स्वास्थ्य

यात्रा प्रतिबन्ध मात्र समाधान होइनः विश्व स्वास्थ्य संगठन

इकागज |
मंसिर १५, २०७८ बुधबार १२:६ बजे

काठमाडौँ - हालै अफ्रिकामा देखिएको  कोभिड-१९ भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिडको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी यसअघि पनि विश्व स्वास्थ्य संगठनले दिँदै आएको थियो ।

 यो भेरियन्ट अफ्रिकामा देखिएको भनेपछि सो भाइरसको नियन्त्रणका लागि विश्वका कतिपय देशहरुले अफ्रिकी देशहरुसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टले विश्वका केही क्षेत्रमा नराम्रो प्रकारले असर गर्न सक्ने र गम्भीर परिणामहरू निम्त्याउन सक्ने भन्दै यसबाट बच्नका लागि जन स्वास्थ्यका मापदण्डहरु अपनाउन बताउँदै आएको छ ।


विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस आधनाम गेब्राएससले यो नयाँ प्रजातिबाट बच्नका लागि पनि विश्वका देशहरुलाई स्वास्थ्यका मापदण्डहरु अपनाउन आग्रह गर्नुभएको हो । उहाँले गरिब देशहरूमा खोपको व्यवस्था गर्न, सबै नागरिकमा खोप सर्वसुलभ बनाउन पनि माग गर्नुभयो । यो नयाँ भेरियन्ट यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । रासस


Author

थप समाचार
x