स्वास्थ्य

युवामा किन बढी देखिँदैछ कोभिड संक्रमण ?

अतिन आचार्य |
साउन १५, २०७८ शुक्रबार १९:५७ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो हुँदैछ । मानिसको आवतजावत बढेको, बजारमा भिडभाड र जनस्वास्थ्यको मापदण्ड पालना पनि देखिएको छैन । केही समययता संक्रमितको संख्या पुनः संख्या बढ्ने क्रम जारी छ ।

मुलुकका विभिन्न स्थानमा कोभिडविरुद्धको खोप लगाउने कार्यले पनि निरन्तरता पाइरहेको छ । जहाँ सामाजिक दूरी कायम गरिएको छैन । भिडभाड नियन्त्रण हुनुपर्ने ठाउँमा जनस्वास्थ्यको बिना मापदण्ड मानिसहरू खोप लगाउन गइरहेका छन् । खोप लगाएपछि कोभिडमाथि विजय गरी आए जस्तो गरिरहेका छन् ।


नयाँ सरकार गठन भएको करिब तीन साता हुन लागिसकेको छ । असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएका थिए । सोही दिन मुलुकमा २३९८ जनामा कोभिड-१९ को संक्रमण देखिएको थियो ।

जसमा २१ देखि ३० वर्षसम्म उमेर समूहका युवामध्ये ५७८ जनामा कोभिड देखिएको थियो । त्यसयता दैनिक संक्रमितको संख्या गणना गर्दा युवाहरूको संख्या बढी देखिन्‍छ ।

विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले सरकारको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् । विभिन्न समूहले गरेको आन्दोलनमा सहभागी हुनेहरू अधिकांश युवाहरू छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दैनिकजसो बढने संक्रमितमा युवा बढी छन्।

कोभिडको पहिलो लहरमा अधिकांश ज्येष्ठ नागरिक प्रभावित भएका थिए । दोस्रो लहरको चपेटामा वयस्क पनि परे । पछिल्लो समय कोभिडका नयाँ नयाँ भेरियन्‍ट देखा पर्न थालेका छन् । जुन तीव्र रुपमा फैलने पनि मन्त्रालयले जनाएको छ ।

केही दिनयता संक्रमण बढिरहेको छ । युवा उमेर समूहका मानिस यसबाट प्रभावित भइरहेका छन् । युवाहरूको बढी गतिविधि हुने भएकाले पनि उनीहरू संक्रमित हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक सागरराजकुमार राजभण्डारीले बताए । विद्यार्थीहरू परीक्षा दिन उपत्यका बाहिरबाट आउनेको संख्या बढेकाले बढी संक्रमण देखिएको हुन सक्ने उनको अनुमान छ ।

'खोप लगाउने उमेर समूहमा उनीहरू परेका छैनन्,' डा. राजभण्डारीले भने,' खोप लगाउने उमेर समूहका मानिसहरूमा संक्रमण पनि कम देखिएको छ ।' कुरा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले सुझाए ।

अधिकांशलाई खोपको व्यवस्था गर्न सकेमा कोभिड कमै मानिसलाई देखिने राजभण्डारीको भनाइ छ । १८ वर्ष माथिका सबैलाई खोप उपलब्ध गराउन सकेमा पनि युवाहरू कोभिड लाग्नबाट बच्न सक्ने उनले बताए ।

'विदेश जानेले मात्र कोभिड परीक्षण गरे'

पछिल्लो समय नेपालमा कोभिड परीक्षणको दायरा घटेको छ । विदेश जाने मानिसले मात्र कोभिड परीक्षण गरीरहेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बासुदेव पाण्डे बताउँछन् । सरकारले पूर्ण रूपमा कोभिड परीक्षण घटाएको उनले बताए ।

'बाटो र बजारमा बढेको भिडभाडले मुलुकमा कोभिड सकिएको जस्तो देखिन्छ,' उनी भन्छन्,' मुलुकमा पुनः तेस्रो लहर आउन सक्ने संकेत गरेको छ । कोभिड फैलन नदिन सरकार र नागरिक दुवै सचेत हुनुपर्छ ।' मुख्य कुरा सबै उमेर समूहका मानिसलाई खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

भाइरसको मात्रा कति फैलिएको छ त्यसको परीक्षण मासमा गरिनुर्ने पाण्डेको तर्क छ । कोभिडको हटस्पट भएको क्षेत्रमा परीक्षणलाई तीव्रता दिनलाई उनले सुझाव दिएका छन् ।

'लक्षित समूहका मानिसलाई खोप लगाउनुपर्छ,' डा. पाण्डेले भने,'टार्गेट गरेका मानिसलाई खोप लगाउन सकेको छैन ।' खोप लगाउन जोखिम उमेर समूहका मानिसलाई पहिलो प्राथमिकतामा राख्‍नुपर्ने उनको भनाइ छ । खोप लगाउँदैमा कोभिड हटेर नजाने उनले बताए । खोपले शरीरमा एन्टीबडी निर्माण गर्ने उनले बताए ।

डा.पाण्डेले अनुदानमा पाउने खोपको मात्र भर पर्न नहुने बताए । पाकिस्तान, जापान र भारतलगायतका विभिन्‍न देशले खोप उत्पादन गरिरहेको सन्दर्भलाई जोड्दै उनी भन्छन्,' विभिन्‍न देशबाट खोप निर्माण गर्ने सामग्री ल्याएर खोप बनाउनुपर्छ । नेपालमा यसअघि पनि 'रेबिज' विरुद्धको खोप बनाइएको थियो ।' प्रविधि र जनशक्ति ल्याएर खोप निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

'स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरौँ'

पछिल्लो समय सरकारले कोभिड अध्यादेश जारी गरेपछि स्वास्थ्य मन्त्रालयले सहजै काम गर्न नपाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । खोप लगाउनेदेखि सामान्य काम मात्र मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।

खोप लगाउँदैमा कोभिडको जोखिम कम भए पनि स्वास्थ्य मापदण्‍ड पालना गर्नुपर्ने डा. अधिकारीले प्रस्ट पारे । भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने उनको भनाइ छ । कोभिड घटेर निषेधाज्ञा खुकुलो भए पनि कोभिडको जोखिम उत्तिकै रहेको उनले बताए । 'सर्वसाधारण तथा जिम्मेवार नागरिकले जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ,' डा. अधिकारीले भने । उनले मन्त्रालयले सबै नागरिकलाई खोप लगाउने योजना बनाएको पनि बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x