स्वास्थ्य

सरकारले एक करोड खोप खरिद गर्ने

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १४:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले ६० लाख डोज फाइजर र ४० लाख डोज मोडर्ना खोप खरिदका लागि स्वीकृति दिएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदका लागि गरेको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको हो ।

१२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने एक करोड खोप ल्याइने  निश्चित भएको छ । यसअघि सरकारले फाइजर र मोर्डना खोप किन्‍न  प्रक्रिया अगाडि बढाएको थियो ।


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले यसअघि एक करोड खोप खरिदका सुनिश्चित भइसकेको ईकागजलाई बताए । उनले खोप खरिद गर्न मन्त्रिपरिषले पास गर्नुपर्ने भएकाले खरिद गर्न स्वीकृत प्रदान गरेको हो ।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । 'अब फाइजर र मोर्डना खोप छिट्टै आउनेछ, मन्त्री खतिवडाले भने’,'मन्त्रिपरिषद्ले खोप ल्याउने निर्णय गरेसँगै खोप आइहाल्छ ।'

सरकारले खोप खरिद गर्न 'जी टु जी' माध्यमबाट रकम भुक्तानी गर्नेछ । खोप खरिद गर्ने सम्पूर्ण अधिकार स्वास्थ्य सेवा विभाका डिजीलाई अधिकार प्रदान गरिसकेको उनको भनाइ छ ।

खोप खरिद गर्न कम्पनीको प्रतिनिधिसँग सम्झौता हुन लागेको मन्त्री खतिवडाले  जानकारी दिए । सम्झौता भएको मितिदेखि एकदेखि दुई महिना भित्रमा खोप ल्याइ सकिन्छ,' उनले भने । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध उक्त फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ  । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

सरकारले कोभिसिल्ड र  भेरोसेल खोप मात्र खरिद गरेको छ ।  एस्ट्राजनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्स अन्तर्गत अनुदानमा प्राप्त गरेको छ । खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यसअघि एक लाख फाइजर मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल आइसकेको छ  ।

 


Author

थप समाचार
x