स्वास्थ्य

दसैंमा मृगौला रोगीले के खाने, के नखाने ?

डा.पुकार श्रेष्ठ |
असोज २८, २०७८ बिहिवार १०:५९ बजे

दसैंमा मृगौलाका बिरामीहरूले खानेकुरामा ध्यान पुर्‍याउनुपर्छ । मसलेदार र चिल्लो खानेकुराबाट टाढा बस्नुपर्छ । चाडपर्वमा हुने भोज भतेरमा सकेसम्म सहभागी हुनुहुँदैन । मृगौलाको रोगीले दसैंमा धेरै परिकारहरूमा मुख बार्नुपर्ने हुन्छ । चाडपर्वको नाममा जथाभावी खानुहुँदैन । अत्यन्त सावधानी अपनाउनुपर्छ ।

पोटासियम बढी भएका फलफूल, प्रोटिनयुक्त माछा मासु दसैंको मुख्य परिकार हो । यसमा मृगौलाका बिरामीले हेलचक्र्र्याइँ गर्ने कुरा हुँदैन । एक दुई टुक्रा खानु बेग्लै कुरा हो ।


तर, भोज भतेरको रुपमा आफूलाई पच्नै गाह्रो हुनेगरि भने खानु हुँदैन । मृगौला बिरामीको लागि प्रोटिन र पोटासियमयुक्त खानेकुराले शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ ।

ती खानेकुरा उनीहरूको लागि विष बराबर हुन् । शरीरलाई यसले नराम्रो असर गर्छ । सावधानी नअपनाएमा ज्यानै जान सक्ने जोखिमसम्म हुन सक्छ ।

मृगौलाका रोगीले पानी धेरै पिउने, माछामासु, फलफुल र सागसब्जी धेरै खाने गर्नुहुँदैन । धेरै पानी पिउँदा फोक्सोमा पानी जम्मा भएर श्वास फेर्न गाह्रो हुन सक्छ । चिल्लो खानेकुराले पनि मृगौला रोगीलाई दिर्घकालिन रुपमा हानी गर्छ । चिल्लो बढी खादा बोसो जम्ने, नशा साघुरिने र अरु अंगमा समेत यसले क्षति गर्न सक्छ ।

मृगौला प्रत्यारोपण गरिसकेका व्यक्तिहरूले भने एउटा स्वस्थ व्यक्तिले खाएको जस्तै खानेकुरा खान हुन्छ । तर, मृगौला फेल भएको, प्रत्यारोपण नगरेको, डायलासिसमा बसेको व्यक्तिले भने एकदमै सावधानी आपनाउनुपर्छ । नत्र फोक्सोमा पानी हुने, श्वास फेर्न गाह्रो हुने भएर कतिपय अवस्थामा ज्यानै जान सक्नेसम्मको अवस्था सिर्जना हुन सक्छ । चाडपर्वको नाममा यस्तो जोखिम मोल्नु राम्रो हुँदैन ।

भोज भतेर भन्दैमा मुख नछाडौँ । संयमता अपनाऔँ । माछा, मासु र फलफुलहरूको प्रयोग सिमित मात्रामा गराँै । मद्यपान र धुम्रपान गर्दै नगराँै ।

मृगौलाको रोगिलाई परिवाकार सदस्यले कम मसलेदार खानेकुरा बनाइदिनुपर्छ । युवायुवतीको तुलनामा बुढाबुढी र बालबालिकाले खानेकुरा बार्न मान्दैनन् ।

उनीहरूलाई परिवारका सदस्यले ध्यान दिनुपर्छ । वयस्क उमेरका बिरामीहरू भने आफै सम्हालिनुपर्छ । उनीहरूलाई परिवारले नियन्त्रण गरेर मात्र हुँदैन । यस्तो बेलामा बिरामी आफैँ जिम्मेवार हुनुपर्छ ।

अहिले अस्पतालको सुविधा सुस्त अवस्थामा चलिरहेको छ । अस्पतालमा बेड पाउनै मुस्किल छ । यस्तो अवस्थामा अन्य रोग भएका बिरामीहरूले अस्पतालको सेवा पाउँन गाह्रो छ । त्यसैले, आफै सुरक्षित हुने र सावधानी अपनाउने बाहेक हामीसँग अर्को विकल्प छैन । (कुराकानीमा आधारित)


Author

डा.पुकार श्रेष्ठ

श्रेष्ठ वरिष्ठ मृगौला रोग विशेषज्ञ हुन् ।


थप समाचार
x