स्वास्थ्य

सरकारले कोभिडको ओमीक्रोन भेरियन्ट पत्ता लगाउन जिन सिक्‍वेन्सिङ सुरु गर्‍यो

इकागज |
मंसिर १९, २०७८ आइतबार १४:८ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले कोभिड-१९ को ओमीक्रोन भेरियन्ट परीक्षणको लागि जिन सिक्वेन्सिङ परीक्षण गर्न थालेको छ । दक्षिण अफ्रिकामा केही दिनअघि देखिएको ओमीक्रोन ३० भन्दा बढी मुलुकमा देखिइसकेको छ ।

हालसम्म नेपालमा ओमीक्रोन देखिएको छैन । सातै प्रदेशबाट स्याम्पल संकलन गरी परीक्षण गरिरहेको राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रका सूचना अधिकारी राजेश गुप्‍ताले जानकारी दिए ।


मुलुकमै एक महिनादेखि जिन सिक्वेन्सिङ सुरु भइसकेको छ । 'शंकास्पद व्यक्ति र विदेशबाट आएकाहरूको परीक्षण भइरहेको छ,' गुप्‍ताले भने । एक सातामा सम्पूर्ण स्याम्पलको परीक्षणको रिजल्ट आउने उनले जानकारी दिए ।

परीक्षण गरिसकेपछि त्यसको रिजल्ट स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउने प्रयोगशालाले जनाएको छ । नेपालमा अल्फा र डेल्टा भेरियन्ट देखिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम हुने सक्ने बताएको छ ।

यो भाइरस डेल्टा भेरिएन्टभन्दा १० गुणा बढी तीव्र रुपमा फैलन सक्ने विज्ञहरूले बताएका छन् । कोभिडविरुद्धको खोप लगाइसकेका मानिस पनि ओमिक्रोनबाट संक्रमित भइरहेका छन् ।

त्यसैगरी सरकारले अतिआवश्यक कामबाहेक विदेश भ्रमणमा नजानलाई आग्रह गरिसकेको छ । कोभिड-१९ को ओमीक्रोन भेरियन्टलाई लक्षित गरी विदेश भ्रमण नगर्न र सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरिसकेको छ ।

ओमीक्रोन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका मानिसहरूलाई असर पार्ने देखिएको मन्त्रालयले जनाइसकेको छ । संक्रमण रोक्न सबै जिम्मेवार बनी जनस्वास्थ्यका मानपदण्डहरू पालना गर्नुपर्छ । कोभिडविरुद्धको खोप पायक पर्ने ठाउँमा गएर खोप लगाउनलाई अनुरोध गरेको छ ।

अफ्रिकी मुलुकमा देखा परेको ओमीक्रोन भेरियन्ट (B.1.1.529) एसियाका भारत लगायत एसियन मुलुकमा देखा परिसकेको छ । विश्‍व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई विश्‍वव्यापी भेरियन्ट अफ कन्सर्नको रुपमा घोषणा गरिसकेको छ ।


Author

थप समाचार
x