स्वास्थ्य

यसरी घटाउनुहोस् ‘इन्टरमिटेन्ट फास्टिङ’बाट तौल

इकागज |
असोज ५, २०७८ मगलवार ६:४४ बजे

काठमाडौँ - भारतीय कमेडियन भारती सिंहले १५ केजी तौल घटाएको समाचार यतिबेला चर्चामा छ । इन्टरमिटेन्ट फास्टिङ गरेर १५ केजी तौल घटाएको उनले भारतीय मिडियाहरूलाई बताएकी छिन् । ९१ केजीकी भारती अहिले इन्टरमिटेन्ट फास्टिङ कै कारण ७६ केजीकी भएकी छिन् ।

के हो इन्टरमिटेन्ट फास्टिङ ?


सामान्य अर्थमा इन्टरमिटेन्ट फास्टिङ भनेको खाना खाने र नखाने बीचको समय छुट्याउनु हो । सोहीअनुसार तालिका बनाएर खानपान गर्नु हो । इन्टरमिटेन्ट फास्टिङ विशेषगरी तौल घटाउनको लागि गरिन्छ । यसका फाइदा बेफाइदा दुबै छन् । 

यो धेरै प्रकारका हुन्छन् । जस्तैः ‘५ः२ फास्टिङ’, ‘६ः१ फास्टिङ’, ‘१६ः८ फास्टिङ’ आदि । ‘५ः२ फास्टिङ’ मा हप्ताको दुई दिन एकदमै कम क्यालोरीको खाना खाइन्छ र बाँकी पाँच दिन नियमित खाना खाइन्छ । ‘६ः१ फास्टिङ’ मा हप्ताको एक दिन केही पनि खाइदैन । बाँकी ६ दिन नियमित खानेकुरा खाइन्छ । 

इन्टरमिटेन्ट फास्टिङमध्ये सबैभन्दा चर्चित र सजिलो फास्टिङ ‘१६ः८ फास्टिङ’ हो । यसमा दिनको ८ घण्टा खाएर बाँकी १६ घण्टा भोकै बसिन्छ । यसको अर्थ फास्टिङ बसेको ८ घण्टामा जे पनि खान मिल्छ भन्ने होइन । फास्टिङ बाहेकको समयमा फास्टफुड, जंकफुड र गुलिया पेयपदार्थ खाँदा इन्टरमिटेन्ट फास्टिङले काम गर्दैन । यो फास्टिङ गर्दा खानपानमा अनुशासन चाहिन्छ । त्यसैले, फास्टिङ बाहेकको समय जे वा जति खाए पनि हुन्छ भनेर सोच्नुहुँदैन ।

सबैको शरीरको बनोट एकैनासको नहुने भएकाले फरक–फरक विधिहरू अपनाउनुपर्ने हुन्छ । त्यसैले, यो फास्टिङ गर्दा आफूखुसीभन्दा पनि पोषणविद्हरूको सल्लाहमा गर्नुपर्छ । किनभने, इन्टरमिटेन्ट फास्टिङ सबैका लागि फलदायी नहुन सक्छ । आफूखुसी गर्दा यसले नकारात्मक असर गर्न सक्छ ।

कसरी घटाउँछ तौल ? 
दैनिक खाद्यपदार्थबाट प्राप्त हुने क्यालोरी खपत नहुँदा मोटोपना बढ्छ । तर, यसरी फास्टिङका विधि अपनाउँदा बिस्तारै क्यालोरी खपत हुँदै जान्छ र शरीरको तौल नियन्त्रणमा आउँछ । यस्तो फास्टिङले तौल नियन्त्रणमा ल्याउनुका साथै स्वास्थ्यमा समेत फाइदा पुर्या‍उँछ । तर, यो फास्टिङले सुरु–सुरुमा केहीलाई अनिद्रा, कमजोरी, वाकवाक लाग्ने, टाउको दुख्ने हुन्छ । बिस्तारै सामान्य हुँदै जान्छ । 

इन्टरमिटेन्ट फास्टिङ गर्दा ध्यान पु¥याउनुपर्ने कुराहरूः
- फास्टिङको समयमा प्रशस्त पानी पिउनुपर्छ 
- दुध र जुसहरू पिउनुपर्छ
- खानपानसँगै शारीरिक व्यायममा पनि ध्यान दिनुपर्छ
- चिनी खान बन्द गर्नुपर्छ 

कसले गर्नुहुँदैन इन्टरमिटेन्ट फास्टिङ ?
- दीर्घरोगी
- ज्येष्ठ नागरिक
- सुत्केरी
- १८ वर्षभन्दा कम उमेरका
- ग्यास्ट्राइटिसका समस्या भएका


Author

थप समाचार
x