स्वास्थ्य

उपत्यकाका मुख्य सरकारी अस्पतालमा फार्मेसीमा खोजेका औषधि पाइँदैन

आयातकर्ताले फार्मेसीमा समयमा औषधि आयात गरेनन्

अतिन आचार्य |
भदौ २३, २०७८ बुधबार १९:२० बजे

काठमाडौँ-  मुख्य-मुख्य सरकारी अस्पतालको फार्मेसीमा औषधि पाइन छाडेको छ । काठमाडौँ उपत्यकाका अस्पतालले सञ्‍चालन गरेका फार्मेसीमा पर्याप्‍त औषधि उपलब्ध नहुँदा बाहिर खुलेका मेडिकलमा मँहगो मूल्य तिरी औषधि खरिद गर्न बिरामी बाध्य छन् ।

उपचार गर्न आएका बिरामीलाई सहज र सर्वसुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालमा फार्मेसी सञ्चालन गरिएको हो । अस्पतालले  फार्मेसी सञ्चालन गर्नुपर्ने बाध्यकारी नीति भए पनि फार्मेसीमा आवश्यक औषधि उपलब्ध नभएको पाइएको हो ।


त्रिवी शिक्षण अस्पताल महाराजगञ्‍जमा काठमाडौँ नयाँ बजारका राजीव मगर आमालाई उपचार गराउन गए । स्वास्थ्य परीक्षणपछि आमाको कलेजोमा खराबी भएको चिकित्सकले जानकारी दिए । चिकित्सकले लेखिदिएको औषधि राजीवले अस्पतालको फार्मेसीमा नपाएको बताए ।

सस्तो मूल्य पर्ने औषधि मात्र पाइने गरेको उनी बताउँछन् । बिलमा लेखिएको केही थानमात्र औषधि पाइने र देखाउनको लागि पसल खोले जस्तो छ, उनको भने ,'लामो लाइनमा बसेर काउन्टरमा पुग्दा औषधि छैन । स्टोरबाट ल्याउनुछ  । पछि आउनुहोस् । यस्तै यस्तै जवाफ आउँछ । '

अस्पतालले बिरामीलाई उपचार गर्ने व्यवस्थासँगै फार्मेसीको सुविधा उपलब्ध गराउनु पर्छ । स्वास्थ्य परीक्षणपछि बिरामीले अस्पतालको फार्मेसीमा औषधि खरिद गर्ने समेत व्यवस्था गरेको छ । फार्मेसी भए पनि उचित मूल्यमा खोजेको ‍औषधिसमेत नपाउने समस्या अहिले पनि व्याप्त छ । त्यहाँ औषधि लिनेको भिड  नियाल्दा लाग्छ कोभिड छैन् । अस्पतालमा यो अवस्था त्यहाँको प्रशासनले देखि रहेको हुन्छ । तर के तालमेल मिलेको हो प्रशासन चुपचाप रहन्छ । 

महाराजगञ्जमा मात्र होइन यता जेठो अस्पताल वीरको हालत पनि उस्तै छ । आफन्तको किड्नीमा समस्या भई उपचार गर्न सप्‍तरीबाट आएका उमेश यादवले वीर अस्पतालकै फार्मेसीमा चिकित्सकले लेखिदिएको औषधि नपाएको बताए । सामान्य खालका औषधि पाए पनि अन्य औषधि नपाएकाले बाहिर मेडिकलबाट खरिद गर्न जानु परिरहेको उनले बताए ।

'चिकित्सकले पाँच प्रकारको औषधि लेखे पनि दुई थरी मात्र औषधि पाइन्छ,' यादवले भने, 'अस्पतालको फार्मेसीमा नपाएपछि बाहिरबाट खरिद गरेर भए पनि ल्याउनुपर्छ ।' हरेकले व्यहोरेको यो समस्यासँगै फार्मेसीमा बस्‍नेको हप्की सुन्नै नसक्ने हुन्छ । यता जाउ र उता जाउ मात्र होइन लामो लाइनबाट काउन्टरमा पुगेकालाई ओषाधि छैन भन्दै फर्काउने गरेका छन् । 

फार्मेसीमा औषधि सकिएकोमा बिरामी गएमा पाँउदैनन्

उपचार गर्न गएका बिरामीले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालले सञ्‍चालन गरेको फार्मेसीमा ‍औषधि नहुँदा बाहिरका मेडिकलमा औषधि खरिद गर्ने गरेका छन् । सिभिल, कान्ति बाल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शहिद गंगालाल हृदयरोग केन्द्रलगायतका उपचार गर्न आएका बिरामीलेसमेत अस्पताल वरिपरिका मेडिकलमा औषधि खरिद गर्न बाध्य छन् ।

त्रिवी शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीकाअनुसार बिरामीले खोजेको सबै औषधि पाइदैन । फार्मेसीमा औषधि सकिएको समयमा बिरामी आएमा नपाउने गरेको उनले जानकारी दिए । सधै नै सकिएको हुने  विषयमा भने प्रवक्ता अनविज्ञ छन् । वा प्रशासनको पक्षको बचाउ गर्दै उनी बोलेको प्रष्टै छ ।  

सरकारी अस्पतालमा मँहगो औषधि राख्‍ने नीति नभएकाले पनि नराखिएको अधिकारीले जानकारी दिए । 'गम्भीर प्रकृतिका बिरामीका लागि सबै औषधि पाइदैन,' उनले भने,' फार्मेसीमा उपलब्ध भएका औषधि बिरामीलाई विक्री गरिएको छ ।' आर्थिक वर्ष समाप्‍ति भएकाले औषधि आयातको लागि टेण्डर प्रक्रिया अगाडि बढाउने समय आएको उनले जानकारी दिए ।

वीर अस्पतालमा पनि त्रिवी शिक्षण अस्पतालकै जस्तै समस्या रहेको छ । फार्मेसीमा पर्याप्‍त ‍औषधि नभएकाले बिरामीहरू आफैँ बाहिर गएर औषधि खरिद गरेर ल्याउने प्रशासनका एक कर्मचारीले बताए । अधिकांश बिरामीले चिनेका फार्मेसीबाट औषधि  खरिद गरेर ल्याउने गरेको ती कर्मचारीले बताए । अस्पतालले फार्मेसीमा सबै प्रकारका औषधि नराख्दा बिरामीहरू बाहिरको मेडिकलमा गइ औषधि खरिद गर्न बाध्य छन् । 

औषधि आयातकर्तासँग एक वर्षको सम्झौता

पाटन स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका निर्देशक डा. रवि शाक्यका अनुसार औषधि आयातकर्ताले समयमा औषधि आपूर्ति नगर्दा पनि फार्मेसीमा औषधिको अभाव हुने गरेको छ । पुरानो मूल्यमा औषधि नदिने र नयाँ मूल्य तोकेर दिन आयातकर्ता केही ढिलाइ गरिरहेको उनको भनाइ छ ।

'आयातकर्तासँग १ वर्षका लागि सम्झौता गरिन्छ, कम्पनी नहटेसम्म एक-एक वर्षमा सम्झौता नवीकरण हुने गरेको छ,' शाक्यले भने,' समयमा नदिएमा र मूल्य बढाएर दिएमा दोस्रो पक्षसँग खरिद गरिन्छ । फार्मेसीमा औषधि सकिएको समयमा बिरामी जाँदा औषधि नपाउने गरेको शाक्‍यले बताए ।

औषधि उपलब्ध नभएको समयमा बिरामीहरू बाहिरका मेडिकल गएको हुन सक्ने उनको भनाइ छ । सस्तो मूल्यमा औषधि उपलब्ध गराउने गरिएको शाक्यको ठहर छ । नेपालमा कतै नपाइने क्यान्सरजस्ता गम्भीर रोगका औषधि पाइने गरेको उनले जानकारी दिए । अस्पतालको बिरामीले बाहिरका मेडिकलमा खरिद गर्नुपर्ने बाध्यता हटाउने उनले दाबी गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x