स्वास्थ्य

विपी प्रतिष्ठानमा आन्दोलनको सय दिन

चिकित्सकहरूले भने, ‘राज्यमन्त्रीबाट स्वास्थ्य क्षेत्र चल्दैन भन्ने प्रमाणित भयो’

बाबुराम भण्डारी |
असोज ६, २०७८ बुधबार १३:५९ बजे

विराटनगर – धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सकहरूले यसअघि गरेका सहमति कार्यन्वयनमा सरकार नै संवेदनशील नभएको बेलामा मुलुकको स्वास्थ्य क्षेत्र राज्यमन्त्रीबाट चल्नै नसक्ने बताएका छन् । बुधबार प्रतिष्ठान सुद्धिकरण अभियानले आन्दोलन सुरु गरेको सय दिन पुगेको अवसरमा उनीहरूले सरकारमा गएका कुनैपनि राजनीतिक पार्टीहरू स्वास्थ्य क्षेत्रको सुधारका लागि जिम्मेवार नदेखिएको बताए ।

उनीहरूले स्वास्थ्य क्षेत्र राज्यमन्त्रीबाट नचल्ने कुरा प्रमाणित भएको बताएका छन् । राज्यमन्त्रीकै नेतृत्वमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० दिनअघि आन्दोलनरत पक्षलाई तत्कालै पुरा गर्ने भनेर लेखेर दिएका बुँदाहरू अहिलेसम्म पुरा नभएको प्रतिष्ठान सुद्धिकरण अभियान संयुक्त संघर्ष समितिका संयोजक डा.एसपी रिमालले बताए । 


‘१० दिन अघि सरकारले हामीलाई ३ वटा कुरा लेखेर दिएको थियो, तीनवटै कुरा पुरा गर्न सरकार चुकेको छ’ संयोजक रिमालले भने, ‘हामीसँग ६ बुँदे सहमति गरेकै आज ५० दिन पुग्दैछ, ५० दिनमा हुनुपर्ने उपलब्धि केहि पनि भएको छैन, स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीबाट चल्दैन भन्ने प्रमाणित भएको छ ।’ 

मन्त्रालयले भदौ २७ गते विज्ञप्तिमार्फत आन्दोलनरत पक्षले उठाएका कुराहरू पुरा गर्नका लागि अघि बढाइसकेको र बाँकी कुराहहरूमा पुरा गर्न ८ बुँदे प्रतिवद्धता जनाएको थियो । जसको बुँदा नम्बर २ मा ‘चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रयास गरिनेछ’ भनि उल्लेख थियो । तर दुवै प्रतिवेदन सरकारले सार्वजनिक गर्न सकेको छैन ।

रिमालले भने, ‘तर उक्त बुँदा नम्बर २ मा लेखिएको कुरा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको रिपोर्ट सार्वजनिक गर्छु भनेको १० दिन भइसक्यो, त्यो तत्काल भनेको कुरा १० दिनमा पनि आउँदैन भने कहिले आउँछ ? सरकार संवेदनशिल छैन भन्ने कुरा प्रष्ट यहाँबाट देखिन्छ ।’
उनले ७५ दिन पुग्दा पनि स्वास्थ्यमन्त्री नियुक्त हुन नसक्नुले पनि सरकार जनताको स्वास्थ्यप्रति संवेदनशिल छैन भन्ने कुराको प्रमाण भएको बताए । 

उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘मर्सिडिज कार’ भएको बताए । तर त्यो कारको नाम कहिल्यै नसुनेका सिटी सफारी चालकलाई सरकारले प्रतिष्ठानको चालकका रूपमा खटाउँदा समस्या उत्पन्न भएको टिप्पणी गरे । 

‘मर्सिडिज कारको चालक खटाउँदा सिटीसफारीको चालक पठाए, उसले मर्सिडिज कहाँबाट चलाउँछ ?’ प्रतिष्ठानका पदाधिकारीप्रति व्यंग गर्दै उनले भने, ‘सिटीको ड्राइभर पनि यस्तो पठाइयो कि मर्सिडिजको सामान लगेर बाहिर बेच्ने र सिटी सफारीको ल्याएर जोडजाड गरेर चलाउने, यसले प्रतिष्ठान चल्दैन ।’
प्रतिष्ठानमा आन्दोलन सुरु भएको सय दिन पुगेको अवसरमा आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले बुधबार विहान प्रभातफेरी समेत गरेका थिए । उनीहरूले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यालयअगाडि दिनहुँजसो आन्दोलनका कार्यक्रम राख्न छाडेका छैनन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x