स्वास्थ्य

सरकारको 'भ्याक्सिनेशन' दौड : यो गतिले यत्तिकै गुज्रिन सक्छ २ वर्ष

अतिन आचार्य |
साउन ८, २०७८ २०:५६ बजे

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत लिने क्रममा शेरबहादुर देउवाले सरकारको प्राथमिकताबारे बोल्दै भने– ‘खोप, खोप र खोप’ । उनले आगामी डेढ वर्षपछि हुने निर्वाचन अघि सबैलाई खोप लगाइसक्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

खोपका विषयलाई लिएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त हुनुअघि सरकारले खोपको चिन्ता गर्नु नपर्ने भन्दै दुई करोड मात्रा खोप आपूर्तिको सुनिश्चितता गरेको बताएका थिए । 'मलाई थाहा छ, भरे वा भोलि बिहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमाशा शुरु हुनेछ,' ओलीले भनेका थिए ।


ADVERTISEMENT

शुक्रबार प्रधानमन्त्री देउवाले ऋण वा सापटी लिएर भए पनि सवै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने  प्रतिवद्धता दोर्‍याएका छन् । न पूर्वप्रधानमन्त्री ओली न त वर्तमान प्रधानमन्त्री देउवा नागरिकलाई छिट्टै खोप पुर्‍याउन के गर्ने भन्ने वास्तविक धरातलमा नै उभिएका छन् । खोप खरिद गर्न आर्थिक स्रोत नभएर होइन भन्ने प्रधानमन्त्री देउवाले पक्कै बुझेका होलान् ।

खोप खरिद गरेर ल्याएपछि त्यसलाई भण्डारण गर्ने, सुरक्षित र गुणस्तर कायम राखेर देशभरका खोप केन्द्रमा पुर्‍याउने र सुरक्षित रूपमा भीडभाड नगरी खोप लगाउने तयारी पुगेको देखिदैँन । ओलीलाई पदमुक्त हुँदा देउवाको कार्यकालमा खोप सहज भएमा जस लिनेछन् कि भनेर चिन्ता छ । तर आगामी निर्वाचनमा पनि निर्वाचनमा ओली आफूले खोप आपूर्ति सुनिश्चित गरिदिदाँ पनि देउवा नेतृत्वको सरकारले ल्याएर वितरण गर्न नसकेको भन्ने मुद्दा बनाउने स्थिति हुने देखिन्छ । अहिलेको अवस्थामा पूरै जनसंख्यालाई खोप दिन सवा दुई वर्ष लाग्‍ने देखिन्छ ।

हालसम्म स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको ४.२१ प्रतिशतले खोपको पूरा मात्रा पाएका छन् । खोपको आपूर्ति बढाउन, त्यसको भण्डारण केन्द्र र आपूर्ति व्यवस्थापन साथै जनशक्ति व्यवस्थापनमा नयाँ सरकारले सकरात्मक लक्षण दिन नसक्दा मुलुकमा कोभिड-१९ खोप र महामारी नियन्त्रणमा चुनौति थपिनेछ । बोली र व्यवहारमा पनि प्रतिबिम्बित हुन सकेको छैन ।

संसदमा प्रतिपक्षी एमालेका नेता सुवास नेम्वाङले अहिलेसम्म मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको र त्यसमा पनि कोभिड महामारीमाको समयमा महत्वपूर्ण स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसकेको भनेर व्यंग्य गरे । प्रधानमन्त्री देउवाको प्राथमिकता जनस्वास्थ्य भए पनि उनले व्यवहारमा स्वास्थ्य मन्त्रालयलाई मन्त्री दिन सकेका छैनन् । कोभिडको तेश्रो लहरले बालबालिकालाई बढी असर गर्छ भन्ने तर, त्यसको प्रतिकार्यका लागि सरकारको तयारी देखिँदैन ।

अधिकांश ज्येष्‍ठ नागरिकले पहिलो मात्राको खोप लगाए पनि बालबालिकाका लागि सरकारले सोच्‍न सम्म भ्याएको छैन । अन्य मुलुकले १८ वर्ष मुनिकालाई मोडोर्ना र फाइजर को खोप सुरु गरे पनि त्यसतर्फ सरकारले केही घोषणा गर्न सकेको छैन । अहिलेसम्म एक मात्रा खोप लगाएको जनसंख्या ३३ लाख ९ हजार जति छन् अर्थात् जनसंख्याको झण्डै ११ प्रतिशत जति । एक डोज खोप लगाएका, १ करोड १५ लाख जति १८ वर्ष मुनिको उमेर समूह साथै वैदेशिक रोजगारमा रहेको जनसंख्यासमेत कटाएर नेपालले सवा करोड जति नेपालीलाई खोप लगाउन बाँकी छ । 

अहिले एक मात्रा मात्र खोप पाएका ३३ लाख ९ हजार कै हिसाब गर्ने हो भने यो जनसंख्यामा एक डोज खोप पुर्‍याउन झण्डै सात महिना समय लागेको छ । यहि हिसबले बाँकी सवा करोड जनसंख्यामा खोप पुर्‍याउन सरकारलाई सवा दुई वर्ष लाग्‍ने देखिन्छ । अहिलेको संरचना विस्तार, खोपको आपूर्ति विस्तारसँगै आपूर्ति व्यवस्थाको प्रभावकारिता, स्थानीय स्तरमा भण्डारण सुविधा र खोप लगाउने जनशक्ति नबढाउने हो भने खोप लगाइनेछ भन्ने ओठे भाषणबाट मात्र जनताले तत्काल खोप प्राप्त गर्न सक्ने सम्भावना देखिँदैन ।

महामारीमा गठन भएको सरकारले स्वास्थ्य मन्त्री नियुक्त गर्न नसक्दा ठूलो भुल गरिरहेको स्वास्थ्य मन्त्रालयका खोप सल्लाहकार समितिका खोप विशेषज्ञ डा. श्यामराज उप्रेतीले बताए । खोपको रटानले मात्र खोपको लक्ष्य हासिल गर्न नसक्ने उनको भनाइ छ । यस आर्थिक वर्षमा ५० प्रतिशत जनतालाई खोप लगाउन सकिने डा. उप्रेतीको दाबी छ । उनकाअनुसार कोभ्याक्सबाट खोप आउन बाँकी छ । खरिद गरेको खोप चीन र भारतबाट आउन बाँकी छ । जापानबाट पनि ल्याउन बाँकी छ ।

लक्ष्य अनुसारको खोप लगाउन सरकारलाई अहिले जसरी गएमा तीन वर्ष भन्दा बढी लाग्‍न सक्ने उप्रेतीले दाबी गरे । 'ओली र देउवा दुवै प्रधानमन्त्री नभए पनि अमेरिका र जापानले खोप दिने थिए,' उनले भने,' खोपको नाममा सरकारले जस लिने काम नगरे हुन्छ ।' जोखिम उमेरअनुसार ५० वर्ष माथिका मानिसलाई लगाउन सकेमा नेपालमा मृत्युदर घटन सक्ने उनको भनाइ छ ।

सन् २०२२ सम्ममा कोभ्याक्सबाट डेढ करोड डोज खोप खरिद गर्ने योजना रहेको उप्रेतीले सुनाए । सरकारको प्राथमिकतामा कोभिड खोपका कारण अन्य खोपका कार्यक्रम प्रभावित हुन नहुने उनको भनाइ छ । बढी खोप आयात गरेमा नेपालमा भण्डारणको समस्या हुने उनले जानकारी दिए । 'खोप भण्डारण गर्न तराईका जिल्लामा भण्डारण केन्द्रको निर्माण भइरहेको छ,' उनले भने,' हरेक लटमा आएको खोप जिल्ला र प्रदेशमा पठाइसकेपछि मात्र खरिद गरेको खोप ल्याइने गरिएको छ ।'

नेपालमा हालसम्म भित्रिएको खोप

भारतबाट अनुदानमा १० लाख खोप, भारतीय सेनाबाट १ लाख र खरिदबाट १० लाख । कोभ्याक्सबाट तीन लाख ४८ हजार ल्याइएको हो । अमेरिकाबाट कोभ्याक्स अन्तर्गत जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप १५ लाख ३४ हजार ८५० आयात भएको हो । चीनबाट अनुदानमा १८ लाख र खरिद गरी १६ लाख खोप ल्याइएको छ । मुलुकमा कुल ७३ लाख ८२ हजार ८५० खोप भित्रिएको छ ।



Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार