स्वास्थ्य

समयमै वालभ्याक्स खोप नल्याइँदा 'क्लिनिकल ट्रायल'मा ढिलाइ

अतिन आचार्य |
असोज १९, २०७८ मंगलबार ८:४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा पहिलोपटक हुन लागेको कोभिड-१९ विरुद्धको खोप क्लिनकल ट्रायल समयमा नहुने भएको छ । उत्पादक कम्पनीले समयमा खोप उपलब्ध नगराउँदा क्लिनकल ट्रायल हुने मिति पर सर्दै गएको हो ।

एक महिनाअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एकसातापछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा क्लिनकल ट्रायल हुने घोषणा गरेको थियो । चीनस्थित वालभ्याक्स कम्पनीको कोभिडविरुद्ध खोप क्लिनकल ट्रायल नेपालमा हुन लागेको थियो । कम्पनीको खोप क्लिनकल ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुमति दिएको थियो । कम्पनीले खोप नपठाएकाले केही महिनाका लागि क्लिनकल ट्रायलको मिति धकेलिने भएको हो ।


कम्पनीले समयमा खोप उपलब्ध नगराउदा क्लिनकल ट्रायल गर्न नसकिएको प्रतिष्‍ठानका डा.सञ्‍जीव शर्माले बताए । कम्पनीले खोप उपलब्ध गराए प्रतिष्‍ठान जुनसुकै समयमा पनि क्लिनकल ट्रायल गर्न तयार रहेको उनको भनाइ छ । खोप उत्पादक कम्पनीले समयमा खोप उपलब्ध गराएको भए क्लिनकल ट्रायल यतिखर ट्रायल गरिसक्ने शर्माको दाबी छ ।

'प्रतिष्‍ठानले तीन हजार मानिसलाई क्लिनकल ट्रायल खोप गर्न सक्छ,' डा. शर्माले भने, ' प्रतिष्‍ठानले अहिले पनि विभिन्‍न खोपको ट्रायल गरिरहेको छ ।' खोप पाउनसाथ जुनसुकै समयमा ट्रायल प्रक्रिया अगाडि बढ्ने शर्माले प्रस्ट पारे । खोप कम्पनीको आफ्नो प्राविधिक कारणले पनि नेपाल खोप आयात हुन नसकेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले खोप निर्माताले कम्पनी खोप ल्याए क्लिनकल ट्रायल गर्न कुनै पनि समस्या नरहेको बताए । 'क्लिनकल ट्रायल गर्न परिषद्ले एक महिना अघि अनुमति दिइसकेको छ,' डा. ज्ञवालीले भने,' परिषद्ले सहजीकरण र ट्रायल भएको समयमा अनुगमन मात्र गर्ने हो ।' नेपालस्थित देउराली जनता फर्मास्युटीकलले क्लिनकल ट्रायलको सहजीकरण गर्नेछ । परिषद्को तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिसकिएको ज्ञवालीले बताए ।

नेपालस्थित देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा क्लिनकल ट्रायल गर्न लागिएको हो । तीन हजार मानिसमा उक्त खोप परीक्षण गर्ने तयारी छ।

डेढ करोड बढी खोप भित्रियो

भारतबाट अनुदानस्वरुप प्राप्‍त १० लाख कोभिसिल्ड खोप नेपाल भित्रिएसँगै गत वर्षको माघ १४ गतेदेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या करिब डेढ करोड पुगिसकेको छ । हालसम्म एक करोड ६१  लाख ४२ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।

चीनबाट अनुदानस्वरुप १८ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप, खरिद गरी १० लाख र कोभ्याक्स मार्फत ३ लाख ४८ खोप ल्याइएको थियो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन, फाइजरको कोभ्यान्टिक र  रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति दिएको छ । 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x