स्वास्थ्य

मोर्डना खोप गाउँमा, सहरका बालबालिकालाई फाइजर खोप

अतिन आचार्य |
मंसिर १९, २०७८ आइतबार १९:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले कोभिडविरुद्धको मोर्डना खोप ग्रामीण भेगको बालबालिकालाई उपलब्ध गराउने भएको छ । ग्रामीण भेगका बालबालिका खोपबाट पूर्णरुपमा बञ्‍चित भएकाले मोर्डना खोप वितरण गर्न लागेको हो । बालबालिकालाई विद्यालयबाटै खोप पाउने भएका छन् ।

नेपालमा खोप लगाउन सुरु गरेको एक वर्ष पुग्‍नै लाग्दा ग्रामिण भेगका बालबालिकालाई खोप पाउन लागेका छन् । सबैभन्दा बढी जोखिम रहेको भन्दै सुरुवातीमा ज्येष्‍ठ नागरिकलाई खोप दिएको थियो । अधिकांश नागरिकले पहिलो मात्रा खोप पाउँन थालेपछि सरकारले बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।


स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा.सागरकुमार दाहालकाअनुसार खोप सबैलाई पुर्‍याउने लक्ष्यसहित बालबालिकालाई प्राथमिकतामा राखिएको हो । 'मोर्डना खोप गाउँ-गाउँमा लगेर लगाइन्छ,' उनले भने,' फाइजर खोप सहर केन्द्रित गरी खोप लगाइन्छ ।'

लक्ष्यअनुरुप सबैलाई खोप पुर्‍याइने योजना रहेको उनले बताए । निश्‍चित क्षेत्र वा प्रदेश तोकेर खोप लगाइने भएको दाहालले प्रष्ट पारे । महाशाखाले १0२ देखि १७ वर्ष उमेर समूहकालाई लगाउने तयारी गरेका छन्  । 'कहिले देखि लगाउने भनेर निर्णय भएको छैन,' उनले भने,'खोप लगाउने मिति चाँडै सार्वजनिक गर्नेछौं ।' मोर्डना खोप दुई डोज लगाउनुपर्ने उनको भनाइ छ । 

पुस महिनासम्ममा लक्ष्य अनुरुप दुईतिहाइलाई खोप लगाइने दाहालको भनाइ छ । दिनप्रतिदिन खोप लगाउनेको संख्या बढिरहको उनले दाबी गरे । खोपको मात्रा पूरा गरेकालाई खोपको थप मात्रा दिने योजना रहेको उनको भनाइ छ ।

सबै खोप लगाइसकेकालाई थप खोप दिन छलफल चलाइरहेको दाहालको भनाइ । धेरैभन्दा धेरै मानिसलाई खोप दिएर मात्र थप खोप उपलब्ध गराउन सक्ने उनले ईकागजलाई जानकारी दिए । शुक्रबार कतार एयरवेजमार्फत १ लाख ८८ हजार ४ सय मात्रा मोर्डना खोप नेपाल ल्याइएको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुसार आइतरबारसम्ममा नेपालमा हालसम्म १ करोड ९० लाख ५० हजार ८ सय ३४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा १ करोड ३ लाख ५२ हजार ८ सय ४५ र दोस्रो मात्रा ८६ लाख ९७ हजार ९ सय ८९ जनाले खोप लगाइसकेका छन् ।

गत वर्षको माघको पहिलो सातादेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । सरकारले भारतसँग कोभिसिल्ड र चीनबाट भेरोसेल खोप मात्र खरिद गरेको छ । एस्ट्राजेनेका, मोर्डना र जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्सअन्तर्गत अनुदानमा प्राप्त गरेको छ । यसअघि एक लाख फाइजर मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइसकेको छ  । 

पछिल्लो समय सरकारले खोप अभियानलाई तीव्रता दिएको छ । दीर्घ रोगी र थोरै संख्यामा बालबालिकाले फाइजर खोप लगाइसकेका छन् । नेपालमा गत वर्षको माघ महिनादेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको हो । 

यो पनि : पहिलोपटक नेपाल भित्रिएको मोर्डना खोप क-कसले पाउँछन् ? 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x