स्वास्थ्य

बढ्दै छ जोखिम

ओमीक्रोन भेरियन्ट नियन्त्रण गर्न नेपालमा लगाइएको खोप कत्तिकाे प्रभावकारी छ ?

'सबै खोपले काेभिडका सबै भेरियन्टका लागि काम नगर्न सक्छ'

अतिन आचार्य |
मंसिर १२, २०७८ आइतबार १७:५४ बजे

काठमाडौँ- अफ्रिकी मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरस देखिएपछि नेपालमा पुनः सन्त्रास फैलिएको छ । कतिपय मुलुकले ओमीक्रोनभाइरस देखिएका मुलुकलाई उडानमा प्रतिबन्ध गरिसकेको छ ।  छिमेकी भारतमा पनि यसका संक्रमितहरू भेटिएका छन् । 

यसअघि तीव्र रुपमा फैलिएको डेल्टा भेरियन्टको संक्रमण नेपाल लगायत विभिन्‍न मुलुकमा कम हुँदै गएका छन् । तर अन्य भेरियन्ट देखा पर्दा पुनः त्रासको वातावरण सिर्जना भएको र जोखिम बढन् थालेको जनस्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् । अल्फा र डेल्टा जस्ता भेरियन्ट देखा परिसकेका र तिनिहरू तीव्ररुपमा फैलिएका थिए ।


कोभिडको जोखिम रहेको समयमा खोप लगाउने कार्य पनि अघि बढिरहेको छ । नेपाल लगायत संसारभर खोप अभियान सुरुवात भएपछि मृत्युदरमासमेत कमी आएको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा खोप कार्यक्रमले तीव्रता पाएपछि मृत्युदरमा कमी आएको छ । काेभिडकाे जाेखिम कम भएसँगै मानिसहरूकाे आवागमन र आर्थिक गतिविधि विस्तार हुन थालेकाे  थियाे । 

कोभिडको दोस्रो लहरको सुरुवातीमा दैनिक करिब दुई सय मानिसको मृत्यु भएको थियो । अहिले भने मृत्युदरमा कमी आएको छ । अहिले पनि दैनिक तीन सय संक्रमित थपिने गरेका छन् ।

खोपकै कारण मानिसको जनजीवन सामान्य गइरहेको समयमा ओमीक्रोनले के र कसो गर्ला भनी सर्वसाधारणमा सन्त्रास फैलाएको छ । अहिले देखिएको ओमीक्रोनले जनजीवनलाई कतिको प्रभाव पार्छ त ? खोप लगाएकालाई ओमीक्रोनको कस्तो असर गर्छ ?

अफ्रिका लगायत विभिन्‍न मुलुकमा देखिएको ओमीक्रोनले सबैलाई प्रभावित पार्न सक्‍ने भाइरोलोजिष्‍ट डा.लुना भट्ट बताउँछिन् । कोभिडको नयाँ परिवर्तित भरियन्टले भाइरसलाई मानिसको जनजीवनलाई असर गर्न सकिने उनको भनाइ छ ।

उनका अनुसार मुख्यगरी जहाँ-जहाँ ओमीक्रोनदेखिएका छन् त्यस्ता मुलुकबाट नेपाल प्रवेश गर्न सक्छन् । पछिल्लो समय मानिसहरूको गतिविधि बढदै गएकाले यसको प्रभाव पर्न सक्ने भट्टले औंल्याइन् ।

विभिन्न मुलुकले भेरियन्टको स्वरुप अनुसार खोपको निर्माण गर्न थालिसकेको भट्टले जानकारी दिइन् । 'नयाँ भेरियन्ट देखा पर्दा र भाइरसको स्वरुपअनुसार खोप निर्माण नहुँदा खोपले काम नगर्न पनि सक्छ,' उनले भनिन्,' नेपालमा लगाइरहेको खोपले काम पनि नगर्न सक्छ ।'

समयमा सचेतता अपनाउन सकिएन भने पुनः संक्रमण फैलन सक्ने भट्टले चेतावनी दिइन् । जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । सामाजिक दूरी पालना र मास्कको अनिवार्य प्रयोग हुनुपर्छ ।

हालसालै संसारभर प्रचलनमा आएका केही खोपहरू पहिले देखिएका भाइरसका लागि निर्माण गरिएको हुनाले ओमिक्रोनलाई काम गर्न नसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए ।

'निश्‍चित सममयमा देखिएका भाइरसका लागि खोप निर्माण गरिएकाले थप देखा परेका भाइरसका लागि खोप प्रभावकारी नहुन पनि सक्छ,' उनले भने । अरुबेला पनि यस्तो भाइरस देखा पर्ने गरेकाले यसले स्वरुप परिवर्तन गरिरहने उनको भनाइ छ ।

'विदेशबाट आएका मानिसलाई क्‍वारेन्टीनमा राख्‍नुपर्छ,' उनी भन्छन,' ट्रान्जिट मुलुक भएर आउनेलाई अझ बढी निगरानीमा राख्‍नुपर्छ ।' कोभिडबाट सुरक्षित रहन मुख्यगरी सामाजिक दूरी कायम गरी खोप लगाउने कार्यलाई तिव्रता दिन उनले आग्रह गरे ।

सरकारसँग सबै नागरिकलाई उनले बुष्‍टर डोज लगाउन डा. राजभण्डारीले आग्रह गरे । नयाँ भेरियन्टलाई लक्षित गरी खोपलाई तीव्रता दिन उनले सुझाव दिए ।

खोपविज्ञ डा. जीवनबहादुर शेरचनका अनुसार नयाँ भेरियन्ट आउदा लगाएको खोपले काम गर्न नसक्छ । भेरियन्ट शरीरमा समायोजन हुन नसक्दा प्रभाव पार्न नसक्ने हुन्छ । स्वरूप फेरिएर आएका हुनाले पनि यसको प्रभावकारीता नहुन सक्छ ।

अहिले लगाइरहेको खोपले नयाँ भेरियन्टलाई काम गर्न सक्नेगरी नबनाएको हुन सक्ने उनले बताए । खोप लगाएका संक्रमितलाई गम्भीर अवस्थामा पुग्‍न नदिने उनको भनाइ छ ।

अफ्रिका लगायतका मुलुकबाट हुने चार्टर्ड लगायत उडान तथा विभिन्न ट्रान्जिट भएर आउने यात्रुलाई प्रतिबन्ध गर्न शेरचनले सुझाव दिए । केही समयलाई स्थगित गरी विदेशबाट आएका मानिसलाई क्‍वारेन्टीन गर्नुपर्ने उनले अडान राखे । यसलाई नियन्त्रण गर्नलाई मुख्य गरी स्वास्थ्यको मापदण्ड अपनाउन उनले सुझाव दिए । नेपालमा ओमीक्रोन भाइरस फैलिएमा बालबालिका र ज्येष्‍ठ नागरिक प्रभावित हुन सक्ने उनले प्रस्ट पारे । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x