स्वास्थ्य

अस्पतालमा थपिएका कोभिड संक्रमितले तेस्रो लहरको संकेत गर्छ !

उपत्यकाको अस्पतालमा बाहिरी जिल्लाबाट संक्रमित आउन थाले

अतिन आचार्य |
साउन १९, २०७८ मंगलबार १८:३९ बजे

काठमाडौँ - मुलुकभर केही दिनयता कोभिड संक्रमितको संख्या उकालो लाग्दै गएको छ । देशभरका कोभिड अस्पतालमा दैनिक २० जनाको हाराहारीमा कोभिड संक्रमित भर्ना हुन् थालेका छन् ।  उपत्यकालगायत बाहिरी जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । लक्षण देखिएपछि मान्छेहरू अस्पतालमा परीक्षण गर्न जान थालेका छन् ।

मंगलबार मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । संक्रमणको ग्राफ पुनः उकालो लागेमा कोभिड भयावह हुनेछ । अस्पतालमा बढेको संक्रमतिको संख्‍याले नेपालमा कोभिडको तेस्रो लहर आइसकेको संकेत गर्छ । अस्पतालमा दैनिक संक्रमण बढ्न थालेकाले मुलुकमा कोभिडको तेस्रो लहर आउन सक्ने मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए।


देशभरका सबै जिल्लामा संक्रमण बढिरहेकाले अस्पतालमा संक्रमितको संख्या थपिने क्रम बढैको डा. अधिकारीले बताए । 'समुदायमा उपचार गराउने भन्दा पनि  परीक्षण गराउनेको संख्या कम रहेकाले पछिल्लो केही साता यता संक्रमण बढन् थालेको देखिन्छ,' उनले भने ।

अस्पतालमा उपचार गराउने संक्रमितको संख्या बढेकाले चुनौती थपिँदै गएको डा. अधिकारीको भनाइ छ । उपचार गराउनेको संख्या बढेसँगै संक्रमण भित्रभित्र फैलिरहेको हुनसक्‍ने उनले बताए ।

डा. अधिकारीले परीक्षण गर्ने मानिसको संख्या कम भए पनि संक्रमित बढ्दै गएको बताए । निषेधाज्ञा खुकुलो भएको र राजनीतिक दलका गतिविधि बढ्नु पनि संक्रमण बढनुको मुख्य कारक रहेको उनको ठहर छ ।

निषेधाज्ञाको खुकुलो प्रभाव

निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरूको गतिविधि बढेकाले संक्रमितको संख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक सागरराजकुमार राजभण्डारीले बताए । युवाहरू तथा अन्य उमेर समूहका मानिसहरूको बढी हिँडडुल बढेकाले बढेकाले बढी संक्रमण देखिएको हुन सक्ने उनको अनुमान छ ।

'खोप लगाउन वञ्चित उमेर समूहका मानिसहरूमा बढी संक्रमण देखिएको छ, ' डा. राजभण्डारीले भने,' खोप लगाउने उमेर समूहका मानिसहरूमा संक्रमण पनि कम देखिएको छ ।' जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले सुझाए ।

अधिकांश मानिसलाई खोपको व्यवस्था गर्न सकेमा कम मानिसलाई कोभिड देखिने राजभण्डारीको भनाइ छ । १८ वर्ष माथिका सबैलाई खोप उपलब्ध गराउन सकेमा पनि युवाहरू कोभिड लाग्नबाट बच्न सक्ने उनले बताए ।

तीन सातामा कोभिडको तेस्रो लहर आउने सम्भावना बढ्यो

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा केही दिनयता उपचार गराउन आउने संक्रमितको संख्या पनि बढ्दै गएको छ । अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले यही अनुसार संक्रमितको संख्या बढ्दै गएमा आगामी तीन सातामा कोभिडको तेस्रो लहर देखापर्ने बताए । दैनिक अस्पतालमा १० जनाको हाराहारीमा संक्रमित उपचार गराउन आइरहेको उनले जानकारी दिए ।

'आइसीयू, भेन्टीलेटर र वार्डमा गरी ७२ संक्रमित उपचार गराइरहेका छन,' उनले भने,' आइसीयू २३ र भेन्टीलेटर २१ जना उपचाररत छन् । अहिले उपचार गराउन आइरहेकालाई संक्रमितलाई व्यवस्थापन गर्न सकिन्छ ।' पहिलेकै जस्तै थपिएमा बाहिर राखी उपचार गर्ने व्यवस्था गरिने उनले बताए ।

बालबालिकालाई उपचार गराउनका लागि बेडको व्यवस्था गरिएको डा. बास्तोलाको भनाइ छ । कोभिडको अन्तरराष्ट्रिय अनुभवलाई हेर्दा बालबालिका बढी संक्रमित नभएको उनको तर्क छ । खोपको पहुँच भन्दा टाढा रहेकाले पनि तेस्रो लहर आएमा बालबालिकालाई असर गर्न सक्ने बताइएको हुन सक्ने उनले सुनाए ।

खोपको पहुँचबाहिर रहेकाहरू कोभिड संक्रमित भएको उनले बताए । 'अस्पतालमा भर्ना भएका संक्रमितहरू खोप नलगाएका छन्,' उनले भने,' राज्यले सबै नागरिकलाई खोपको पहुँच पुर्‍याउनुपर्छ । खोप लगाएमा संक्रमणबाट बच्न सकिन्छ ।'

संक्रमितको उपचार गर्न अक्सिजनको व्यवस्थापन 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि टेकुको जस्तै संक्रमण थपिन थालेको छ । दैनिक १५ जना संक्रमित उपचार गर्न आइरहेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए । १२२ जना संक्रमित उपचाररत रहेको उनले जानकारी दिए । उनकाअनुसार सघन कक्षमा ३० संक्रमित उपचाररत छन् ।

'अबको दुई दिन लगातार संक्रमित थपिएमा अस्पतालको बेड सबै प्याक हुन्छ,' प्रवक्ता अधिकारीले भने,' उपचारका लागि १४५ बेड व्यवस्थापन गरिएको छ । दोस्रो लहरमा अक्सिजनको अभाव भए पनि अब अक्सिजनको अभाव हुँदैन ।'

२० हजार किलो लिटर उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट जोडिएको उनले बताए । उद्योगपरी संघले पाँच सय किलो लिटर अक्सिजन उत्पादन गर्न प्लान्ट जोडन् लागेको उनको भनाइ छ । 'एक सातादेखि प्लान्टबाट अक्सिजन उत्पादन हुन्छ,' उनले भने ।

देशभर संक्रमण फैलियो

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा काठमाडौँ उपत्यका लगायत बाहिरी जिल्लाबाट मानिसहरू उपचार गराउन आउन थालेका छन् । अस्पतालका प्रवक्ता प्रविण नेपालकाअनुसार गोरखा, सिन्धुली,धादिङ र बुटवलबाट उपचार गर्न आइरहेका छन् ।

बाहिरी जिल्लामा संक्रमित उपचार गराउन आउनुले देशभर संक्रमितको संख्या तीव्र रुपमा फैलिएको नेपालको भनाइ छ । समयमा सबै नागरिक सचेत नभएमा कोभिडको तेस्रो लहर आउने उनले बताए । 'अस्पतालमा केही दिनयता दैनिक २० जनाको हाराहारीमा संक्रमित उपचार गर्न आइरहेका छन्,' उनले भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x