स्वास्थ्य

रेडक्रसले दिएको एक लाखसहित चीनबाट ४५ लाख भेरोसेल खोप ल्याइँदै

भण्डारणमा समस्या हुँदा विमानस्थलबाटै पोखरा, हेटौडा र बुटवलमा पठाइने

अतिन आचार्य |
भदौ २९, २०७८ मंगलबार १८:१८ बजे

फाइल तस्बिर

काठमाडौँ-  चीनबाट कोभिड-१९विरुद्ध लगाइने ४५ लाख डोज भेरोसेल खोप ल्याइने भएको छ । नेपालले खरिद गरेको ४४ लाख र चीनको रेडक्रसले नेपाल रेडक्रसलाई सहयोग गर्ने एक लाख डोज खोपसमेत ल्याउने भएको हो ।

बिहीबार वा ढिलोमा शुक्रबारसम्ममा नेपालमा खोप ल्याइने भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले जानकारी दिए । खरिद गरेको र नेपाल रेडक्रसले दिन लागेको खोप ल्याइने भएको उनले बताए । रेडक्रसले सहयोग गर्ने खोप असोज २ गतेसम्म आउन सक्ने जानकारी प्राप्त भएको उनको भनाइ  छ ।


'एक भाइलमा पाँच डोज हुने भएकाले एकै पटकमा सबै खोप ल्याउन लागिएको छ,' कर्णले भने,' अरुबेला जस्तो धेरै पटकको सिफ्टमा खोप आयात हुदैन । एकै पटकको उडानमा ल्याइन्छ ।'

कर्णले खोप लिन नेपाल एयरलायन्सको जहाज बुधबार जाने मिति तय भइसकेको बताए । पछिल्लो समय चीनको विमानस्थलमा चार्टड उडान गर्ने जहाजको चाप बढेकाले मिति परिवर्तन हुन सक्ने उनको भनाइ छ । नेपालको तर्फबाट खोप लिन जान सम्पूर्ण कुरामा तयारी रहेको छ, चीनले अनुमति दिएमा भनेको समयमा खोप आउने भएको छ ।

चीनबाट ल्याइने खोप मन्त्रालयको खोप समन्वय समितिको बैठक बसेर निर्णय गरिने कर्णको भनाइ छ । बुधबार खोप समन्वय समितिको बैठक बसेर बिहीबारसम्ममा निर्णयहरू सार्वजनिक गरिने उनले बताए ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय खोप योजनासमेत संशोधन गर्न लागेको समेत उनले बताए । खोप योजनामा यस अघि क्रमश उमेर समूहका आधारमा खोप लगाइने व्यवस्था उल्लेख गरिएको थियो ।

सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने तयारी गरेकाले राष्‍ट्रिय खोप योजना समितिमा थप संशोधन गर्नुपर्ने कर्णले इकागजलाई बताए । फाइजर खोप राख्‍न पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए ।

'फाइजर खोप राख्‍न चार थान फ्रिज पनि ल्याइसकिएको छ, ' उनले भने,' अनुदानबाट एक लाख ६ हजार फाइजरको खोप ल्याउन लागिएको छ । करिब दुई महिना भित्रमा अनुदानको खोप भित्रिन सक्छ । '

सरकारले बालबालिकालाई लगाउन ६० लाख खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । खोप महाशाखा र आपूर्ति व्यवस्थापन महाशाले फाइजर खोपलाई कसरी व्यवस्थापन गर्ने त्यसमा ध्यान थालिसकेको कर्णले बताए ।

हालसम्म काठमाडौँ उपत्यकामा ४० वर्ष माथिकालाई र फ्रन्टलाइनरका रूपमा काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र अन्य पेशाकालाई समेत कोभिडविरुद्धको खोप उपलब्ध गराइएको छ ।

भारतबाट अनुदानस्वरुप प्राप्‍त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या एक करोड पुगिसकेको छ । हालसम्म एक करोड १३  लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।

चीनबाट अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख ल्याइएको थियो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

कोभिडको पूर्ण मात्रा खोप लगाउनेको संख्या १७ दशमलव ६५ प्रतिशत र पहिलो मात्रा १९ दशमलव ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट उत्पादित सिनोफार्मको भेरोसेल, भारत बायोटेकको कोभ्याक्सिन, फाइजर बायोनटेकको कोभिनाट्री, अमेरिकन जोनसन एण्ड जोनसन खोप र  रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् ।

विमानस्थलबाट प्रदेशमा खोप पठाइन्छ 

एकै पटकमा ठूलो संख्यामा खोप ल्याइने भएकाले खोप भण्डारण केन्द्रको व्यवस्थापन गर्ने काम भइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले बताए । '४४ लाख खोप आइपुग्ने कागजपत्र आज मात्र हात परेको छ,' उनले भने,'  क्यालकुलेशन कति हुन्छ त्यहीँ अनुसार राखिन्छ ।'

सकेसम्म काठमाडौँको भण्डार केन्द्रमा खोप राखिने थापाले जानकारी दिए । स्थान अभाव भएमा प्रदेशलाई बोलाएर सोही दिन पनि विमानस्थलबाट वितरण गर्न सकिने प्रस्ट पारे ।

'सबै प्रदेशका खोप भण्डार केन्द्रलाई खबर गरिसकिएको छ,  सबै भण्डार केन्द्रका सवारीसाधन पनि छैन,' थापाले भने,' पोखरा, हेटौडा र बुटवलका भण्डार केन्द्रमा विमानस्थलबाट खोप पठाइन सक्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x