स्वास्थ्य

सरकारले गरेको ६ बुँदे सहमति कार्यान्‍वयन भएन

बीपी प्रतिष्ठानका चिकित्सकहरूले आइतबारदेखि सुरु गरे आन्दोलन

बाबुराम भण्डारी |
भदौ २०, २०७८ आइतबार १२:५० बजे

विराटनगर - सरकारले ६ बुँदे सहमति गरेको ३३ दिन पुगिसक्दा पनि सहमति कार्यन्वयन नगरेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिसम्वद्ध चिकित्सकहरूले आइतबारदेखि आकस्मिक, कोभिड र परीक्षा बाहेकका नियमित सेवाहरूमा आफ्नो संलग्नता रोकेका छन् । ९ सेम्टेम्बरमा मनाइने प्रतिष्ठानको २८औं स्थापना दिवसको पूर्वसन्ध्यामा गरिँदै आएका कार्यक्रमहरूलाई समेत चिकित्सकहरूले आन्दोलनकै अंगका रुपमा अघि बढाएका छन् । आइतबार प्रतिष्ठानको प्राङ्गणमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले कविता वाचन गर्दै नियमित आन्दोलनलाई निरन्तरता दिएका हुन् । 

संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत सरकारले सहमति पालना नगरे आइतबारदेखि स्वास्थ्य सेवामा नखटिने तथा आकस्मिक र कोभिडबाहेक सेवामा संलग्न नहुने चेतावनी दिएको थियो । पुर्व घोषणा अनुसार आइतबारदेखि उनीहरूले आन्दोलनको स्वरुपलाई कविता वाचन गर्दै अघि बढाएका छन् ।


‘हामीले आजदेखि सेवा बन्द गरेका छौं, जुन हामीले पुर्व घोषणा गरेका थियौं, इमेरजेन्सी, कोभिड र परीक्षा बोहकका अन्य काममा सहभाागी नहुने भनेर नै आफ्ना कुरा राखिसकेका छौं’ प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिका संयोजक डा.एसपी रिमालले भने, ‘हामीसँग सहमति गरेको ३३ दिन भइसक्यो, सरकारले आधा घण्टामा गर्नसक्ने कामलाई ३३ दिन पुग्दा पनि गरेको छैन, सरकार चैं एकदमै लाचार भयो ।’

प्रतिष्ठान सुद्धिकरण अभियानले आन्दोलन सुरु गरेको आइतबार ८३औं दिन हो । त्यसैगरी देउवा सरकारले डा.गोविन्द केसीसँग सम्झौता गरेको १९ औं दिन हो । यस बिचमा संघर्ष समितिका तर्फबाट र सरकार आफैंले पनि कैयौं डकुमेन्टहरू संकलन गरिसकेको भएपनि त्यसको कार्यन्वयन गर्न नसकेको चिकित्सकहरूले आरोप लगाएका छन् ।

‘सरकारले हस्ताक्षर गरेका चारवटा डकुमेन्ट त हामीसँगै छ, बैकुण्ठ अर्यालले तयार पारेको प्रतिवेदन छ, एनएमसीको प्रतिवेदन छ, चिकित्सा शिक्षा आयोगको प्रतिवेदन छ, अख्तियारले गरेको छापाहरू छन्, मिडियाहरूले लेखेका त प्रतिवेदन नै प्रतिवेदन छन्’ संयोजक डा. रिमालको आरोप छ, ‘सवै कुरा लेखिइसकेका छन्, अब सरकारले कार्यन्वयन मात्रै गर्ने हो, तर कार्यन्वयनमा जान सरकार हिचकिचाई रहेको छ, आफ्नै केही मन्त्रीहरू त्यसमा जोडिएका होलान् वा सेटिङ होलान्, सरकार त्यो बचाउन खोजिएको छ ।’ 

उनले प्रतिष्ठानजस्ता प्राज्ञिक क्षेत्रहरू स्वस्थ्य हुनुपर्ने बताए । स्वास्थ्य क्षेत्रलाई सरकारले सेवामुलक क्षेत्रका रुपमा परिभाषित गरेपनि चाहिंदो नचाहिँदो रुपमा व्यापारतिर धकेलिरहेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘जनताका छोरीछोरीले उपचार पाउने ठाउँमा यस्तै चिज भइरहेर ‘कोल्याप्स’ भयो भने फष्टाउने त प्राइभेट नै हो, अब हामी त्यसैको विरुद्धमा उभिनुछ ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियानसँग सरकारले बनाएको छानबिन समितिका संयोजक डा.कृष्ण प्रसाद पौडेलले गत साउन २० गते ६ बुँदे सहमति गरेका थिए । तर उक्त सहमतिको एउटा बुँदा पनि कार्यन्वयन नभएको र सहमति कार्यन्वयनका लागि समितिमाथि समिति बनााएर अमल्याउने काम भइरहेको भन्दै आन्दोलनरत चिकित्सकहरूले थप आन्दोलन अघि बढाएका हुन् । प्रतिष्ठानभित्र भइरहेका अनियमितता र बेथितिलाई अन्त्य गर्नुको साटो सरकार त्यसमा संलग्न रहेका व्यक्तिहरूलाई नै बचाउने तयारीमा लागेको उनीहरूले बताएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x