स्वास्थ्य

नेपालमा घट्दाे क्रममा रहेकाे काेभिड संक्रमण फेरि किन बढ्याे ?

'विदेशबाट आएकालाई अनिवार्य क्‍वारेन्टाइनको व्यवस्था गरौ'

अतिन आचार्य |
पुस १८, २०७८ आइतबार १६:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा केही महिनायता निरन्तर दैनिक दुई सय भन्दा बढी कोभिड-१९ संक्रमित देखा परिरहेका छन् । सात महिनाअघिको तुलनामा संक्रमितको संख्या न्यून रहेपनि कोभिडको जोखिम भने टरेको छैन ।

पछिल्लो समय नेपाल लगायत ६० भन्दा बढी देशमा ओमिक्रोन भेरियन्ट फैलिइसकेको छ । यसको लक्षण बढी देखा नपरे पनि तीव्र रुपमा फैलने गरेको विज्ञहरूले बताएका छन् ।


मुलुकमा विभिन्‍न राजनीतिक दलको महाधिवेशन जस्ता कार्यकर्ता परिचालन कार्यक्रम, चाडपर्व, सभा र सेमिनारमा मानिसको उपस्थिति बढिरहेको छ । सहरी क्षेत्रमा क्रिसमस र नयाँ इश्वी संवत् मान्‍ने मानिसको जमघट बढ्‍यो । सार्वजनिक यातायातमा यात्राको क्रममा मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा कोभिडको झन जोखिम बढिरहेको छ ।

भारत लगायत जाेखिमयुक्त मुलुकबाट नेपाल प्रवेश गरेका मानिसहरू क्‍वारेन्टीनमा बसेका छैनन् । कोभिड पिसीआर नेगेटीभको रिपोर्ट लिएर सहजै प्रवेश पाउने गरेका छन् । सरकारले बनाएको क्‍वारेन्टीनमा बस्‍नुपर्ने नियमलाई बेवास्ता गर्दा सीधा घरमा वा बाहिर होटलमा बस्‍ने गरेका छन् ।

अधिकांश मानिसहरूले स्वास्थ्य सम्बन्धी प्राेटाेकल पालना गर्न छाडिसकेका छन् । कतिपयले बजारमा निस्कँदा सामाजिक दूरी कायम गर्दैनन् । दैनिक उपभोग्य सामग्री खरिद गर्दा मास्क लगाउँदैनन् । कोभिडविरुद्धको खोप लगाएकाले मानिसमा आत्मविश्‍वास जागेको हुन सक्छ । कोभिडले पहिलेको जस्तो मृत्यु नभए पनि दैनिक २ देखि ४ जनाको मृत्यु भइरहेको छ ।

केही महिना यता खोपले निरन्तरता पाइरहेका छन् । खोप अभियान सुरुवात भए पछि मृत्युदर ह्वात्तै घटेको छ । तर, यो साता मात्र संक्रमितको दर उकालो लागिरहेको छ । शनिबार मात्र हिजो तीन सय ८२ संक्रमित थपिए । खोपले निरन्ततरता पाइरहे पनि एक्कासी संक्रमित बढेको छ । खोप लगाउँदा पनि आखिर संक्रमितको संख्या बढ्यो ?

भिडले जोखिम निम्त्यायो

विद्यालय, सार्वजनिक यातायात र सभा सम्मेलनमा मानिसहरूको भिडभाड बढनुले राम्रो संकेत नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक सागरकुमार राजभण्डारी बताउँछन् ।

'सार्वजनिक स्थानमा भिडभाड बढ्नु‍ले कोभिडलाई पुनः निम्त्याउने जोखिम बढ्दै गएको छ,'उनले भने,'  विदेशबाट आएका मानिसहरू सहजै आवतजावत भइरहेका छन् । परीक्षण दायरा बढानुपर्छ । कडाइका साथ क्‍वारेन्टीनमा राखिनुपर्छ ।'

गाउँघरका मानिसले सामाजिक दूरी कायम गर्दैनन् र ओहोर-दोहोर बढी हुने भएकाले कोभिड सर्ने बढी जोखिम बढिरहेको उनले बताए । अहिलेको ओमिक्रोनको जोखिम रहेकाले मुख्य-मुख्य नाकामा कडाई क्‍वारेन्टीन बसाइलाई कडाइ गरिनुपर्ने उनको भनाइ छ ।

संक्रमितहरूको सम्पर्कमा रहेकाहरूको प्रभावकारी रुपमा कन्ट्रयाक ट्रेसिङ नभइरहेको उनले बताए । 'दैनिक देशभर १ हजार मानिस कन्ट्रयाक्ट ट्रेसिङमा पर्ने गरेका छन,' राजभण्डारीले भने,' परीक्षणको दायरा बढाउनु पर्छ । लक्षण देखिएमा परीक्षण गर्ने र नदेखिएमा आइसोलेशनमा बस्नुपर्छ ।'

भारतमा काम गर्न गएका मानिसहरू फर्किरहेका छन् । भारतमा दैनिक ओमिक्रोन दुई हजारको हाराहारीमा देखिन थालेका छन् । काम गरेर फर्केका मानिसहरू ग्रामीण भेगमा पुग्‍ने भएकाले कोभिडको जोखिम वृद्धि हुने राजभण्डारीको भनाइ छ । सबैलाई सामाजिक दूरी कायम गरी मास्क लगाउन उनले सुझाव दिए ।

कन्ट्रयाक्ट​ ट्रेसिङ पर्याप्‍त भएन

मुलुकमा दैनिक संक्रमित बढ्दै गइरहेकाले जोखिम बढ्ने महामारी विज्ञ डा. अर्चना श्रेष्‍ठले बताइन् । परीक्षणको दायरा घटेकाले परीक्षण संख्या बढाउनलाई श्रेष्‍ठले सुझाव दिइन् ।

काेभिडको दोस्रो लहरको मध्यतिर दैनिक २० हजारको हाराहारीमा परीक्षण हुन्थ्यो । अहिले १० हजार पनि पुगेको छैन । संक्रमितको पहिचान गरी आइशाेलेशनमा राख्‍नुपर्छ । धेरै भन्दा धेरैको कन्ट्रयाक्ट ट्रेसिङमा गरिनुपर्ने उनले बताइन् ।

संख्यात्मक हिसाबले संक्रमितको संख्या घटेपनि जोखिम नटरेको श्रेष्ठले बताइन् । सार्वजनिक स्थानमा बढी भीडभाड बढेकाले पनि संक्रमण फैलने उच्च जोखिम रहेको उनको भनाइ छ ।

'पहिलो र दोस्रो ठाउँमा संक्रमणले प्रभाव नपारेको ठाउँबाट कोभिडको तेश्राे लहर भित्रिन सक्छ,' उनले भनिन,' खोपलाई प्राथमकितामा राखिनुपर्छ । सबै नागरिकले खोप पाइसकेपछि मात्र बुष्टर डोज लगाउन सुरु गर्नुपर्छ ।'

'कोभिड नियन्त्रणमा कडाइ नीति'

खुला गरिएका धेरै स्थानमा कोभिड नियन्त्रण गर्न कडा नीति अवलम्बन गर्नुपर्ने भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीको भनाइ छ । संक्रमणदरको संख्या दैनिक दुई सयमा झर्नसाथ नियन्त्रणमा आएको भनेर उत्साहित नहुनुपर्ने उनको भनाइ छ । नयाँ भेरियन्टको जोखिम पनि बढिरहेको उनले बताए ।

'कोभिडविरुद्ध प्रभावकारी कदम चाल्न निषेधाज्ञाको क्षेत्र तोकेर अति आवश्यक क्षेत्रलाई खुला गरिनुपर्छ,' डा. मरासिनीले भन्छन, 'काम गरी खानेलाई सहज वातावरण बनाएर अन्य क्षेत्रमा कडाइ गरिनुपर्छ ।'

परीक्षणको दायरा बढाएर आइसोलेट गर्न डा.मरासिनीले सुझाव दिए । नेपालभित्र लामो दूरीको यात्रा गर्दा कोभिड परीक्षण गरेर जानुपर्ने उनको भनाइ छ । परीक्षण नगरी जाने प्रवृत्तिले ग्रामीण भेगमा संक्रमण फैलन त्रास बढिरहेको उनको भनाइ छ । भाइरोलोजिस्ट मरासिनीले राजनीतिक दलको गतिविधि नियन्त्रण गर्न नसक्दा र खोप केन्द्रमा भीड हुँदा कोभिड फैलने सक्ने आशंका व्यक्त गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x