स्वास्थ्य

जनचाहना बमोजिम कोभिड-१९ को उपचारमा शुल्क लिने निर्णय भएको हो  : स्वास्थ्यमन्त्री

इकागज |
कात्तिक ४, २०७७ मंगलबार २०:५ बजे

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र माग अनुसार कोभिड-१९ का संक्रमितको उपचार गरेवापत शुल्क लिने निर्णय भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा भिडियो सन्देश दिदै मन्त्री ढकालले आफ्नै खर्चमा कोभिडको उपचार गर्न चाहनेहरूका लागि सशुल्क उपचारको व्यवस्था गरिएको बताएका छन् । 
 
‘निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्ने व्यक्तिहरुका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यो कदम चालिएको हो,’ भिडियो सन्देशमा मन्त्री ढकालले भनेका छन्, ‘आफ्नै खर्चबाट परीक्षण तथा उपचार गर्न सक्ने र चाहने व्यक्तिका लागि सशुल्क सेवा प्राप्त गर्ने सहज अवसर उपलब्ध गराइएको छ ।’

सरकारले कार्तिक २ गतेबाट लागू हुनेगरि आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने निर्णय भएको थियो ।


निर्णयको आलोचनापश्‍चात ढकालले नेपाल सरकार नागरिकको संवैधानिक हक र सम्मानीत अदालतको फैसलाप्रति थप संवेदनशील रहेको छ बताएका छन् । ‘कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले लिएका निर्णयहरू नेपालको संविधान र प्रचलित कानूनका व्यवस्थाको अधिनमा रही निदान तथा उपचारको कार्यविधिहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ,’ उनले भनेका छन् । 


Author

थप समाचार
x