स्वास्थ्य

दुई करोड खोप मौज्दात छ : स्वास्थ्यमन्त्री खतिवडा

इकागज |
मंसिर १८, २०७८ शनिबार २१:१० बजे

काभ्रे - स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले काेभिड भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताएका छन् । उनले दोस्रो मात्रा लगाइसकेका सबैलाई  तेस्रो खोप लगाउन आग्रह गरे । 

नेकपा एकीकृत समाजवादी रोशी गाउँपालिका-६ को वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन् । मन्त्री खतिवडाले नेपालमा काेभिड संक्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए । ‘काेभिडको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला,’ उनले भने ।


मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए । ‘खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु,’ उनले भने ।

मन्त्री खतिवडाले फरक प्रसंगमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी शक्ति एक भएर अघि बढ्ने बताए । ‘एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौं,’ उनले भने । एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उनको भनाइ छ ।


Author

थप समाचार
x