स्वास्थ्य

भारतबाट बाँकी खोप आयात गर्न पहल सुरू

खरिद गरेको खोप कात्तिकसम्ममा ल्याइसक्‍ने तयारी

अतिन आचार्य |
असोज ६, २०७८ बुधबार १८:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- भारतले कोभिड-१९ विरूद्धको खोप निर्यातलाई अक्टोबरदेखि सुचारू गर्ने निर्णय गरेसँगै नेपालले खरिद गरेको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो समय भारतमा कोभिड संक्रमितको संख्या बढेपछि भारतले नेपाल लगायत अन्य मुलुकमा खोप निर्यातमा रोक लगाएको थियो ।

नेपालले माघमा भारतसँग कोभिसिल्ड खोप खरिद गरेको आयात गर्नलाई सहज हुने भारतस्थित नेपाली दूतावास उपप्रमुख रामप्रसाद सुवेदीले इकागजलाई बताए । उनकाअनुसार भारतले आधिकारीक रुपमा खोप निर्यात गर्ने निर्णय गरिसकेकाले खोप नेपाल पठाउने प्रक्रिया अगाडि बढाइन्छ ।


नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गर्न सम्झौता गरेको थियो । जसमध्ये १० लाख खोप ल्याइएको छ । नेपालले भारतमा पैसा पनि पठाइसकेको छ ।

भारतले पहिलोपटक गत वर्ष माघको पहिलो साता कोभिसिल्डको १० लाख डोज खोप उपलब्ध गराएको थियो । नेपालमा पहिलो चरणमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ज्येष्‍ठ नागरिकलाई खोप लगाइएको थियो । भारतमा कोभिड संक्रमितको संख्या बढेपछि सन् २०२१ सम्ममा अन्य मुलुकलाई खोप निर्यात नगर्ने निर्णय गरेको थियो ।

'भारतले पनि खोप निर्यात गर्ने निर्णय गरिसकेको छ,' सुवेदीले भने,' खोप निर्यातमा छिमेकी मुलुकलाई पहिलो प्राथमिकतामा राखेको छ । कात्तिकको पहिलोसातासम्ममा खोप आइपुग्छ ।' खरिद गरेको खोपलाई दूतावासको तर्फबाट नेपाल लैजान सक्दो पहल गरिरहेको उनले बताए । तत्कालै खरिद गरिएको खोप भित्र्याउन पहिलो आवश्यकता रहेको उनको भनाइ छ ।

नेपाल सरकारको तर्फबाट थप खोप खरिदका लागि अन्य पहल पनि नभएको सुवेदीले बताए । अनुदानस्वरुप यसअघि भारतले ११ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अहिले भने अनुदानको खोपका लागि नेपाल सरकार र भारत सरकारबीच कुनै पनि पहल भएको छैन ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले माघ महिनामा भारतसँग खोप खरिद गर्न सम्झौता गरेको थियो । २० लाख डोज खोप प्रति खोप ४ डलरमा किन्‍ने गरी सम्झौता भएको थियो । खरिद सम्झौता भएको आठ महिना बितिसक्दा पनि कम्पनीले दोस्रो चरणा पठाउनुपर्ने खोप पठाएको छैन ।

सिरम इन्स्च्युटले खोप पठाउन चाहे पनि भारत सरकारले निर्यातमा रोक लगाएकाले पनि खोप पठाउन नसकेको कम्पनीले दूतावासलाई जानकारि दिदै आएको छ । 'कोभिसिल्ड' खोप खरिदका लागि सरकारले ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । 

सरकारले खोप खरिद गरेर ९४ लाख खोप भित्र्याएको छ । भारतसँग १० लाख र चीनबाट ८४ लाख खोप खरिद ल्याएको हो ।  वटा मुलुकले अनुदानस्वरुप ६३ लाख ९४ हजार कोभिडविरुद्धको खोप उपलब्ध गराइसकेको छ ।

हालसम्म नेपालमा  कोभिडविरुद्धको १ करोड ५७ लाख ७९ हजार ४ हजार खोप भित्रिएको छ । शुक्रबार मात्र नेपाल वायुसेवा निगमको जहाजले चीनबाट ४४ लाख भेरोसेल खोप ल्याएको थियो ।

कात्तिकसम्ममा कोभ्याक्सले उपलब्ध गराउने १ लाख ६ सय फाइजरको खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. सागर दाहालले जानकारी दिए ।

राष्‍ट्रिय खोप समितिले निर्णय  गरेको आधारमा फाइजरको खोप लगाइने दाहालले  जानकारी दिए । 'एक लाख खोप किशोरकिशोरलाई लगाउन थोरै हुन्छ,' उनले भने,' जटिल प्रकारको बिरामीलाई खोप लगाउने तयारी छ । यद्यपी समितिले निर्णय गरेको छैन ।'

अध्ययनले फाइजरको पहिलो डोज ३६ प्रतिशत र अस्ट्राजेनेकाको ३० प्रतिशत प्रभावकारी देखिएको उल्लेख गरेको छ । फाइजरको दुवै डोजको खोप लक्षणसहितको डेल्टा भेरिएन्टविरुद्ध ८८ प्रतिशत र अल्फा भेरिएन्टविरुद्ध ९३.७ प्रतिशत प्रभावकारी देखिएको छ । त्यसैगरी अस्ट्राजेनेकाको दुवै डोजको खोप डेल्टा भेरिएन्टविरुद्ध ६७ प्रतिशत तथा अल्फा भेरिएन्टविरुद्ध ७४.५ प्रतिशत प्रभावकारी पाइएको छ ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x