स्वास्थ्य

नेपालमा रेबिजका वर्षेनी १६ जनाको मृत्यु, सबै प्रदेशमा मङ्सिर ५ गतेबाट खोप लगाइने

इकागज |
मंसिर २, २०७८ बिहीबार १६:५७ बजे

काठमाडौँ- रेबिजका कारण नेपालमा वर्षेनी १५ जनाको मृत्यु हुने गरेको छ । एक सय जनामा रेबिज पुष्‍टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बिहीबार रेबिजविरुद्धको खोप इम्युनोग्लोबुलिन सेवा शुभारम्भमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले रेबिजका कारण वर्षेनी १५ जनाको मृत्यु हुने गरेको बताए ।


नेपालको ग्रामीण भेगमा बढी जसो रेबिजका बिरामी भेटिने गरेको खतिवडाले जानकारी दिए । 'नव सहरोन्मुख स्थानमा पनि रेबिज प्रभावित मानिस सम्पर्कमा आउने गरेका छन्,' उनले भने,' सहरी क्षेत्रमा कुकुरको संख्या बढिरहेको छ । रेबिजको जोखिम हिमाली क्षेत्रमा भन्दा तराईमा बढी रहेको छ ।'

मङ्सिर ५ गतेबाट देशभरको नौ ठाउँबाट रेबिजविरुद्धको खोप लगाइने मन्त्री खतिवडाले जानकारी दिए ।

उनकाअनुसार प्रदेश १ मा विराटनगरको कोशी अस्पताल, प्रदेश २ मा जनकपुर अस्पताल धनुषा, नारायणी अस्पताल वीरगंज, बागमती प्रदेशमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्‍ठान हेटौडा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा सुर्खेत अस्पताल र सुदुरपश्‍चिममा सेती प्रादेशिक अस्पताल धनगढीमा लगाइने भएको छ । तोकिएको अस्पतालमा निशुल्क पाइने उनले जानकारी दिए । जनावरले टोकेका कारण रेबिज लाग्‍ने उनको भनाइ छ । 

आगामी आर्थिक वर्षमा सबै जिल्लामा खोप सेवा बिस्तार गरिने मन्त्री खतिवडाको भनाइ छ । 'रेबिजविरुद्धको खोप लगाउन काठमाडौँ आउनुपर्ने बाध्यता हटेको छ,' उनले भने,' सबै प्रदेशमा खोप पाइन्छ । यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र रेबिजको खोप पाइन्थ्यो ।'

शुक्रराज अस्पतालको ७ वर्षे तथ्यांक अनुसार वार्षिक १५ देखि १६ जनासम्मको रेबिजको कारण मृत्यु हुने गरेको उनले जानकारी दिए । विश्‍व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्‍वबाट रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्यलाई नेपालले पनि सहयोग गर्ने उनले घोषणा गरे ।


Author

थप समाचार
x