स्वास्थ्य

जापानबाट ल्याइने खोप तत्‍काल सबै प्रदेशले नपाउने, बागमती पहिलो प्राथमिकतामा

अतिन आचार्य |
साउन २१, २०७८ बिहीबार १८:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- जापानले कोभ्याक्स अन्तर्गत अनुदानस्वरुप दिने अष्ट्राजेनिका खोप सरकारले सातै प्रदेशमा वितरण नगर्ने भएको छ । जापानले पहिलो चरणमा उपलब्ध गराउने खोप सरकारले तीन वटा प्रदेशमा मात्रै वितरण गर्ने भएको हो ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका व्यक्तिहरूलाई अष्ट्राजेनिकाको खोप दिने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । नेपालमा खोप आयात भएको दुई दिनमा तीन प्रदेशको सबै जिल्लामा पुर्‍याई सबैलाई खोप लगाइने महाशाखाका निर्देशका डा. तारानाथ पोख्रेलले जानकारी दिए । 'जापानबाट प्रदान खोप औपचारिक कार्यक्रम गरी उदघाटन गरिनेछ,' उनले भने,' तीन प्रदेशका सबै जिल्लामा कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दिइनेछ ।'


जापानले दिने १६ लाखमध्ये ८ लाख खोप दुई दिन भित्रमा आइपुग्‍ने डा. पोख्रेलले जानकारी दिए । दोस्रो चरणमा ल्याइने खोप बाँकी प्रदेशमा वितरण गरिने उनको भनाइ छ । 'जापानबाट ल्याइएको खोप सुरुमा तीन प्रदेशमा लगाउने गरी प्रस्ताव लगिएको छ,' उनले भने ।

नेपालस्थित जापानी दूतावासले बुधबार मात्र जापानबाट दुई दिनभित्रमा नेपाल खोप आइपुग्ने जनाएको थियो । सरकारी तंथ्याकअनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनको संख्या १३ लाख ६८ हजार १७६ छ । चार लाख ६० हजार ३०८ जनाले दोस्रो मात्रा लगाइसकेका छन् ।

'जोनसन एण्ड जोनसन खोप खरिद गर्ने तयारी अघि बढिसकेको छ,' उनले भने,' विश्व बैंकबाट खोप खरिद गर्न पनि ऋण लिइसकेको छ । माघसम्ममा तीन करोड २३ लाख खोप ल्याउने गरी सम्झौता भइसकेको छ ।'

सरकारले खोप लगाउन खोप कार्यान्वयन समिति बनाइसकेको छ । समितिले सिफारिस गरेको आधारमा ४५ वर्ष उमेर समूहमाथिका मानिसले खोप लगाएका छन् । धमाधम खोपको आयात भएमा समितिको कार्यतालिका परिवर्तन गर्न सकिने पोख्रेलले बताए ।

उनकाअनुसार संक्रमित बढी भएका क्षेत्रमा पहिले खोप लगाइनेछ । खोप अभियान अन्तर्गत अन्तरराष्ट्रिय अभ्यासअनुसार उमेर समूहलाई प्राथमिकता दिइने छ। उनीहरूलाई खोप लगाउन अग्रिम दर्ता गरिने छ । अत्यावश्यक सेवा दिने पेशामा रहेकालाई खोप कार्यक्रममा नछुटाउने । होटल र पर्यटन व्यवसायीलाई तथा वैदेशिक रोजगारमा जानेलाई खोप लगानेछ ।

यसै वर्ष एक करोड ३ लाख खोप खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको पोख्रेलले जानकारी दिए । सरकारले खरिद गरेको खोप आएमा सबैलाई सहजै लगाउन सकिने उनले बताए ।

'जोनसन एण्ड जोनसन खोप खरिद गर्ने तयारी अघि बढिसकेको छ,' उनले भने,' विश्व बैंकबाट खोप खरिद गर्न पनि ऋण लिइसकेको छ । माघसम्ममा तीन करोड २३ लाख खोप ल्याउने गरी सम्झौता भइसकेको छ ।'

जापानबाट ल्याएर लगाएर उब्रेको खोप लगाउन बाँकी रहेकलाई प्राथमिकतामा राखिने पोख्रेलको भनाइ छ । भूटानबाट ल्याइने खोप पनि फ्रन्टलाइनर र अन्य पेशाका मानिसलाई लगाउन सकिने उनले प्रस्ट पारे । भूटानबाट खोप ल्याउन पहल भइरहेको पोख्रेलले बताए । उडान तालिका मिलाउन परराष्ट्रले समन्वय गरिरहेको उनले जानकारी दिए ।

सातै प्रदेश गरी कुल १८ लाख २८ हजार ४८४ जनाले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् । पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ छन । चार लाख ६० हजार ३०८ जनाले दोस्रो मात्रा लगाइसकेका छन् ।

भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । हालसम्म मुलुकमा करिब ९७ लाख ८२ हजार कोभिडविरुद्धको खोप भित्रिसकेको छ । चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख र खरिद  गरेको १० लाख खोप आउन बाँकी छ । अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार खोप अनुदान स्वरुप ल्याइएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x