर्जी गर्छ । कपडामा भएको रङ पसिनामा मिसिएपछि पनि छालामा एलर्जी हुन्छ । त्यसैले लुगाको छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । जाडोमा एलर्जी भयो भन्दैमा कपडा लगाउन छाड्ने कुरा हुँदैन । कसैलाई ऊनीको कपडाको एलर्जी छ भने भित्र केही नलगाइ एकैचोटी ऊनीको कपडा लगाउनु हुँदैन । उनीको लुगा छालामा सिधैँ नछोओस् भन्नका लागि भित्रपट्टि सिल्क वा कटनको फुल बाहुला भएको कपडा लगाउनुपर्छ । त्यसपछि मात्रै बाहिर ऊनीको कपडा लगाउनुपर्छ । यसोगर्दा एलर्जी पनि हुँदैन, शरीरलाई पनि न्यानो हुन्छ । (कुराकानीमा आधारित ।)
 


Author

डा. सृष्टि श्रेष्ठ

श्रेष्ठ छाला रोग विशेषज्ञ हुन् ।


थप समाचार
x