स्वास्थ्य

अमेरिकाबाट आएको खोपबारे स्वास्थ्य राज्यमन्त्रीबाटै तथ्यांक तोडमोड

इकागज |
साउन २८, २०७८ बिहीबार १६:५३ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बिहीबारको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्‍ठले खोप आपूर्ति सम्बन्धी गलत तथ्यांक प्रस्तुत गरे ।  उनी संसदमा बोल्दा झुक्किएकाले (ह्युमन इरर) गलत तथ्यांक दिएका हुन् वा उनलाई तोडमोड गरिएको तथ्यांक उपलब्ध गराइएको हो यकिन छैन । उनले सांसदको सोधेको प्रश्‍नको जवाफ दिने क्रमबाट अमेरिकाबाट जोनसन एण्ड जोनसनको अनुदानस्वरुप जान्सिन खोप १३ लाख ३४ हजार प्राप्‍त भएको जानकारी दिएका थिए । 

श्रेष्‍ठले संसदमा खोप कहाँबाट कति आयो त्यसको बारेमा जानकारी दिने क्रममा भने, 'भारतबाट अनुदान स्वरुप कोभिसिल्ड ११ लाख र चीनबाट १८ लाख ल्याइएको बताए । अमेरिकाबाट १३ लाख ३४ हजार जोनसन एण्ड जोनसनको 'जान्सिन' को खोप आएको थियो ।'


राजदूत बेरीले टवीटरमासमेत १५ लाख ३४ हजार ८५० खोप बताएका छन् । तर, संसदमा राज्यमन्त्री श्रेष्ठले संसदमा करिब साढे लाख मात्र खोप आएको बताए ।

 

असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० खोप ल्याइएको अमेरिकी राजदूत र्‍यान्डी बेरीले समेत बताएका थिए । सोही दिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यक्रम आयोजना गरी राजदूत बेरीले पूर्व स्वास्थ्य मन्त्री गोपालकृष्ण श्रेष्‍ठलाई खोप हस्तान्तरण गरेका थिए । 

बेरीका अनुसार १५ लाख बढी खोप आएको छ । सरकारकै राज्यमन्त्री श्रेष्ठले दिएको तथ्यांकलाई आधार मान्ने हो भने  दुई लाख ८५० खोप कता हरायो सोध्नुपर्ने हुन्छ ।

अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको खोप नेपाललाई उपलब्ध गराएको हो । 'एक डोज मात्र लगाए पुग्‍ने जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित खोप अमेरिकी नागरिकबाट नेपालाई दिइएको उपहार हो । यो सहयोगको कुनै स्वार्थ छैन । यो सहयोगको उद्देश्य जीवन बचाउने मात्र हो,’ अमेरिकी राजदूत बताएका थिए ।

अमेरिकाबाट १५ लाख ३४ हजार ८५० खोप ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले दाबी गरे । 


Author

थप समाचार
x