स्वास्थ्य

पहिलोपटक नेपाल भित्रिएको मोर्डना खोप क-कसले पाउँछन् ?

खोप लगाउने मिति चाँडै सार्वजनिक गरिने

इकागज |
मंसिर १७, २०७८ शुक्रवार २०:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- पहिलोपटक मोर्डना खोप नेपालमा भित्रिएको छ । शुक्रबार मध्यान्ह कतार एयरवेज मार्फत १ लाख ८८ हजार ४ सय मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत खोपभण्डार केन्द्रका अनुसार प्रमुख बडेबाबु थापाका अनुसार युनिसेफ मार्फत खोप ल्याइएको हो । 'कोभ्याक्स अन्तर्गत खोप ल्याइएको हुन सक्छ । कुन देशले दिएको त्यसबारेमा डकुमेन्टमा उल्लेख गरिएको छैन,' उनले भने।

टेकु खोप भण्डारणकेन्द्रमा उक्त खोप राखिएको छ । माइनस १५ देखि ५० डिग्रीको तापक्रममा राखिएको थापाले जानकारी दिए । केन्द्रकै फ्रिजमा खोप राखिएको पर्याप्त भण्डार क्षमता रहेको उनले बताए ।


त्यसैगरी मोर्डना खोप बालबालिकालाई लगाउने तयारी भइरहेको परिवार कल्याण महाशाखाका डा. सागर दाहालले बताए । उनकाअनुसार १२ देखि १७ वर्ष उमेर समूहकाले पाउँछन् । 'कहिले देखि लगाउने भनेर निर्णय भएको छैन,' उनले भने,'खोप लगाउने मिति चाँडै सार्वजनिक गर्नेछौ ।'

मोर्डना खोप दुई डोज लगाउनुपर्ने दाहालको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्ममा नेपालमा हालसम्म १ करोड ८८ लाख ६२ हजार २ सय १६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा १ करोड २ लाख ४८ हजार ३ सय ६९ र दोस्रो मात्रा ८६ लाख १३ हजार ८ सय ४७ जनाले खोप लगाइसकेका छन् ।

सरकारले भारतसँग कोभिसिल्ड र  चीनबाट भेरोसेल खोप मात्र खरिद गरेको छ । एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्स अन्तर्गत अनुदानमा प्राप्त गरेको छ । यसअघि एक लाख फाइजर मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइसकेको छ  । 

पछिल्लो समय सरकारले खोप अभियानलाई तीव्रता दिएको छ । दीर्घ रोगी र थोरै संख्यामा बालबालिकाले फाईजर खोप लगाइसकेका छन् । नेपालमा गत वर्षको माघ महिनादेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको हो । 

 

 

 


Author

थप समाचार
x