स्वास्थ्य

डेढ करोड बढी खोप भित्रियो, ३५ लाख किशोरकिशोरीले खोप अझै टुङ्गो लागेन

खोप खरिदमा केही कम्पनीसँग अनुबन्ध र छलफल

अतिन आचार्य |
असोज ७, २०७८ बिहीबार १९:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले देशभर कोभिड-१९ विरुद्ध खोप दैनिक १ लाख बढी मात्रा लगाउँदै आएको छ । पहिलो र खोप दुवै मात्रा लगाउनेको संख्या करिब ५८ लाख ६१ हजार पुगेकाे छ । 

आठ महिना अघिसम्म देशमा खोप उपलब्ध नहुँदासम्म यसअघि खोप महिनामा एक पटक मात्र लगाउने गरिएको थियो । तर, पछिल्लो समय चीन तथा विभिन्‍न छ राष्‍ट्रबाट खोप आयात भएपछि खोप कार्यक्रमले निरन्तरता पाइरहेको छ । 


राष्‍ट्रिय खोप कार्यान्वयन समितिले सिफारिश गरेको आधारमा तोकिएको उमेर समूहले खोप लगाइरहेका छन् । ज्येष्‍ठ नागरिक देखि विभिन्न जिल्लामा ४० वर्ष उमेर समूहका र केही जिल्लामा भने १८ वर्षमाथिकाले पनि खोप लगाइरहेका छन् ।

सरकारले खोप खरिदमा कुनै कम्पनीलाइ अनुबन्ध गरिसकेको, केही कम्पनीका मुलुकले भने खोप निर्यातमा रोक लगाएकाले अहिले सम्म पाउन सकेको छैन । भारतको सिरम इन्स्च्युटसँग कोभिसिल्ड खोप खरिद गर्न रकमसमेत भुक्तानी गरिसक्दा पनि नेपालले खोप पाउन सकेको छैन । गत वर्षको माघमा भारतसँग खोप खरिद प्रक्रिया अगाडि बढाएको थियो । तर भारतमा कोभिड संक्रमितको संख्या बढेकाले खोप निर्यात राेक्ने निर्णय गरेको थियो । यद्यपि भारतले खाेप निर्यात खुला गरिसकेकाे छ । फाइजर कम्पनीसँग खोप खरिदमा छलफलमा जुटेकाे छ । 

पछिल्लो समय सरकारले सबै नागरिकलाई खोपको पहुँच पुर्‍याउने लक्ष्य राखेपनि अहिले पनि करिब ३५ लाख मानिस खोपको पहुँचमा पुग्न सकेका छैनन् । १२ वर्षदेखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीहरू अझै खोपबाट टाढा रहनेछन् । सरकारले किशोरकिशोरीलाई लगाइने खोप ल्याउने भए पनि तत्काल उनीहरूले नपाउने भएका छन् ।

कोभ्याक्सले फाइजर कम्पनीको १ लाख ६२० खोप उपलब्ध गराउनेछ । खोप कात्तिक महिनासम्ममा ल्याइने र यो खोप जटिल रोग लागेकालाई लगाइने भएको खोप महाशाखाले जनाएको छ । फाइजर कम्पनीको पर्याप्‍त खोप आयात नभएसम्म किशोरकिशोरीहरू अझै केही खोप लगाउनबाट वञ्‍चित हुनेछन् ।

यो समाचार तयार पार्दासम्म मुलुकभर कोभिडविरुद्ध पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या कुल १ करोड २१ लाख ५४ हजार १८ जना पुगेको छ । खोप लगाउन लक्षित संख्‍या २ करोड १७ लाख ५६ हजार ७६३ जना छन् ।

यस वर्षको अन्तिम सम्ममा किशोरकिशोरीले खोप पाउने

आखिर कहिलेसम्ममा किशोरकिशोरले कोभिडविरुद्धको खोप पाउँछन् ? १८ वर्ष भन्दा कम उमेर समूहका मानिसले खोप नलगाएकाले समय-समयमा कोभिडको तेस्रो लहर भित्रिन सक्ने शंका गरिएको छ ।

यसै वर्षको अन्तिम सम्ममा किशोरकिशोरीलाई खोप उपलब्ध गराउने लक्ष्य रहेको खोप महाशाखाका डा. सागर दाहालले बताए । उनका अनुसार फाइजरको १ लाख बढी केही महिनामा ल्याइन लागेको छ । कोभ्याक्सकले उपलब्ध गराएको खोप थोरै संख्यामा रहेकाले धेरै संख्यामा रहेकालाई खोप लगाउन सकिदैन ।

मोर्डनाको ४० खोप खरिद गर्न दाहालले रकम पनि भुक्तानी गरिसकेको इकागजलाई बताए । सरकारले कोभ्याक्समार्फत मोर्डनाको खोप खरिद गर्न अनुबन्ध गरिसकेको छ । 'यसै वर्षभित्र १२ देखि १८ वर्षसम्मका लागि खोप लगाउने लक्ष्य रहेको छ,' उनले भने । 

फाइजरसँग ३० लाख डोज खोप आयात गरिन्छ । कुल ७० लाख डोज खोप भएमा खोप लगाउन ३५ लाखलाई पुर्‍याउन सकिने दाहालले बताए । फाइजरको खोप खरिद गर्न विभिन्न माध्यमाबाट वार्ता भइरहेको उनले जानकारी दिए । तर, फाइजरसँग खोप खरिद गर्न सरकारले कुनै पनि सम्झौता गरिसकेको छैन ।

डेढ करोड बढी खोप भित्रियो

चीनसँग कोभ्याक्स मार्फत ६० लाख खोप खरिद गर्न लागेको उनले जानकारी दिए । यसअघि चीनबाट खरिद गरिएको खोप नेपाल ल्याइसकिएको उनले बताए । सरकारले चीनबाट हालसम्म ८४ लाख डोज भरोसेल डोझ खोप खरिद गरिसकेको छ । अनुदानस्वरूप १८ लाख खोप पनि प्राप्‍त गरेको छ । हालसम्म नेपालमा १ करोड ५७ लाख ७९ हजार ४ हजार खोप भित्रिएको छ । केही दिन अघि मात्र चीनबाट ४४ लाख भेरोसेल खोप ल्याइएको थियो  ।

चीनबाट अनुदानस्वरुप १८ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरूप र खरिद गरी १० लाख ल्याइएको छ । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x