डायबेटिक रेटिनोप्याथीको प्रकोप
विश्व २१ औँ शताब्दीमा प्रवेश गरेयता विभिन्न नयाँ आविष्कार भए र नयाँ-नयाँ प्रविधिको निर्माण भयो । संसारभर नै प्रविधिको विकासले गर्दा मानिसहरूको जीवनशैली, काम गर्ने तरिकाहरूमा पनि व्यापक परिवर्तन आयो । ठूलो संख्यामा मानिसहरू गाउँबाट सहरमा बस्न थाले । कृषि, पशुपालन, उद्योग जस्ता पेसा-व्यवसायहरूमा मानिसहरूले गर्ने शारीरिक श्रमलाई मेसिनहरूले प्रतिस्थापन गर्दै जान थाले ।
हिँड्नुपर्ने ठाउँमा सवारी साधनहरूको प्रयोग हुन थाल्यो । प्रविधिले यसरी फड्को मारेका कारण एकातिर मानिसहरूको जीवनस्तर निकै सहज भयो भने अर्कोतिर खानपिनको तालमेल नमिल्ने, अत्यधिक तनाव, वातावरणको परिवर्तन अनि शारीरिक कसरतको कमीले मानिसहरूमा धेरै रोग निम्त्याएको छ, जसमध्ये एक हो डायबिटिज अर्थात् मधुमेह । जसलाई बोलिचालीको भाषामा चिनी रोग वा ‘सुगर भएको’ पनि भनिन्छ ।
के हो डायबेटिक रेटिनोप्याथी ?
मधुमेहले शरीरका थुप्रै अंगहरूमा असर गर्दछ, जसमध्ये एक हो आँखा । अझ विशेष गरी आँखाको रेटिना भन्ने भागमा भएको असरलाई हामी डायबेटिक रेटिनोप्याथी भन्ने गर्दछौं । यसका कारण आँखाको देख्ने शक्ति बिस्तारै कमजोर हँुदै जान्छ र अन्ततः आँखामा अन्धोपन आउन सक्दछ ।
अध्ययनअनुसार २०२० मा विश्वव्यापी रूपमा डायबेटिक रेटिनोप्याथी अनुमानित १०३.१२ मिलियन मा भएको पाइएको छ । थप अरु विभिन्न देशको अध्ययनअनुसार डायबेटिक रेटिनोप्याथी २२.२७ प्रतिशत (१९.७३-२५.०३ प्रतिशत) मा भएको पाइएको छ भने नेपालमा गरिएको अध्ययनअनुसार नेपालमा मधुमेह भएका बिरामीहरूमा डायबेटिक रेटिनोप्याथी १९ देखि ४७ प्रतिशतमा भएको पाइएको छ । अनि २० वर्ष वा त्यसभन्दा बढी समय मधुमेह भएका बिरामीहरूमध्ये ७५ प्रतिशतमा डायबेटिक रेटिनोप्याथीको समस्या देखापरेको छ । जसमध्ये धेरै कम बिरामी मात्र डायबेटिक रेटिनोप्याथीबारे सचेत र जानकार भएको पाइएको छ । हाम्रो देशमा अन्धोपन गराउने थुप्रै कारणमध्ये डायबेटिक रेटिनोप्याथी पनि एक मुख्य कारण मानिन्छ ।
को छन् जोखिममा ?
- मधुमेह भएको अवधिलाई सबैभन्दा धेरै जोखिम मानिन्छ- त्यसैले लामो समयदेखि मधुमेह भएको बिरामीहरूमा डायबेटिक रेटिनोप्याथी हुने सम्भावना बढी हुन्छ ।
- अनियन्त्रित मधुमेह- शरीरमा सुगरको मात्रा नियन्त्रण गरेमा डायबेटिक रेटिनोप्याथी हुने जोखिममा कमी आउँदछ वा हुनबाट बच्न सकिन्छ ।
- उच्च रक्तचाप
- गर्भावस्था
- धूमपान
- हाइपरलिपडेमिया
के हो लक्षण ?
सामान्यतया सुरुवाती अवस्थामा आँखामा कुनै लक्षण देखिँदैन । रोगको जटिलता बढ्दै गएपछि तल उल्लिखित लक्षण देखिन थाल्छन् ।
- दृष्टिमा एक्कासि वा बिस्तारै गिरावट आउनु
- आँखामा कालो धब्बा देखिनु
- दृष्टिको कुनै क्षेत्र नदेखिनु (Visual Field Defect)
कसरी हुन्छ डायबेटिक रेटिनोप्याथी ?
अनियन्त्रित मधुमेह वा धेरै लामो समय सम्म मधुमेह भएलगतै आँखामा जोखिम बढ्छ । यसले पर्दामा रक्तसञ्चार गर्ने रक्तनलीलाई कमजोर बनाउँछ, अनि रक्तनलीबाट रगतको चुहावट हुन्छ जसको फलस्वरूप पर्दामा रक्तस्राव देखिने गर्दछ । समयमै नियन्त्रण गरिएन भने रेटिनल टिस्युमा तरल पदार्थ जम्मा हुन्छ अनि दृष्टि कमजोर हुने गर्दछ । अनि अर्को कारणचाहिँ पर्दामा उचित मात्रामा अक्सिजन आपूर्ति नहुनु पनि हो । यो कमीले गर्दा चाहिने मात्रामा अक्सिजन आपूर्ति गर्न आँखामा नयाँ रक्तनली उम्रने गर्दछ जुन कमजोर भएका कारण सजिलै रक्तस्राव हुन्छ अनि आँखाको दृष्टि कमजोर गराउँछ ।
के-कस्ता उपचार पद्धति छन् ?
डायबेटिक रेटिनोप्याथीको उपचार लेजर फोटोकोवागुलेसनबाट सम्भव छ । लेजरले मधुमेहको कारणले आँखाको पर्दामा देखिएको सुजन, रक्तस्राव अथवा नयाँ रक्तनलीको वृद्धिलाई कम गरी अरु बिग्रनबाट बचाउँछ । यदि पर्दामा सुजन भएको रहेछ भने आँखामा एक किसिमको सुई लगाउनु पर्दछ जसलाई anti-VEGF injection भनिन्छ ।
धेरै असर भएर कहिलेकाहीँ रेटिना फाट्न पनि सक्छ जसलाई Retinal Detachment भनिन्छ । त्यस्तो बेलामा शल्यक्रिया नै अन्तिम विकल्प हुने गर्दछ ।
कसरी बच्न सकिन्छ ?
- सर्वप्रथम त रोग लाग्नुभन्दा लाग्न नदिनु नै उत्तम हुन्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु नै रोकथामको सबैभन्दा प्रभावकारी र उत्तम विकल्प हो । खानपानमा ध्यान दिनु, शारीरिक क्रियाकलाप हो । खानपानमा ध्यान दिनु, शारीरिक क्रियाकलाप, व्यायाम, शारीरिक कसरत योग गर्नाले मधुमेह हुने सम्भावना कम हुन्छ र मधुमेह भइसकेका व्यक्तिलाई त्यसबाट हुने असरमा कमी आउन सक्छ ।
- मधुमेह वंशाणुगत रूपमा पनि हुने हुनाले परिवारमा अन्य कसैलाई मधुमेह छ भने समय-समयमा रगतमा सुगरको मात्रा परीक्षण गरिरहने ।
- मधुमेह भइसकेको व्यक्तिले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न नियमित चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्ने अनि सो अनुसारको जीवनशैली, खानपान अवलम्बन गर्ने ।
- मधुमेह भइसकेपछि समय समयमा आँखाको परीक्षण गर्ने र डायबेटिक रेटिनोप्याथी हुन नदिन नेत्र रोग विशेषज्ञसँग परामर्श गर्ने ।
मधुमेह र अझ खासगरी मधुमेहले गर्दा हुने डायबेटिक रेटिनोप्याथीबारे आम सर्वसाधारणमा सचेतनाको कमीले गर्दा अझ पनि धेरै बिरामीहरू आफ्नो आँखाको परीक्षण गर्न समयमै अस्पताल आइसकेको अवस्था छैन । उनीहरू आफ्नो आँखाको दृष्टि घटेपछि मात्रै अस्पताल आउने गर्दछन् । यसरी जटिल अवस्था भइसकेपछि मात्रै उपचार गर्न आउने हुनाले मधुमेहका कारणले धेरैले आँखाको ज्योति गुमाइरहेका छन् । यो रोग रोक्नलाई संसारभरि १४ नोभेम्बरलाई मधुमेह दिवसको रूपमा मनाइन्छ भने नोभेम्बर महिनालाई ‘मधुमेह महिना’का रूपमा मनाइन्छ । यस दिन अनि महिनामा विभिन्न सचेतना अभियान, मधुमेह परीक्षण लगायतका कार्यक्रमहरू गरिन्छ ।
माथि नै भनिएजस्तै रोग लागिसकेपछिको जटिल अवस्थामा उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमत्ता हुन्छ । नेपालमा खासगरी सहरी क्षेत्रमा मधुमेह रोग डरलाग्दो गरी बढिरहेको छ । मधुमेहले निम्त्याउने डायबेटिक रेटिनोप्याथी जस्ता जटिल स्वास्थ्य अवस्था आउन नदिन यसबारे समुदाय स्तरमा जनचेतना फैलाउन आवश्यक छ ताकि यसका कारण कसैले आँखाको ज्योति गुमाउन नपरोस् ।
स्वस्थ रेटिना
डायबेटिक रेटिनोप्याथी भएको रेटिना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया