स्वास्थ्य

सन्दर्भ : विश्वमानसिक स्वास्थ्य दिवस

मानसिक अस्पतालमा बिरामी बढे, बेड र स्वास्थ्यकर्मी बढेनन्

बालबालिकामा मनोरोग बढ्दै

अतिन आचार्य |
असोज २३, २०७८ शनिबार ७:५९ बजे

काठमाडौँ- ललितपुरको मानसिक अस्पताल पाटनमा दैनिक परीक्षण गर्न आउनेको संख्या डेढ सयको हाराहारीमा आउने गरेका छन् । देशकै एकमात्र मानसिक अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या दिनप्रतिदिन बढे पनि अस्पतालमा बेडको संख्या भने बढ्न सकेको छैन ।

वार्षिक रुपमा ३५ हजार बढी ओपिडीमा सेवा लिने ठाउँमा गम्भीर अवस्थाका बिरामीका लागि पर्याप्‍त बेड नहुँदा उपत्यकाको निजी तथा अन्य सरकारी अस्पतालमा बिरामीलाई उपचार गराउन जानुपर्ने बाध्यता छ । संघीय राजधानी भएको उपत्यकामा मानसिक अस्पतालमा पर्याप्‍त बेड नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् । उपत्यकालगायत बाहिरी जिल्लाबाट मानिसहरू उपचारका लागि आउने गरेका छन् ।


अघिल्लो आर्थिक वर्षमा मात्र अस्पतालको ओपिडीमा ३५ हजारले सेवा लिएका थिए । अस्पतालमा रहेको ४७ बेडमा उपचारका लागि बिरामी हुने गरेका छन् । उपचार गराउन आएका बिरामीलाई तत्कालै अस्पताल भर्ना गर्नुपर्ने भएमा बिरामीले बेड पाउने अवस्था छैन । उपचारका लागि महिलाको २३ र पुरुषको २४ बेड रहेको छ । बिरामी भएर आउनेको पुरुषको संख्या बढिरहेको छ । क्याबिन ८ र सामान्य ३९ बेड छन् ।

मानसिक रोगका उपचार गरिरहेका बिरामीले बेड भरीभराउ हुने गरेको छ । बेड अभाव हुने भएकाले बिरामीहरू अन्य अस्पतालमा भर्ना हुनुपर्ने बाध्यता छ ।अस्पतालमा बिरामीको चाप रहे पनि अस्पतालले बेडको पर्याप्‍त व्यवस्थापन गर्न सकेको छैन । अस्पतालले बिरामीको सुविधाका लागि सामान्य सुविधा मात्र प्रदान गर्न सक्‍ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।

गम्भीर बिरामीहरू आएमा तत्काल बेड पाउने अवस्था छैन । सरकारले अस्पतालको सय मिटर दूरीमा रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्‍ठानलाई वर्षेनी करोडौँ अनुदान दिएर सुविधा-सम्पन्‍न बनाएको छ । एकमात्र मानसिक अस्पतालमा न पर्याप्‍त जनशक्ति छन् न त भौतिक सुविधा नै छ ।

अस्पतालको संरचनाअनुसार बिरामीलाई पर्याप्‍त मात्रामा उपचार गर्न बेडको संख्या पूरा नभएको अस्पतालका प्रवक्ता डा. अनन्तप्रसाद अधिकारीले बताए । उनकाअनुसार ४५ बढी बेड छन् । बिरामीको चाप अनुसार अस्पतालमा भएका बेडले नपुग्‍ने उनले दाबी गरे ।

केही दिनअघि स्वास्थ्य राज्यमन्त्रीको पनि भ्रमण भएको समयमा अस्पतालमा संरचनाको अभाव रहेको जानकारी गराएको अधिकारीले बताए । 'अहिलेको अवस्थामा बिरामीको चाप रहने हो भने भएको बेडले पुग्दैन,' उनी भन्छन्,'न्यूनतम १ सयको संख्यामा बेड चाहिन्छ ।'

अस्पताल प्रशासनले आवश्यक संरचना मात्र निर्माण गर्ने गरेको छ । ठूला-ठूला बेड जस्ता आवश्यक बेड सामग्रीहरू स्वास्थ्य मन्त्रालयले निर्माण गर्ने गरेको अधिकारीले जानकारी दिए । बेड थप्‍नका लागि पहल गरिए पनि सरकारबाट कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

बिरामीको चाप अनुसार स्वास्थ्यकर्मी नभएको अस्पतालले प्रस्ट पारेको छ । अस्पतालमा हाल कूल ८० जना स्वास्थ्यकर्मी छन् । जसमध्ये २० जना करारमा रहेका छन् । अहिले पनि अस्पतालमा चिकित्सक अभाव रहेको उनले बताए । 

एक चिकित्सकलै दैनिक १ सय बिरामीको परीक्षण गरिरहनु परिरहेको छ । अस्पतालले कोभिडको बन्दाबन्दीमा ३५ हजारलाई ओपिडी सेवा प्रदान गरेको थियो । वार्डमा ६१२ जनालाई भर्ना गरी उपचार गरेको थियो ।

पछिल्लो समय अस्पतालमा भर्ना हुनेहरु कोभिडसँग सम्बन्धित बिरामीहरू रहेको अस्पतालले जनाएको छ । कोभिड एन्जाइटी, डिप्रेसन र शरीरमा विभिन्‍न समस्या भएको जस्तो देखिने बिरामीहरू समेत परीक्षण गर्न आउने गरेको डा. अधिकारीले जानकारी दिए ।

२० वर्षदेखि माथिका उमेर समूहका मानिसहरू बढी परीक्षण गर्न आउने गरेको अधिकारीले जानकारी दिए । ४० वर्षदेखि माथिका मानिसहरूमा गम्भीर समस्या देखिने गरेको छ । अन्य उमेर समूहका मानिसलाई सामान्य अवस्था देखिने गरेको उनको भनाइ छ ।

वैशाखदेखि भदौसम्म मात्र ओपिडीमा ११ हजार १९६ जनाले सेवा लिएका थिए । जसमध्ये पुरुष ५ हजार ६५५ र महिला ५ हजार ५४१ ले जना सेवा लिएका छन् ।

बच्चाहरूमा पछिल्लो समय विभिन्न प्रकृतिका मानसिक रोग देखापर्न थालेको छ । एटीएचडी, एन्जाइटी र चाइल्डहुड डिप्रेसनसमेत देखा पर्न थालेको डा. अधिकारीले बताए । बच्चाहरूको लागि अन्य अस्पतालमा उपचार हुन थालिसकेको उनले जानकारी दिए ।

सबै उमेर समूहका बिरामीहरू उचित समयमा अस्पताल आएमा निको हुने अधिकारीको ठहर छ । मानसिक तनावबाट उन्मुक्ति हुन जीवनशैली सरल बनाउन उनले सुझाव दिए । उनकाअनुसार सामाजिक सञ्जालमा राखिएको अनावश्यक समाचारहरूलाई फ्लो गर्नुहुँदैन । लागूपदार्थ सेवन नगर्ने र सिर्जनात्मक हुनुपर्छ । आवश्यक मानिसहरूसँग अन्तर्क्रिया गर्नुपर्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x