स्वास्थ्य

फाइजरकाे ६० लाख खोप खरिद गर्ने सम्झौता अघि बढेन

कोभ्याक्सबाट पाइने फाइजर खोप जटिल रोगका बिरामीलाई दिने तयारी

इकागज |
असोज ४, २०७८ सोमवार १५:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले कोभिड-१९ विरुद्धको फाइजर खोप खरिद गर्न सम्झौता  नगरेको पाइएको छ । दुई महिना अघि १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीलाई खोप लगाउन अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीसँग ६० लाख खोप खरिद गर्न सम्झौता गरेका कुराहरू सार्वजनिक भएको थियो । तर,अहिले भने फाइजर खोप खरिदका लागि कुनै पनि सम्झौता प्रक्रिया अगाडि नबढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।

तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले फाइजर खोप खरिद गर्न सम्झौता भइसकेको धारणाहरू सार्वजनिक गरेका थिए ।  विभिन्‍न मुलुकमा फरक-फरक कम्पनीको खोप  आयात हुँदासम्म पनि फाइजर खोप खरिद गर्न कुनै पनि सम्झौता भएको छैन । याे खाेप  किशाेर तथा  किशाेरीहरू लक्षित गरी ल्याइन लागेकाे स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका थिए ।


पूर्ववर्ती सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा फाइजर खोप खरिद गर्ने निर्णय गरे पनि हालसम्म कुनै पनि निर्णय नभएको मन्त्रालय स्रोतले प्रस्ट पारेको छ । मन्त्रालयले खोप खरिद गर्न सामान्य वार्ता गरिरहेको तर, ६० लाख खोप खरिद गर्न कुनै पनि सम्झौता गरेको छैन ।

खोप खरिद गर्न एशियाली बैंक र विश्‍व बैंकसँग पनि ऋण सम्झौता भैसकेको छ । खोप खरिद गर्न ऋण पाए पनि अहिलेसम्म फाइजर खोप खरिद गर्न कुनै पनि सम्झौता नभएको मन्त्रालयका उच्च अधिकारीले बताएका छन् ।

खोप खरिद गर्न लाग्ने रकम दुई वटा मोडलबाट भुक्तानी गर्ने नीति लिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दात्तृ निकायले गरेको सहयोग रकम ढुकुटीमा जम्मा गरेर खोप कम्पनीलाई भुक्तानी गर्ने वा खरिद गर्दा लाग्‍ने रकम दातालाई सीधै तिर्न लगाउने यस विषयमासमेत मन्त्रालयले छलफल गरेको थियो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्‍ठले समेत साउनको दोस्रो साता किशोरकिशोरी लगाउन ६० लाख चैतसम्म प्राप्‍त हुने दाबी गरेका थिए । तर, राज्यमन्त्रीले खोप आयात गर्ने घोषणा गरे पनि त्यसले पूर्णता पाउन नसकेको श्रोतले जनाएको छ ।

सरकारले खोप खरिदमा गरेको घोषणा र ढिलासुस्तीले समयमा खोप ल्याउन नसक्ने पुष्‍टि भएको छ । चैतसम्ममा ६० लाख फाइजर खोप आयात गर्नेमा शंका बढदै गएको छ ।

कात्तिकसम्ममा कोभ्याक्सले उपलब्ध गराउने १ लाख ६ सयसम्म  नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. सागर दाहालले जानकारी दिए । फाइजर खोप खरिद गर्नका कम्पनीसँग वार्ता भइरहेहको  उनले बताए ।

राष्‍ट्रिय खोप समितिले निर्णय  गरेको आधारमा फाइजरको खोप लगाइने दाहालले इकागजलाई जानकारी दिए । 'एक लाख खोप किशोरकिशोरलाई लगाउन थोरै हुन्छ,' उनले भने,' जटिल प्रकारको बिरामीलाई खोप लगाउने तयारी छ । यद्यपी समितिले निर्णय गरेको छैन ।'

अध्ययनले फाइजरको पहिलो डोज ३६ प्रतिशत र अस्ट्राजेनेकाको ३० प्रतिशत प्रभावकारी देखिएको उल्लेख गरेको छ । फाइजरको दुवै डोजको खोप लक्षणसहितको डेल्टा भेरिएन्टविरुद्ध ८८ प्रतिशत र अल्फा भेरिएन्टविरुद्ध ९३.७ प्रतिशत प्रभावकारी देखिएको छ । त्यसैगरी अस्ट्राजेनेकाको दुवै डोजको खोप डेल्टा भेरिएन्टविरुद्ध ६७ प्रतिशत तथा अल्फा भेरिएन्टविरुद्ध ७४.५ प्रतिशत प्रभावकारी पाइएको छ ।

 


Author

थप समाचार
x