स्वास्थ्य

चाडपर्वमा हुने भीडभाडले कोभिडको तेस्रो लहरको जोखिम बढ्यो

पहिलो र दोस्रो लहरमा संक्रमण नदेखिएको ठाउँमा संक्रमण फैलने खतरा

अतिन आचार्य |
असोज १२, २०७८ मगलवार १८:२३ बजे

काठमाडौँ- लामोसमयसम्म निषेधाज्ञामा रहेको देशलाई चाडपर्वले घेरिसकेको छ । सहरबाट गाउँ जाने मानिसहरूको चोक र उपत्यकाको बसपार्कमा भिडभाड बढ्न थालेको छ । बजारमा किनमेल गर्ने मानिसको घुँइचो बढेको छ । जहाँ उनीहरूको मुखमा मास्क छ तर सामाजिक दूरी कायम गरिएको छैन ।  

विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाको आन्तरिक निर्वाचन पनि हुन थालेको छ । मुख्य राजनीतिक दलको निर्वाचन र  चाडपर्व भित्रिएसँगै भीडभाड बढे पनि मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोडेका छन् । सामाजिक दूरी कायम नगर्नु र बढी भिडभाडले पुनः कोभिड संक्रमण फैलने त्रास बढ्दै गएको छ ।


मुलुकमा कोभिड-१९ महामारीको जोखिम घटेको छैन । मृत्यु दर अहिले पनि १ दशमलव ४ प्रतिशत छ । संक्रमित दर ८ प्रतिशत बढी छ । संक्रमितको संख्या मात्र घटेको हो । कोभिड जोखिम भने घटिसकेको छैन । अहिले पनि दैनिक १ हजार संक्रमित थपिने गरेका छन् । तर,  लाग्छ  मुलुकमा स्वतन्त्र रुपमा मानिसहरू ओहोरदोहोर गरिरहदा कोभिड संक्रमणमुक्त भइसकेको छ ।

सरकारले ठूला-ठूला सहर र विदेशबाट गाउँ गएकाहरूको एन्टीजेन्ट परीक्षण गर्न पनि निर्देशन दिएको छ । ग्रामीण भेगमा संक्रमणदर फैलन नदिन सबैभन्दा बढी स्थानीय तह सचेत हुनुपर्छ । बाहिरबाट गएका मानिसको कोभिड परीक्षण मुख्य प्राथमिकतामा हुनुपर्छ । सँगसँगै खोप अभियानलाई पनि निरन्तरता दिनुपर्छ ।

विद्यालय तथा सार्वजनिक यातायातमा सामाजिक दूरी कायम नहुनुले नेपालमा कोभिडको खतरा बढने लक्षण देखिएको जनस्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् । बजारमा मानिसको भीडभाड बढनुले पनि मुलुकमा कोभिडको तेस्रो वेभको जोखिम बढदै गएको छ । मुलुकमा चाडपर्व भित्रिएसँगै कोभिडको तेस्रो लहर भित्रिने जोखिम बढेको विज्ञहरूले चिन्ता गर्न थालेका छन् ।

भीडले कोभिडको जोखिम निम्त्यायो

विद्यालय, सार्वजनिक यातायात, सार्वजनिक यातायात र सभा सम्मेलनमा मानिसहरूको भिडभाड बढनुले राम्रो संकेतन नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक सागरकुमार राजभण्डारी बताउँछन् । 'सार्वजनिक स्थानमा भिडभाड बढ्नु‍ले कोभिडलाई पुनः निम्त्याउने जोखिम बढ्दै गएको छ,' उनले भने ।  

काठमाडौँबाट दसैं तिहार जस्ता चाडबाडका लागि मानिसहरू गाउँ जान थालेका छन् । गाउँमा सामाजिक दूरी कायम नहुने र ओहोर-दोहोर बढी हुने भएकाले कोभिड सर्ने बढी जोखिम रहेको उनले बताए । अहिलेको संख्यामा संक्रमित देखिएमा तिहारपछि कोभिडको तेस्रो लहर भित्रिने उनले बताए ।

संक्रमितहरूको सम्पर्कमा रहेकाहरूको प्रभावकारी रुपमा कन्ट्रयाक ट्रेसिङ नभइरहेको उनले बताए । ' दैनिक देशभर १ हजार मानिस कन्ट्रयाक ट्र्सिङमा पर्ने गरेका छन,' राजभण्डारीले भने,' परीक्षणको दायरा बढाउनु पर्छ । लक्षण देखिएमा परीक्षण गर्ने र नदेखिएमा आईसोलेशनमा बस्नुपर्छ ।'

भारतमा काम गर्न गएका मानिसहरू दसैंमा घर आउँछन् । भारतबाट आएका मानिसहरूबाट ग्रामिण भेगमा कोभिडको जोखिम हुने राजभण्डारीको भनाइ छ । सबैलाई सामाजिक दूरी कायम गरी मास्क लगाउन उनले सुझाव दिए ।

संक्रमितको संख्या घटे पनि जोखिम टरेको  छैन

मुलुकमा दैनिक संक्रमित देखिएकाले कोभिडको जोखिम नटरेको महामारी विज्ञ डा. अर्चना श्रेष्‍ठले बताइन् । उनकअनुसार अहिले पनि ८ प्रतिशत संक्रमित देखिएको छ । दुई-तीन महिनाअघि ४० प्रतिशत संक्रमित देखिने गर्थ्यो ।

परीक्षणको दायरा घटेकाले परीक्षण संख्या बढाउनु श्रेष्‍ठले सुझाव दिइन् । दोस्रो वेभको मध्यतिर दैनिक २० हजारको हाराहारीमा परीक्षण हुन्थ्यो । संक्रमितको पहिचान गरी आईसोलेशनमा राख्‍नुपर्छ । धेरै भन्दा धेरैको कन्ट्रयाक ट्रेसिङमा गरिनुपर्ने उनले बताइन् ।

संख्यात्मक हिसाबले संक्रमितको संख्या घटेपनि जोखिम नटरेको श्रेष्ठले बताइन् । सार्वजनिक स्थानमा बढी भीडभाड बढेकाले पनि संक्रमण फैलने उच्च जोखिम रहेको उनको भनाइ छ ।

'पहिलो र दोस्रो ठाउँमा संक्रमणले प्रभाव नपारेको ठाउँबाट कोभिडको थर्ड वेभ भित्रिन सक्छ,' उनले भनिन,' खोप नलगाइएको ठाउँमा खोप लगाउनुपर्छ । सबै नागरिकले खोप पाइसकेपछि मात्र बुष्टर डोजलाई सुरुवाती गर्नुपर्छ ।'

'कोभिड नियन्त्रणमा कडाइ नीति'

खुला गरिएका धेरै स्थानमा कोभिड नियन्त्रण गर्न कडा नीति अवलम्बन गर्नुपर्ने भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले बताए । संक्रमणदरको संख्या चारदेखि पाँच हजारमा तल झर्नसाथ नियन्त्रणमा आएको भनेर उत्साहित नहुनुपर्ने उनको भनाइ छ ।

'कोभिडविरुद्ध प्रभावकारी कदम चाल्न पुनः निषेधाज्ञा लगाइ अति आवश्यक क्षेत्रलाई खुला गरिनुपर्छ,' डा. मरासिनीले भने,' काम गरी खानेलाई सहज वातावरण बनाइ कडाइ गरिनुपर्छ ।'

परीक्षणको दायर बढाएर आइसोलेट गर्न डा. मरासिनीले सुझाव दिए । नेपालभित्र लामो दूरीको यात्रा गर्दा कोभिड परीक्षण गरेर जानुपर्ने उनले बताए । परीक्षण नगरी जाने प्रवृत्तिले ग्रामीण भेगमा संक्रमण फैलन त्रास बढिरहेको उनको भनाइ छ ।

भाइरोलोजिस्ट मरासिनीले चाडपर्वको समय आएकाले तेस्रो लहर आउन सक्ने चेतावनी दिए । उनले राजनीतिक दलको गतिविधि नियन्त्रण गर्न नसक्दा र खोप केन्द्रमा भीड हुँदा कोभिड फैलने सक्ने आशंका व्यक्त गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x