स्वास्थ्य

बीपी स्मृती दिवस

'बीपीको नाममा खुलेका संस्थाको गौरव राखेमात्र बीपीको सम्मान हुन्छ'

अतिन आचार्य |
साउन ६, २०७८ बुधबार १९:२९ बजे

काठमाडौँ आज साउन ६ गते, बुधबार बीपी कोइरालाको ३९ औँ स्मृतिदिवस हो । नेपाली राजनीतिका शिखरपुरुष बीपी कोइरालालाई सबै नेपालीले श्रद्धाका साथ सम्झना गर्छन् । ‘समाजवादको उद्देश्य समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा गर्नु हो,’ बीपीले भनेका छन् । 

राजनीतिबाहेक  कोइरालाको अन्य क्षेत्रमा पनि उत्तिकै नाम छ । उनलाई साहित्य क्षेत्रमा उत्तिकै स्मरण गरिन्छ । नेपाली राजनीतिमा 'समाजवाद' शब्द सबैभन्दा बढी सुनिने गरिन्छ । बीपीका तीन मन्त्र थिए, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद ।’  सामाजिक आन्दोलन र मानवीय आदर्शका लागि बीपीलाई प्रेरणाको रुपमा मान्ने गरिन्छ । 


राजनीति र साहित्य बाहेक उनको नाम स्वास्थ्य क्षेत्रमा पनि लिने गरिन्छ । बीपी कोइरालाका नाममा सबैभन्दा बढी स्वास्थ्य संस्था खोलिएको छ । मुलुकमा कांग्रेसको सरकार रहेको र प्रतिष्‍ठानको बिग्रिएको छविलाई सुधार्ने जिम्मा उसैको काँधमा आएको छ । प्रदेश १ को धरानस्थित चर्चित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उनको नामले खोलिएको थियो ।  २०४९ सालमा बिरामीले सर्वसुलभ स्वास्थ्य सेवा सुविधा प्रदान गर्न, दक्ष चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न प्रतिष्ठान स्थापना गरिएको हो ।

बीपी प्रतिष्ठानमा दिनप्रतिदिन भइरहेको आन्दोलनले उनकै नाममा खोलिएको स्वास्थ्य संस्था धराशायी बन्दै गइरहेको छ । प्रतिष्ठानमा यही वर्ष एक महिनाभन्दा बढी आन्दोलन नै भइसक्यो । सरकारबाट उचित हेरचाह नपुग्दा शिखरपुरुष बीपीको नाममा खोलिएको प्रतिष्ठान नै धरमराउन थालेको छ । जसरी मुलुकमा लोकतन्त्र लड्दै-उठ्दै गरिरहेको छ त्यसैगरी उनकै नाममा खोलिएको स्वास्थ्य प्रतिष्ठानको अवस्था पनि उस्तै छ । 

प्रतिष्ठानमा चरम बेथिति, अनियमितता, अस्पतालमा बढेको भ्रष्ट्राचार , बिरामी र चिकित्सकले भरपर्दो रुपमा शिक्षा पाउन नसकेको भन्दै विरोध भएको थियो ।यस्तो विरोध हरेक वर्ष हुन्छ नै । लाग्छ कुनै समय बीपी अस्पतालमा आन्दोलन भएन भने त्यहाँका कर्मचारी नै अनौठो मान्छन् । यसरी बीपीको नाममा खोलिएको संस्थालाई धुमिल बनाउने काम भइरहेको छ ।

प्रतिष्ठानमा समयमै उपचार हुँदैन । सीटी स्क्यान र एमआरआई सेवासमेत उपलब्ध छैन । प्रतिष्ठानमा कार्यरत अधिकांश चिकित्सक बाहिरी जिल्लामा काम गर्छन् । गुणस्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय चिकित्शा शिक्षाबाट समेत विमुख भएका छन् ।

'राजनीतिक दलका कार्यकर्ता नियुक्त गर्दा प्रतिष्‍ठान धराशायी'

मुलुकको राजनीति र शिक्षा धराशायी बनेजस्तै बीपीका नाममा खोलिएका अधिकांश संस्था धराशायी बन्दै जानुमा नेपालको राजनीति र राज्य पक्ष सधैँ कमजोर भएको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपाली बताउँछन् । बीपीलाई प्रेरणाको स्रोत मानि आएका व्यक्तिका कारण नै पनि बीपी प्रतिष्ठान धराशायी बन्दै गइरहेको उनले बताए । 

'बीपी प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा सबैभन्दा बढी झमेला हुने गरको छ,' डा. नेपाली भन्छन्,' राजनीतिक नियुक्तिदेखि अन्य पार्टीका कार्यकर्ताहरू नियुक्ति हुने गरेको छ ।'

मुलुकको प्रशासनिक व्यवस्थाको परिपाटी बिग्रेसँगै प्रतिष्ठानको प्रशासनिक व्यवस्था बिग्रनुमा राज्यको नेतृत्त्व जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । अधिकांश पदाधिकारीहरू राजनीतिको छायामा हुर्केर आएका हुनाले पनि यसलाई समृद्ध बनाउन नसकेको उनले प्रस्ट पारे ।

'सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ'

प्रतिष्ठान छोडेको दुई दशक भइसकेको र आफू छँदा प्रतिष्ठान ठीकठाक चलाएको भएपनि अहिले ध्यान दिन नपाएको बताउँछन्, प्रतिष्ठानका पूर्व उपकुलपति डा. शेखर कोइराला बताउँछन् । लोकतन्त्र आएपछि प्रतिष्ठानको आँच खस्कदै गएको उनले बताए । 

'बीपीको नाममा खुलेका संस्थालाई सहि ढंगले सञ्चालन गरेमात्र बीपीको सम्मान हुन्छ । शिखर पुरुषको नाममा खोलिएको संस्थालाई बदनाम गराउनु हुदैन थियो,' डा. कोइराला भने,' प्रतिष्ठानको व्यवस्थापनको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्थ्यो । राज्यले प्रतिष्ठानदेखि बाहिरका यसको संवेदनशीलता नबुझेका र मानिस नियुक्ति गर्न थालेपछि समस्या सिर्जना हुन थालेको छ ।'

बीपी कोइराला राजनीतिक मानिस भए पनि प्रतिष्ठानमा राजनीतिकरण नहुनुपर्ने कोइरालाको भनाइ छ । स्वास्थ्य संस्थालाई बचाउन राज्य बढी जिम्मेवार हुनुपर्ने उनले बताए । प्रदेश १ को शाख बचाउने संस्थालाई जगेर्ना गर्न नसक्नुमा केन्द्र सरकार र प्रदेश सरकार असफल बनिरहेको उनले आरोप लगाए ।

'प्रतिष्ठान राजनीति गर्नेको थलो बन्यो '

बीपीको कोइराला जस्तो जननेताका नाममा स्थापित यो नेपालकै अग्रणी प्रतिष्ठान अहिले भने राजनितिकर्मीको स्वार्थ सुद्दी गर्ने थलो बनेको प्रतिष्ठानका डा. अमृत जैशी बताउँछन् । कोइरालाको उच्च व्यक्तित्त्व, चिन्तन, दर्शनलाई पछ्याउनु त कता हो कता झन प्रतिष्ठानका प्राज्ञहरु पनि बिस्तारै प्राज्ञिक स्खलन हुँदैगरेको उनले गुनासो गरे ।

प्रतिष्ठान धराशायी बन्‍नुमा मुख्य पदाधिकारी नियुक्तिमा राजनीतिक पार्टी मात्र नभइ अमुक व्यापारीको आफ्नो स्वार्थ सिद्द गर्न अपारदर्शी तरिकाले चुनावमा सहयोग गरेको र ससुराली नाताले पदाधिकारी छनौट हुदा यो शिक्षाको मन्दिरमा अहिले जटिल समस्या देखा परेको जैशीको भनाइ छ । शिखर पुरुषको नाममा खोलिएको संस्थालाई कमजोर बनाउन अहिले राज्य नै लागेको उनले आरोप लगाए ।

'पहिलेको आफ्नो साख गुमाउँदै गएको र प्रतिष्ठानले आफ्ना मुख्य लक्ष्य प्राप्त गर्न नसकेर कर्मचारीलाई तलब खुवाउन देखि बिरामीको समान्य परिक्षण सम्म नहुने अव्स्थामा पुगेकाले बिस्तारै गुणस्तरीय चिकित्सा शिक्षा संगै बिरामीले गुणस्तरीय उपचार पनि पाउन सकेका छैनन्,' जैशी भन्छन्, 'प्रतिष्ठानका शिक्षक, विद्यार्थी, कर्मचारी पछिल्लो ३७ दिनदेखी अन्दोलनमा छन् । सरकारले संविधान, शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा राख्ने अनि सरकारी शिक्षण सस्था स्वास्थ्य सस्था यसरी धराशायी बन्दा सरकार टुलुटुलु हेरर बस्न नमिल्ने र तत्काल प्रतिष्ठानको समस्यालाई समाधान गर्न पहल गर्नुपर्छ ।'

प्रतिष्ठानले वी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आफू विश्वविद्यालय हुनु अघि नै हस्ताक्षर गरेकाले प्रतिष्ठानले बाटो बिराउँदै गएको जनकपुर चुरोट कारखाना जस्तै बन्न धेरै समय नलाग्‍ने जैशीको भनाइ छ । उनले थपे,' अहिलेको सरकार पनि वीपी कोइरालाले स्थापना गरेको पार्टिको हातमा छ । सरकारले केही गर्न नसके पनि उनको नाममा स्थापित यस संस्थालाइ जोगाउन पहल गरिदिएमा बीपी कोइरालाको समाजवादको सपना पूरा हुने थियो ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x