स्वास्थ्य

भारतले कोभ्याक्समार्फत ७ लाख २५ हजार खाेप उपलब्ध गराउँदै

अतिन आचार्य |
मंसिर ९, २०७८ बिहीबार १६:१० बजे

फाइल तस्बिर

काठमाडौँ-  भारतले कोभ्याक्स मार्फत कोभिशिल्ड खोप उपलब्ध गराउने भएको छ । कोभिड-१९ विरूद्धको खोप सात लाख २५ हजार खोप ल्याइने भएको हो । खोप निर्यातको प्रतिबन्ध खुलाएपछि भारतले खोप कूटनीतिलाई निरन्तरता दिएको छ ।

त्यसैको फलस्वरूप सार्क राष्‍ट्रलाई केही समयदेखि खोप पठाउन थालेको छ । केही समययता भारतमा कोभिडको संख्या घटेकाले खोप निर्यात फुकुवा गरेको थियो । अहिले पनि त्यहाँ दैनिक हज्जाराैंको संख्यामा कोभिड संक्रमित थपिइ रहेका छन् ।


स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाको भण्डारण प्रमुख बडेबाबु थापाका अनुसार भारतले कोभ्याक्स मार्फत खोप उपलब्ध गराउन लागेको हो । 'मंसिर १३ गते करिब आठ लाख ल्याइने भएको हो,' उनले इकागजसँग भने ।

सरकारले कोभिशिल्ड खोप खरिद पहल गरे पनि खरिदको खोप अहिले आउने पक्कापक्की भइनसकेको थापाले बताए । कोभ्याक्स कार्यक्रम मार्फत खोप ल्याइने भएको छ । खोप अभियान कार्यक्रमअन्तर्गत सबैलाई खोप लगाउने कार्यक्रम तय भएको छ । लक्षित जनसंख्यालाई खोप पुर्‍याउँने उदेश्यले सबलाई खोप लगाइदिने कार्यक्रम रहेको उनको भनाइ छ । खोप लगाउने कार्यक्रमको तय परिवार कल्याण महाशाखाले गर्ने छ । सबैले खोप पाउने गरी मिति सार्वजनिक गर्ने थापाले जानकारी दिए ।

पछिल्लो समय सरकारले खोप कार्यक्रमलाई तीव्र रूपमा निरन्ता दिएको छ । उपत्यकाको मुख्य-मुख्य चार वटा चोकमा एक महिनासम्म खोप कार्यक्रम जारी छ । काठमाडौँ प्रवेश र बाहिरीनेलाई कोटेश्‍वर, बल्खु, बसपार्क र कलंकी चोकबाट खोप लगाइदिदै आएको छ ।

हालसम्म कोभिडविरूद्धको पहिलो र दोस्रो मात्रा गरेर १ करोड ७३ लाख ४३ हजार ६ सय ३९ जनाले खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार यो समाचार तयार पार्दासम्म ९२ लाख ८४ हजार ३ सय ३७ जनाले तथा दोस्रो मात्रा ८० लाख ५९ हजार ३ सय २ जनाले खोप लगाइसकेका छन् ।

नेपालमा पहिलोपटक गत वर्षको माघको पहिलो सातादेखि भारतले अनुदान स्वरूप उपलब्ध गराएको कोभिसिल्ड खोप लगाउन थालिएको थियो । अनुदानमा १० लाख कोभिसिल्ड र कोभ्याक्स मार्फत करिब चार खोप उलब्ध गराएको थियो । सुरूवातीमा फ्रन्टलाइनरमा काम गरेका स्वास्थ्यकर्मी, सफाइकर्मी र ज्येष्‍ठ नागरिकलाई खोप लगाइएको थियो । पछि सरकारले उमेर समूह वर्गीकरण गरी खोप लगाउन थालेको थियो ।

फाईजर खोप दीर्घरोगी १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उपलब्ध गराइएको छ । बाँकी रहेको खोप थोरै संख्यामा १२ वर्षमाथिका बालबालिकालाई पनि उपलब्ध गराएको छ । परिवार कल्याण महाशाखाले गर्भवती भएको तीन महिना पुगेकालाई पनि खोप दिने निर्णय गरेको छ । यसअघि उच्च जोखिममा रहेका गर्भवती महिलालाई खोप उपलब्ध गराउँदै आएको थियो ।

खरिद गरेर पनि २० लाख खोप उपलब्ध गराइसकेको छ । पहिलो चरमणमा १० लाख खोप उपलब्ध गराएको थियो । पहिलो चरणमा उपलब्ध गराएको करिब ९ महिनामा खरिद गरेको १० लाख खोप पठाएको थियो । भारतले कोभिड संक्रमितको संख्या बढेको भन्दै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । अक्टोबरदेखि निर्यात प्रतिबन्ध खुलाएको थियो ।

नेपालले विभिन्‍न मुलुकबाट अनुदानबाट कोभिडविरूद्धको खोप प्राप्‍त गरिसकेको छ । चीन, एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्सअन्तर्गत अनुदानमा प्राप्‍त गरिसकेको छ । चीनले हालसम्म सबैभन्दा बढी खोप अनुदानमा उपलब्ध गराइसकेको छ । खरिद गरेर पनि चीनले बढी खोप नेपाललाई निर्यात गरिसकेको छ । चीन,अमेरिका, भुटान, बेलायत, माल्दिभ्स, जापान लगायतका मुलुकबाट खोप आयात भइसकेका छन् ।  


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x