स्वास्थ्य

महामारीमा पोषण पुनस्थापना गृहमा देखिन थाले कुपोषित बालबालिका

बागमतीमै एक वर्षमा १३ बालबालिकाको मृत्यु

अतिन आचार्य |
मंसिर ८, २०७८ १३:२८ बजे

काठमाडौँ - कोभिड महामारीका कारण केही समय मुलुक ठप्‍प भयो । सरकारले गरेको लकडाउन/निषेधाज्ञामा धेरै गतिविध अवरुद्ध भए । कोभिडले थला परेको अर्थतन्त्र विस्तारै बौरिन थालेको छ । आर्थिकबाहेक महामारीले थुप्रै क्षेत्रलाई प्रभावित गर्‍यो । धेरैले रोजगारी गुमाए । हुनेखानेहरूलाई समस्या भएन । हुँदा खानेहरूलाई छाक टार्नै मुस्‍किल पर्‍यो । जसको मारमा बालबालिका नपर्ने कुरै भएन । पोषिलो खाना परैको कुरा भयो । 

महामारीको कारण पोषण पुनस्थापना गृहमा उपचारका लागि जान पाएनन् । महामारीमा पोषिलो खाना नपाएका बालबालिकाहरू पछिल्लो समय पोषण पुनस्थापना गृहमा भर्ना हुन थालेका छन् । सरकारले डेढ दशकअघि कुपोषणका बिरामीलाई उपचार गर्न पोषण पुनस्थापना गृहको स्थापना गरेको थियो । मुलुकभरका कुपोषित बालबालिकाले कुपोषण केन्द्रबाट सेवा पाउँछन्। उनीहरूको स्वास्थ्य अवस्था बाल रोग विशेषज्ञबाट परीक्षण गरी सेवा विस्तार गरिएको थियो । वि.स २०६० बाट भेरी अस्पताल नेपालगञ्‍जबाट सुरु गरेको थियो ।


यसले पछिल्लो समय नेपालमा कुपोषण बढेको संकेत गर्छ । पोषण गृहमा बालबालिका भर्ना हुनु भनेको नेपाल कुपोषणको जोखिममा रहेको संकेत गर्छ । यही अनुपातमा पोषण गृहमा भर्ना बढ्दै गएमा थप जोखिम बढ्दै जाने चिकित्सकहरू बताउँछन् ।

मुलुकका विभिन्‍न स्थानका सरकारी अस्पतालका पोषण पुनस्थापना गृहमा अहिले पनि कुपोषित बालबालिका उपचाररत छन् । बर्सेनि बालबालिकाहरू पोषण पुनस्थापना केन्द्रमा भर्ना हुने गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा सातै प्रदेशको पोषण पुनस्थापना गृहमा करिब २ हजार बालबालिका भर्ना भए ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण महाशाखाका अनुसार देशभरका २२ वटा पोषण गृहमा १ हजार ९ सय २२ बालबालिका भर्ना भएका थिए । प्रदेश १ मा ओखलढुंगा, झापा र मोरङको विराटनगर कोशी अस्पतालमा पोषण गृह छन् ।

‌ओखलढुंगामा ३६, झापामा ९९ र कोशीमा ४२ बालबालिका भर्ना भएका थिए । पोषण गृहबाट १६९ बालबालिका डिस्चार्ज र १ सय २० बालबालिकाको सुधार भएर घर गएका थिए ।

पोषण गृहमा पाँच वर्ष तलका बालबालिका भर्ना हुने गरेका छन् । कुपोषण भएका बालबालिकालाई तीन कारणले गृहमा भर्ना हुन्छन् । उचाई र लम्बाईअनुसार तौल कम हुँदा । बाँया हातको पाखुरा ७.५ इन्च कम भएमा र शरीरको भाग सुनिएको खण्डमा भर्ना गरिन्छ ।

प्रदेश २ को पोषण पुनस्थापना गृहमा जनकपुरमा १५१, वीरगञ्‍ज १३७ र राजविराज १२३ भर्ना भएक थिए । केन्द्रमा भर्ना भएका ४११, डिस्चार्ज ४१४ र  सुधार ३८२ जनाको भएको थियो ।

प्रदेश र संघीय राजधानी भएको बागमती प्रदेशमा कुपोषणले सोही वर्षमा १३ बालबालिकाको मृत्यु भएको थियो । कान्ति अस्पताल १९२, चौतारा अस्पताल सिन्धुपाल्चोकमा २१, चितवनमा ८१ र हेटौडामा २१ र सुनाकोठी ६४ जना भर्ना भएका थिए । कूल ३८९ जना भर्ना, डिस्चार्ज ३३३ र २९४ जना बालबालिका स्वास्थ्य सुधार भएको थियो ।

त्यसैगरी गण्डकी प्रदेशको पोषण पुनस्थापना केन्द्रमा २ सय ३० जना बालबालिका भर्ना भएका थिए । जसमध्‍ये बागलुङमा सय, पर्वतमा ६१ र पोखरामा ६९ बालबालिका भर्ना भए । सोही वर्ष गृहबाट २ सय २४ जना डिस्चार्ज र २१७ जनाको सुधार भएको थियो ।

कर्णाली प्रदेशमा गत वर्षको तुलनामा केही संख्यामा कुपोषित बालबालिकाको संख्या वृद्धि भएको छ । २०७६/०७७ को आर्थिक वर्षमा प्रदेशमा १ सय ४३ जना कुपोषित बालबालिका भेटिएका थिए । यसपटक ३ सय ७० जना पोषण पुनस्थापना केन्द्रमा भर्ना भए । तीमध्ये २८१ जनाको सुधार भएको थियो ।

लुम्बिनी प्रदेशमा भने कुपोषित बालबालिका कम हुँदै गएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा १८५ जनामा कुपोषण दखिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा पोषण गृहमा १२७ जना भर्ना भएका छन् । बुटवल १०७ र भेरी अस्पताल ८० जना पोक्षण गृहमा भर्ना भए । डिस्चार्ज १७४ र १३३ जना सुधार भएक थिए ।

सुदुरपश्‍चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भन्दा कम संख्यामा कुपोषण देखिएका छन् । सो वर्ष २३४ जना बालबालिकामा कुपोषण देखिएको महाशाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा भने २१८ जना पोषणगृहमा भर्ना भएका थिए । धनगढीमा ११०,  कञ्‍चनपुर ७९ र डडेल्धुरामा २९ जना भर्ना भए ।

स्थानीय उत्पादन सेवन नगरी बजारका मिसावट खानेकुरा र पोषिलोयुक्त खाना नपाउँदा कुपोषणको जोखिम बढिरहेको छ । खानामा सन्तुलन नमिल्दा र पोषणयुक्त खाना सेवन नगर्नु कुपोषणको मुख्य कारक बनेको छ ।

पोषण गृहमा उपचार गर्न आउँदैमा कुपोषित बढ्दैनन्

शाखाका पोषण विज्ञ डा. सलिल राणाका अनुसार पोषण गृहमा भर्ना भएका बालबालिकाका आधारमा कुपोषित बालबालिका बढेको भन्‍न मिल्दैन । निम्‍न, मध्यम र अति कुपोषित जस्ता बालबालिका देखिएमा भयावह भन्‍न मिल्छ । चार चौथाइको एक चौथाइलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ । धेरै बालबालिकाले कोभिडका कारण उपचार गर्न पाएका थिएनन् ।

कुपोषणका लक्षण, मध्यम र अति कुपोषणका बालबालिकालाई पोषण गृहमा भर्ना गरी उपचार गरिने राणाले बताए । 'स्वास्थ्यमा जोखिम भएका बालबालिकालाई मात्र उपचार गरिन्छ,' उनले भने,'  काउन्सिलिङ र पोषणयुक्त खाना दिने गरिन्छ । बालबालिकाको अभिभावकलाई काउन्सिलिङ गरिन्छ ।'

हाल देशभर २२ ठाउँमा पोषण गृह छन् । सरकारले थप तीन वटा गृह थप्‍ने तयारी गरिरहेको छ । जिरी र बाजुराको पोषण गृह सञ्‍चालनमा आइसकेको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको पोषण गृह सञ्‍चालनको तयारीमा छ ।

पोषण गृहमा बालबालिकालाई दुई महिनासम्म राखिने गरेको राणाले जानकारी दिए । मुख्य कुरा बच्चाको तौललाई ध्यानमा राखी उपचार गर्ने र डिस्चार्ज गरिने उनको भनाइ छ । पोषिलोयुक्त खान नपाउनु र बारम्बार रोग देखा पर्नु कुपोषणको कारण मान्‍न सकिने उनको दाबी छ ।

कुपोषणका बढी बिरामीहरू प्रदेश २ मा देखिएको राणाले जानकारी दिए । विशेषगरी पश्‍चिम नेपालको तराईको जिल्लामा बढी बालबालिका देखिएको उनले प्रस्ट पारे ।

कोभिडले उपचार गर्न आउनेको संख्यामा कमी

लकडाउनका कारणले उपचार गर्न नपाएका कुपोषित बालबालिका उपचार गर्न आउने भेरी अस्पताल पोषण पुनस्थापना केन्द्रका स्राेत व्यक्ति (फोकल पर्सन) दामोदर खनाल बताउँछन् । उनका अनुसार कोभिडअघि वर्षमा करिब दुई सय बालबालिका उपचार गर्न आउथे । अहिले बिस्तारै उपचार गराउनेहरू आइरहेका छन् । केन्द्रमा ८ जना उपचाररत छन् ।

महामारीको त्रासले धेरै बच्चाहरू केन्द्रका सम्पर्कमा आउन नसकेको खनालको धारणा छ । 'मधेशी र थारु समुदायका बच्चाहरू उपचारका लागि आउने गरेका छन,' उनले थपे,' बालकको तुलनामा बालिकाहरू बढी उपचार गराउन आउने गरेका छन् ।' 

बाँके र आसपासका मानिसहरू बढी हुने गरेको उनले सुनाए । पाँच वर्षमुनिका बढी बालबालिका उपचारका गर्न आउछन् । थोरै संख्यामा पाँच वर्ष माथिका हुन्छन् । बच्चाहरूकाे जति चाँडो तौल वृद्धि हुन्छ त्यसैका आधारमा केन्द्रबाट डिस्चार्ज हुने गरेको उनले जानकारी दिए ।

बालबालिकालाई घरमा पाइने खाना दिइन्छ । दालभात, तरकारी, साग, अण्डा र दूधजस्ता खाद्यान्‍न परिकार दिइन्छ । बच्चाको शारीरिक अवस्था हेरेर खाना दिने गरिन्छ । केन्द्रमा भर्ना भएकाहरूलाई निशुल्क उपचार हुन्छ । अभिभावकलाई सरसफाई, स्तनपान तथा परिवार नियोजनसम्बन्धी परामर्शसमेत गरिन्छ । 

पोषण केन्द्रले हालसम्म करिब २ हजार जनालाई सेवा उपलब्ध गराइसकेको खनालले जानकारी दिए । आ.व २०७६/०७७ मा ११० जना । चालु आ.व. मा हाल सम्म ४३ जनाले सेवा लिइसकेका छन् ।

सरकारको पोषण कार्यक्रम असफल

सरकारले सञ्‍चालनमा ल्याएको पोषण कार्यक्रम असफल भएकाले दिनप्रतिदिन कुपोषणका बिरामीहरू बढ्दै गइरहेको डा. अरुणा उप्रेती बताउँछिन् । स्थानीय तहमा सामूहिक रुपमा पोषणका बारेमा परामर्श गर्न नसेकको उनको भनाइ छ ।

उनकाअनुसार कोभिड-१९ कारण अधिकांश पोषण पुनस्थापना केन्द्र भएको थियो । कुपोषितले उपचार गर्नसमेत पाएका थिएनन् । सरकारले कुपोषणबाट प्रभावित बालबालिकासँग तथ्यसहितको तथ्यांक राख्‍न सकेको छैन । मध्यम खालका कुपोषितका बिरामीहरू उपचार नपाइ पनि धेरैले मृत्युवरण गरेको अवस्था छ ।

कोभिड महामारीमा अझ बढी बालबालिका कुपोषित भएको हुन सक्ने डा. उप्रेतीले दाबी गरिन् । श्रम गरी खानेले रोजगारी पाउन सकेनन र उपचार गर्नसमेत जान पाएनन् । महामारीले पोषणगृह बन्द हुँदा बालबालिका जान सकेनन् ।

'पश्‍चिम नेपालमा कुपोषण न भनेर बालभिटाको प्रयोग गर्न दिएको छ,' उप्रेतीले भनिन्,' बालभीटा बाटामा फालिएका हुन्छन् । बालबालिकाको अभिभावकलाई मुख्यगरी परामर्श दिनुपर्छ ।'

सुर्खेतमा बनाइएको पोषण गृहमा बालबालिकालाई नराखी कर्मचारीको आवास गृह बनाइएको डा. उप्रेतीले दाबी गरिन् । पोषण गृह व्यवस्थित नबनाइएको र सरसफाइमा ध्यान नदिएको समेत उनले जानकारी दिइन् ।

 



Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार