स्वास्थ्य

स्वास्थ्यमन्त्री खतिवडा विपी प्रतिष्ठानमा, संघर्ष समितिलाई उपेक्षा

बाबुराम भण्डारी |
कात्तिक ९, २०७८ मंगलबार १२:५६ बजे

विराटनगर ‍- विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई धरासायी बनाउने गरी भएका अनियमितताविरुद्ध १३५ दिनदेखि आवाज उठाउँदै आएको संघर्ष समितिप्रति स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले व्‍यवास्‍ता गरेका छन् । प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारी हटाउने प्रक्रियाका लागि गठित समितिको नेतृत्व गर्दै मंगलबार विराटनगर विमानस्थलमा ओर्लिएर धरान हिंडेका मन्त्री खतिवडाले संघर्ष समितिलाई वेवास्‍ता गर्दै सरोकारवाला, नागरिक समाज, दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतका पक्षहरूसँग वास्तविकता बुझ्ने बताएका हुन् । 

राज्यमन्त्रीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नचल्ने भन्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले खतिवडा मन्त्रीमा नियुक्त भएपछि भेट्नका लागि समय माग गरेका थिए । तर संघर्ष समितिका प्रतिनिधिहरूले मन्त्री खतिवडाले आफूहरूलाई भेट्न समय नदिएको बताएका थिए । विपी प्रतिष्ठानभित्र आमुल सुधारको मागसहित चिकित्सक, कर्मचारी र विद्यार्थीहरू आन्दोलनरत रहेका छन् । उनीहरूकै आन्दोलनका कारण सरकारले यसअघि विभिन्न समिति बनाएर छानबिन र अध्ययन प्रतिवेदनसमेत बनाइसकेको छ । तर मन्त्री खतिवडाले प्रतिष्ठान सुधारको माग गर्दै आएको आन्दोलनरत संघर्ष समिति नै नबनेको झैंगरी अभिव्यक्ति दिएका हुन् । 


‘म आज र भोलि बस्छु, सचिव र सहसचिवले थप बुझ्नु हुन्छ’ संघर्ष समिति बनेको थाहा नभएझैं गरी उनले भने, नागरिक समाज, दलीय प्रतिनिधि, विपी सरोकार भन्ने के समिति पनि बनेको छ भन्ने सुनेको छु, धरानको मेयरसाबलाई पनि भनेको छु, उहाँहरूसँग पनि आधी एकघण्टा अन्तरक्रिया गर्नेगरी भनेको छु ।’
 
उनले विगतका प्रतिवेदनहरू वैधानिक नहुने भएकैले विश्वविद्यालय ऐन अनुसार २२ जना सिनेट सदस्यमध्ये ६ जनाको निवेदनका आधारमा आफ्नो संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सचिव र धरान उपमहानगरपालिकाका मेयर सदस्य रहेको समितिले छानबिन सुरु गरेको जानकारी दिए ।

प्रतिष्ठानका पदाधिकारी नियुक्तिदेखि भौतिक तथा प्रशासनिक क्षेत्रको अनियमितता र समस्या पहिचानका लागि छानविन गर्न बैकुण्ठ अर्याल नेतृत्वको उच्चस्तरीय समितिको प्रतिवेदन, शैक्षिक तथा जनशक्ति अध्ययन समितिको प्रतिवेदन, नेपाल मेडिकल काउन्सिलको स्थलगत प्रतिवेदन, केदार बहादुर अधिकारी नेतृत्वको छानविन कार्यदलको प्रतिवेदन अहिले पनि मन्त्रालयका दराजमा थन्किएका छन् । सरकारले समितिको प्रतिवेदन कार्यन्वयन गर्न अर्को समिति बनाउँदै प्रतिवेदन कार्यन्वयनमा उदासिन बन्दै आएको छ । ती प्रतिवेदन अक्षरश कार्यन्वयनको माग गर्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान संघर्ष समिति आन्दोलनरत रहँदै आएको छ ।

‘हामीलाई २१ दिनभित्र प्रतिवेदन दिने भनेर म्यान्डेट दिएको छ, काम गर्दै जाँदा २१ दिन पनि लाग्ला, १०/१२ दिन पनि होला, भन्न सक्ने कुरा भएन’ प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारीहरूलाई हटाउने नै हो कि के हो भन्ने प्रश्नमा जवाफ दिंदै उनले भने, ‘हामी छानबिन गर्न आएका छौं, मलाई अगाडि तान्ने वा पछाडि धकेल्नेतिर जानुभन्दा मैले पाएको म्याण्डेट अनुसारको कुरा गरौं न ।’

मन्त्री खतिवडाले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई चारदिनभित्रै यहाँ (प्रतिष्ठान) आइपुगेको दाबी गरे । उनले विगतको सरकारले पूर्वाधार, जग्गा र डिपीआर बिना नै एकैपटक अस्पताल उद्घाटन गरेको आरोप लगाए । ४५ वटा जतिमात्रै प्रक्रियामा गएको छन् कि छैनन् भन्दै उनले आफुले थप बुझ्नै बाँकी रहेको जानकारी दिए ।

‘प्रदेश १ मा हाम्रै नेतृत्वको सरकार’
मन्त्री खतिवडाले प्रदेश १ सरकार नेकपा (एकीकृत समाजवादी) कै नेतृत्वमा बन्ने सहमति भएको बताए । उनले माथि या तलका कुन नेताले के भने भन्ने कुराको सम्बन्ध नहुने भन्दै आफूहरूले दलीय गठबन्धनमा सरकार बनाएको र गठबन्धनको सहमतिअनुसार सबै काम भइरहेको बताए । 

‘गठबन्धनमा माथि जे काम भइरहेको छ त्यही अनुसार अघि बढ्छ, १ र ३ (बागमती) सरकार नेकपा (एकीकृत समाजवादी) को बन्ने समझदारी हो’ उनले भने, ‘दल केन्द्रमै हुन्छ, निर्णय त्यहिबाट हुन्छ, जे भएपनि समझदारी भएपछि लागू गर्ने हो, लागू हुन्छ, विधि प्रक्रिया र सरसल्लाह बाँकी होलान्, त्यस्तो कुरा मलाई जानकारीमा छैन ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x