स्वास्थ्य

कर्णालीमा फैलदै कोभिड : जोखिममा बालबालिका

लक्ष्मी भण्डारी |
भदौ १४, २०७८ सोमवार १२:१९ बजे

सुर्खेत - कर्णाली प्रदेशमा कोभिडको दोस्रो लहर सुरू भएयता बालबालिका पनि संक्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको संक्रमण दोस्रो लहरमा बढेको हो । कर्णालीमा हालसम्म  २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यो संख्या कोभिडको पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ । 

प्रदेशमा अहिलेसम्म कूल ३० हजार आठ सय ६९ जनामा संक्रमण देखिएकोमा ८० प्रतिशत संक्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा. रविन खड्काले बालबालिकामा पनि संक्रमणदर बढ्दो रहेको बताए । ‘बालबालिकामा संक्रमण दर बढ्दो क्रममा देखिन्छ’ उनी भन्छन्, ‘बालवालिकाहरूले कोभिडविरुद्धको खोप पनि पाएका छैनन् । त्यो भएर पनि उनीहरूमा जोखिम बढी हुने आंकलन गरिएको छ ।’ उनका अनुसार पाँच वर्ष मुनिका बालवालिकाहरुमा भने जोखिम कम रहेको छ । 


निर्देशक खड्काका अनुसार गत वर्ष कोभिडको पहिलो लहरमा कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोभिड संक्रमित भएका थिए । त्यो संख्या बढेर अहिले १९ प्रतिशत अर्थात् पाँच हजार पाँच सय ५६ पुगेको छ । पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने बताइएको छ । बालबालिकामा बढी संक्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्वतयारी निर्देशक खड्काको भनाइ छ । 

यसैबीच कर्णालीमा पनि तेस्रो लहरको संक्रमणबाट जोगिन पूर्वतयारी थालिएको छ । नर्देशक डा. खड्काले बालबालिकामा जोखिम हुने अनुमान गरेर जिल्लास्थित सबै अस्पतालले २० प्रतिशत बेड छुट्याएको जानकारी दिए । बालबालिकाका लागि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र जनशक्तिको समेत व्यवस्था गरिएको उनको भनाइ छ । 

त्यसैगरी  आइसीयू र भेन्टिलेटर व्यवस्थापन गरिएको छ भने अक्सिजन सिलिण्डरहरु थप गर्ने कामहरू भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए । उनले काभिड नियन्त्रणकै लागि कर्णालीमा तीनवटा हिमाली जिल्लाका सबै नागरिकलाई खोप व्यवस्थापन गर्ने गरि तयारी अघि बढाइएको बताए । 

‘जहाँ कम जनसंख्या रहेका जिल्लाहरू छन् त्यहाँका सबै नागरिकलाई खोपको व्यवस्था गर्ने गरि काम अघि बढाएका छौ’ चौधरीले भने, ‘हिमाली जिल्ला सँगै सबैभन्दा बढी कोभिडबाट प्रभावित रहेको सुर्खेतमा पनि सबै नागरिकलाई खोप दिने गरि तयारी गरिरहेका छौ ।’यस्तै, निर्देशनालयले उपचारका लागि प्रदेशका तीन वटा अवस्थामा भाइरस संक्रमणको वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ । 

उपचारलाई सहज बनाउन संक्रमितको स्वास्थ्य अवस्थाअनुसार भाइरसको वर्गीकरण गरिएको हो । सोही आधारमा निर्देशनालयले मापदण्डसमेत बनाएको छ । सामान्य, मध्यम र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तहका अस्पताल र प्रदेश अस्पतालमा उपचारको प्रबन्ध गरिएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट तीन सय ६८ जनाको ज्यान गएको छ । झन्डै एक हजार हाराहारीमा सक्रिय संक्रमित अहिले पनि छन् । पछिल्ला दिनमा गम्भीर बिरामीको संख्या धेरै नभएपनि संक्रमण दर भने बढ्दो छ । 


Author

थप समाचार
x