स्वास्थ्य

दैनिक दुई लाखलाई काेभिडविरुद्धकाे खोप लगाइने

इकागज |
मंसिर १८, २०७८ शनिबार १६:२५ बजे

काठमाडौँ - सरकारले दैनिक दुई लाख जनालाई काेभिड भाइरसविरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक  खोप, खोप केन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि  खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को मंसिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रूपमा कोभिड-१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो  । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । 


‘अहिले पनि करिव दुई लाख जनाका हाराहारीमा खोप लगाइरहेका छौं,’ उनले भने, ‘खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाई फर्काएका छैनौं खोपकेन्द्रमा आएका सबैलाई खोप लगाएका छौं ।’ उनका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुर्‍याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘हामीसँग प्रसस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन्,’ सहप्रवक्ता डा. अधिकारीले भने, ‘खोप लगाउन कोही पनि नछुटुन भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौं ।’

उनले सर्वसाधारणमा कोभिड-१९विरुद्धको खोप पुर्‍याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए । उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । उनकाअनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५ सय ३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ । अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २ सय १६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३ सय ६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८ सय ४७ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् ।

कूल जनसंख्यामध्ये ३३।७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाइ र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ । शुक्रबार (हिजो)मात्र मंसिर १७ गते एक लाख ७५ हजार ५ सय ६७ जनाले खोप लगाएका थिए । यस्तै मंसिर १० गते  एक लाख ९६ हजार ८ सय ५३ जनाले मंसिर ११ गते एक लाख १५ हजार ४ सय ३४, मंसिर १२ गते एक लाख २७ हजार ६ सय ११ जनाले, मंसिर १३ गते एक लाख ४४ हजार ५ सय ३४ जनाले, मंसिर १४ गते  दुई लाख ११ हजार ५ सय ५३ जनाले, मंसिर १५ गते दुई लाख २७ हजार ५ सय ८४ जनाले र मंसिर १६ गते एक लाख ४१ हजार ५ सय ५७ जनाले खोप लगाइसकेका छन् । 

काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले नौ वटा खोप केन्द्रबाट खोप वितरण गरेको छ । कार्यालयका प्रमुख शम्भु काफ्लेकाअनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, कलंकीस्थित सहिद मेमोरियल अस्पताल, बल्खुको वयोधा अस्पताल, नयाँ बसपार्कको लोत्से भवन र कोटेश्वरको जडीबुटीबाट नियमित खोप वितरण गरिरहेको छ । ती केन्द्रबाट दैनिक दुई हजार ५ सय जनाले खोप लगाइरहेका छन् । उनले १८ वर्ष भन्दामाथिका व्यक्तिलाई खोप अभाव नभएको र जुनुसुकै बेला पनि ती खोप केन्द्रमा खोप लगाउन पाइने बताए । उनले नगरपालिकाले आवश्यकताअनुसार खोप प्रदान गरिरहेको जानकारी दिए ।  

मोडर्ना र फाइजर चाँडै आउँदै

सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ । मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।  

सरकारले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंसिर १३ को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । भारतमा शुक्रबार मात्र ओमिक्रोन भेरियन्ट फेला परेको जनाइएको छ ।  


Author

थप समाचार
x