स्वास्थ्य

आइरन चक्की र परिवार नियोजन साधनसमेत अभाव

स्वास्थ्य चौकीमा छैन झाडापखालाको औषधि

लक्ष्मी भण्डारी |
भदौ ३०, २०७८ बुधबार १२:५१ बजे

सुर्खेत - सुर्खेतका स्वास्थ्य चौकीहरूमा झाडापखालाका बिरामीहरूलाई दिइने जिन चक्कीको अभाव भएको छ । विगत ६ महिना यता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामीहरू जिन चक्की नहुँदा चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गर्न बाध्य छन् ।

सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका सिअहेव धिरेन्द्र घर्तीले झाडापखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताए । ‘पाँच/छ महिनादेखि स्वास्थ्यचौकीमा जिन चक्कीको अभाव रहेको छ’ उनले भने, ‘जिन चक्की मात्र होइन अन्य औषधीहरू समेत यहाँ अभाव भएको छ ।’  स्वास्थ्यचौकीमा  बेला बेलामा गर्भवती महिलाको लागि आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ । 


त्यसैगरी भेरीगंगास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिन चक्की नरहेको स्वास्थ्यचौकीका सिअहेव गोर्कण बुढाले बताए । विगत एक वर्षदेखि नै जिन चक्कीको अभाव रहेको उनले बताए । जिनचक्कीको अभाव भएपछि बिरामीहरू मर्कामा परेका छन् । 

स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधीहरूमध्ये आधा जसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उनले बताए । औषधिको लागि नगरपालिकालाई अनुरोध गरेता पनि उपलब्ध हुन नसकेको  उनले बताए । त्यसैगरी स्वास्थ्यचौकीमा ग्याष्टिक, छाला, कानका समस्या भएका बिरामीलाई उपलब्ध गराउने औषधिको समेत अभाव रहेको उनले बताए । 

रामघाट र छिन्चुका स्वास्थ्यचौकीमात्र होइन जिल्लाभरका धेरै स्वास्थ्यचौकीमा अतिअवाश्यक धेरै प्रयोग हुने औषधिहरुको अभाव भएको देखिएको छ । यहाँ निःशुल्क दिइने ४२ प्रकारका औषधिमध्ये अहिले मुस्किलले २५ प्रकारका रहेका छन्।‘

छिन्चु स्वास्थ्यचौकीका सिअहेव बुढाले यहाँ औषधिको अभाव हुँदा कतिपय औषधीहरू स्वास्थ्यसंस्था आफैले ल्याएर भएपनि उपलब्ध गराउनु परेको बताए । यता भेरीगंगा स्वास्थ्य शाखाले संघबाट खरिद भएर आउने औषधीहरू समयमा नआउदा औषधिको अभाव भएको जनाएको छ ।

अति आवश्यक र स्टकआउट नहुनुपर्ने औषधीहरू समेत सवस्थ्यचौकीमा नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले बताए ।‘ अहिले स्वास्थ्यचौकीमा विशेष गरेर केन्द्रले खरिद गरेर पठाउने ९ प्रकारको औषधीहरूको अभाव रहेको छ’ उनले भने, ‘जिन चक्कीको साथै परिवार नियोजनका साधनको समेत अभाव देखिएको छ ।’ जनस्वास्थ्य कार्यालयलाई औषधि अभावको विषयमा तीन पटकसम्म ताकेता गरेको उनले बताए । 

यसैबीच केही दिन अघि  सुन्दर नेपाल संस्थाको पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगत गठन गरिएको निगरानी समूहले स्वास्थ्यचौकीको अनुगमन गरेको थियो । अनुगमनको क्रममा सवस्थ्यचौकीहरूमा अत्यावश्यक औषधीको अभाव रहेको पाइएको परियोजनाका कार्यक्रम संयोजक याम थापाले जानकारी दिए । जसबाट सेवाग्राही मर्कामा परेको उनको भनाइ छ । 
 


Author

थप समाचार
x