स्वास्थ्य

‘महिनावारी कप’

कति सुरक्षित ? कति असुरक्षित ?

सृजना खड्का |
भदौ ३, २०७८ १२:४७ बजे

स्यानिटरी प्याड छाडेर भक्तपुर, बालकोटकी जुनु अर्यालले महिनावारी कप (मेन्स्ट्रुअल कप) प्रयोग गर्न थालेको धेरै भइसक्यो । जुनुकै सल्लाहमा उनका थुप्रै साथीहरूले समेत महिनावारी कप प्रयोग गर्न थालेका छन् । स्यानिटरी प्याडभन्दा मेन्स्ट्रुअल कप निकै सजिलो र वातावरणमैत्री लाग्छ उनलाई । एकपटक किनेपछि लामो समयसम्म प्रयोग गर्न सकिने भएकाले पनि यो उनको रोजाइमा परेको हो । 

‘सुरुमा किन्दा प्याडभन्दा निकै महंगो लाग्यो,’ उनले सुनाइन्, ‘लामो समयसम्म टिक्ने भएकाले पछि प्याडभन्दा सस्तो लाग्न थाल्यो । एकपटक किनेपछि १०–१२ वर्षसम्म टिक्ने भएकाले मेरो रोजाइमा परेको हो ।’ कप वातावरणमैत्री भएकाले पनि उनको रोजाइमा परेको जुनु बताउँछिन् । प्याड जहाँपायो त्यहीँ फाल्नाले वातावरण प्रदूषण हुने तर कप लामो समयसम्म प्रयोग गरिने भएकाले वातावरणमैत्री हुने उनको अनुभव छ । प्याडभन्दा कप उनलाई टिकाउ मात्रै नभएर सजिलो पनि लाग्छ । ‘प्याड लगाउँदा छोटो समयमै फेर्नुपर्छ, असजिलो हुन्छ’ उनले भनिन्, ‘कपमा त्यस्तो हुँदैन । कपले कहिलेकाहीँ त महिनावारी भए नभएको नै थाहा हुँदैन ।’


ADVERTISEMENT

काठमाडौँ, सिनामंगल बस्ने समृद्धि तिमल्सिनाले भने लामो समय भयो मेन्स्ट्रुअल कप प्रयोग गर्न खोजेको । तर, यो प्रयोग गर्ने आँट उनले बटुल्न सकेकी छैनन् । ‘रबरले बनेको अप्राकृतिक कुरा शरीरमा छिराउँदा केही असर गर्छ कि भनेर डर लागेर प्रयोग गर्न सकेको छैन,’ उनले भनिन्, ‘मजस्ता मेरा धेरै साथीहरुले यस्तै दोधारमा परेर प्रयोग गरेका छैनन् । कसैले राम्रो छ भन्छन्, कसैले इन्फेक्सन हुन्छ भनेर डर देखाइदिन्छन् ।’ समृद्धि घरमा बस्दा कपडाको प्याड लगाउँछिन् । बाहिरफेर निस्किदा भने उनको रोजाइमा बजारमा पाइने स्यानिटरी प्याड पर्छ । 

के हो महिनावारी कप (मेन्स्ट्रुअल कप) ?

पछिल्लो समय महिलाहरू माझ लोकप्रिय बनेको महिनावारी कप (मेन्स्ट्रुअल कप) सिलिकनबाट बनेको नरम सोली आकारको कप हो । जुन महिनावारीका बेला बग्ने रगत जम्मा गर्न प्रयोग गरिन्छ ।  यो कप प्रत्येक ४ देखि १२ घण्टामा खाली गर्नुपर्छ । रगतले कप भरिएपछि यसलाई पखालेर पुनः प्रयोग गर्न सकिन्छ । महिनावारी सकिएपछि यो कपमा भएको किटाणु मार्न पाँचदेखि दस मिनेटसम्म तातोपानीमा उमाल्नुपर्छ । यसरी उमालेर सफा गरिएको कप अर्को महिनावारीमा पुनः प्रयोग गर्न सकिन्छ ।  पुनः प्रयोग गर्न मिल्ने, वातावरणमैत्री, लामो समयसम्म टिक्ने र आर्थिक रुपले किफायती भएकाले पछिल्लो समयमा यो धेरैको रोजाइमा पर्ने गरेको छ । 

कोही भन्छन् सुरक्षित, कोही यसको विरोधी 

नेपालमा महिनावारी कपलाई कसैले सुरक्षित भन्छन् भने कोही यसको विरोधी पनि छन् । तिमध्येकी एक हुन्, प्रजनन स्वास्थ्य विशेषज्ञ डा. स्वस्ती शर्मा । उनी महिनावारी कपलाई सुरक्षित मान्छिन् । उनको सल्लाहअनुसार महिलाहरूले ढुक्क भएर महिनावारी कपको प्रयोग गर्न सक्छन् । ‘कतिपयले सुरुमा राख्न गाह्रो भएको अनुभव गरे पनि पछि निकै सजिलो र सुरक्षित भएको अनुभव सुनाएका छन्,’ उनले भनिन्, ‘तर, कसैकसैलाई सुरुमा बानी पर्न गाह्रो हुन सक्छ । कतिपयले आफ्नो साइज थाहा नपाउँदा पनि यसको प्रयोग राम्ररी गर्न जानिरहेका छैनन् ।’

महिनावारी कप बिहे भएका, नभएका, बच्चा भएका, नभएका महिलाअनुसार फरक–फरक साइजमा हुन्छ । सबैलाई एउटै साइज हुँदैन  । ‘बिहे नगरेका र बच्चा नपाएकाले सानो साइजको प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, बिहे गरेका र बच्चा भइसकेकाले ठूलो साइजको प्रयोग गर्दा सजिलो र सुरक्षित हुन्छ ।’ डा. शर्मालाई कप प्याडको तुलनामा स्वास्थकर लाग्छ । प्याड लामो समयसम्म प्रयोग गर्दा संक्रमण हुन सक्ने डर हुने उनले बताइन् । ‘स्वास्थ्यका हिसाबले पनि प्याडभन्दा कप सुरक्षित छ ।’

तर, जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीलाई भने महिनावारी कप न सहज लाग्छ न सुरक्षित नै । जहाँ सामान्य प्याड पुग्न सकेको छैन त्यहाँ यस्ता कपको विषयमा कुरा गर्नुको कुनै अर्थ नभएको उनले बताइन् । ‘एकताका ट्याम्पोन पनि यसरी नै धुमधामले आएको थियो,’ उनले भनिन्, ‘अहिले त्यो बिस्तारै हराउँदै गयो । महिनावारी कप पनि केही समयपछि आफै हराउँदै जान्छ ।’ यस्ता महिनावारी सामग्री व्यापारिक प्रवर्द्धनका लागि मात्र भएको उनले बताइन् । यसको तुलनामा सबैमा कपडाको प्याडलाई प्राथमिकतामा राख्न उनको सुझाव छ ।

‘नेपालमा धेरै महिलाहरुलाई आफ्नो प्रजनन् स्वास्थ्यबारे थाहा नै छैन,’ उनले भनिन्, ‘उनीहरूले यस्ता बजारिया सामग्री जबरजस्ती प्रयोग गर्दा गर्दा अप्ठ्यारो पर्न सक्छ । कप अप्राकृतिक भएकाले सरसफाइमा ध्यान नपुग्दा इन्फेक्सनको खतरा हुन सक्छ ।’ डा. उप्रेती आफूले चिनेजानेकालाई सकेसम्म कप प्रयोग नगर्न सल्लाह दिन्छिन् । ‘विदेशमा भएका सबै कुरा नेपालमा ल्याउनुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालय नेपालको अवस्थाबारे विचार नगरी विदेशीले जे भन्यो त्यो गर्छ ।’

नर्स तथा लेखक राधा पौडेलको भने यसमा बिलकुलै फरक धारणा छ । उनी यसको न विरोध गर्छिन् न समर्थन । उनका अनुसार संसारको बजारमा पाइने महिनावारी सामग्री हाम्रो बजारमा पनि पाइन्छ । तर, छनोट गर्ने अधिकार प्रयोग गर्ने व्यक्तिमा भर पर्छ । ‘जसरी परिवार नियोजनको साधन हामीले यो प्रयोग गर, त्यो प्रयोग गर भन्न मिल्दैन त्यसरी नै महिनावारी सामग्रीमा पनि हामीले यो प्रयोग गर्ने त्यो प्रयोग गर्ने भनेर हस्तक्षप गर्न मिल्दैन,’ उनले भनिन्, ‘जसलाई जे प्रयोग गर्न मन लाग्छ त्यही प्रयोग गर्ने हो । कसको शरीरलाई के सुहाउँदिलो हुन्छ र उसको खल्तीको अवस्था के छ भन्ने आधारमा यस्ता सामग्री छनोट गर्न पाइन्छ ।’

तर, महिनावारी सामग्री माटो सुहाउँदो र सुरक्षित हुनुपर्छ भन्ने उनको धारणा छ । ‘संसारका कुनै पनि महिनावारी सामग्री शत प्रतिशत सुरक्षित छैनन््,’ उनले भनिन्, ‘मापदण्डभन्दा बाहिर गएर प्रयोग गर्दा जस्तोसुकै सुरक्षित सामग्रीले पनि असर पुर्‍याउन सक्छ । कप लामो समयसम्म राख्न मिल्छ । तर, निकाल्न बिर्सियो भने त्यसले पनि समस्या गर्छ । बाथरुमको पानीले पखालेको कप प्रयोग गर्दा किटाणुबाट कति सुरक्षित हुन्छ यस्ता कुरामा भने विचार गर्नुपर्छ ।’ 

नेपाली बजारमा परम्परागतदेखि आधुनिकसम्मका महिनावारी सामग्री पाइने उनले बताइन् । ‘लगौँटी, टाला, कुहिने प्याड, नकुहिने प्याड, ट्याम्पोन, कप सबै पाइन्छ,’ उनले भनिन्, ‘सबैको फाइदा र बेफाइदाको बारेमा जानकारी दिएर छनोट गर्ने अधिकार प्रयोगकर्तालाई दिनुपर्छ ।’



Author

सृजना खड्का

स्वास्थ्य तथा सुरक्षा मामिलामा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार