स्वास्थ्य

विपी प्रतिष्ठानका चिकित्सकद्वारा अस्पतालबाहिरै ओपिडी सुरु

तोडफोडमा संलग्‍नलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी

बाबुराम भण्डारी |
भदौ २२, २०७८ मंगलबार १३:३५ बजे

विराटनगर - सरकारले सम्झौता कार्यान्वयन नगरेको विरोधमा अत्यावश्यक, कोभिड र परीक्षा बाहेकका सेवा बहिस्कार गरेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले मंगलबारदेखि अस्पतालबाहिरै ओपिडी सेवा सुरु गरेका छन् । उनीहरूले आन्दोलन सन्चालन भइरहेको उपकुलपतिको कार्यालयअगाडि टेबुल कुर्सी राखेर बिरामीको चेकजाँज र उपचार सेवा सुरु गरेका हुन् ।


प्रतिष्ठानका चिकित्सकहरू शैक्षिक तथा आर्थिक रूपमा भैरहेको चरम अनियमिता, वेथिति र विसंगति अन्त्य तथा प्राज्ञिक सर्वोच्चता कायम गर्न माग गर्दै ८५ दिनदेखि आन्दोलनरत रहेका छन् । आन्दोलनरत चिकित्सकहरूसँग नेपाल सरकार अन्तरगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले ६ बुँदे सम्झौता गरेको ३५ दिन बिते पनि उक्त सम्झौता कार्यन्वयन गरेको छैन ।

सम्झौता कार्यन्वयनको माग गर्दै प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक, कोभिड र परीक्षा बाहेकका सेवामा संलग्न नहुने घोषणा गर्दै आन्दोलन चर्काएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लगाएको ताला सोमबार प्रहरी र राजनीतिक दलका कार्यकर्ताको नाममा तोडिएपछि प्रतिष्ठानका आन्दोलनरगत चिकित्सकहरूले सर्वसाधारणको उपचार पाउने अधिकारलाई सम्मान गर्ने भन्दै अस्पताल बाहिरबाटै उपचार सेवा सुरु गरेका हुन् । 

आन्दोलन तुहाउन तोडफोड 
यता प्रतिष्ठानमा जारी आन्दोलनलाई तुहाउने उदेश्यका साथ केही राजनीतिक दलका कार्यकर्ताहरूको नाममा प्रतिष्ठान तोडफोड भएको छ । संघीय लिम्बुवान मञ्च, नेकपा एमाले धरान नगर कमिटी, राप्रपा नेपाल र राप्रपा लगायतका राजनीतिक पार्टीको आडमा सोमबार अस्पताल परिसरमा प्रवेश गरेर भिडले उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्ष प्रवेश गर्ने ढोकाहरू तोडफोड गरेको हो ।

संघर्ष समितिले शान्तिपूर्ण आन्दोलनको सहारा लिएर उपकुलपति डा.गिरीको कार्यकर्तामा तालाबन्दी गरेको थियो । सानो संख्यामा खटाइएका प्रहरीहरू भिडका सामू निरिह बनेका थिए ।

आन्दोलनरत चिकित्सकहरूले उक्त घटनाको विरोध जनाउँदै खेद व्यक्त गरेका छन् । उनीहरूले तोडफोडको घटनामा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम तत्काल कारबाहीको प्रकृया अघि बढाउन समेत सरकारसँग माग गरेका छन् । सरकारले कारबाही नगरे आफूहरू अझै कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

‘करिब तीन महिनादेखि देशकै मानक एवम् अग्रणी स्वास्थ्य संस्थामा यसरी फ्याकल्टी, कर्मचारी, विद्यार्थी प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारविरुद्धमा आन्दोलनमा होमिँदा अहिलेसम्म अनुभव हुनेगरी एवम् प्रतिष्ठान हितार्थ कारबाहीको कुनै कदम अघि नबढाउनुले कतै राज्यसत्ता नै अनियमिततालाई चोख्याउने खेलमा संलग्न त छैन ?’ भनि उनीहरूले विज्ञप्तिमार्फत सरकारसँग प्रश्न गरेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x