स्वास्थ्य

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन

किर्ते आरोपी उपकुलपतिले मुद्दा हालेपछि उपचार छाडेर अदालत धाउँदै डाक्टरहरू

सिनेट बैठक नबस्दा पदाधिकारीको मनपरी

अतिन आचार्य |
पुस २३, २०७८ शुक्रबार ५:५३ बजे

काठमाडौँ-  'भुइँ मानिस उपचार गर्ने र पढ्न आउने वीपी कोइराला स्वास्थ्य विज्ञानमा प्रतिष्‍ठानमा राजनीतिको नाममा लाजनीति भयो ।' यी आवाज कुनै बिरामी र पदाधिकारीको होइन् । प्रतिष्‍ठानमा कार्यरत चिकित्सकको भनाइ हुन्, जसले प्रतिष्‍ठानमा भइरहेको विकृित विसंगति विरुद्ध निरन्तर आवाज उठाइरहेका छन् । 

प्रतिष्‍ठानमा कार्यरत स्वास्थ्यकर्मीहरूले आशा भन्दा बढी निराशा पोखिरहेका छन् । चिकित्सकले प्रतिष्‍ठानलाई आफ्नो प्राज्ञिक जन्मथलोको रुपमा मानेका छन्। स्वास्थ्य संस्थामा प्राज्ञिकता र विशेषज्ञताका आधारमा नभइ राजनीतिको नाममा टीका लगाएर पदाधिकारी नियुक्त हुँदा अधिकांश प्रतिष्‍ठान धराशायी हुने अवस्थामा पुगिसकेको छ ।  मुलुकका अन्य सार्वजनिक संस्थानले प्रतिष्‍ठानले जस्तै नियति भोग्‍नुनपरोस भन्‍ने उनीहरूको माग छ ।


'प्रतिष्‍ठानमा औषधि होइन, पानी पाइन्छ'

प्रतिष्‍ठानमा चिकित्सकहरूले गरेको आन्दोलन भएको २ सय १४ दिन पुगिसक्दा पनि सरकारले समस्या सम्बोधनका लागि कुनै तदारुकता नदेखाएका कारण डा. सुर्यप्रसाद रिमालले जनता र जनप्रतिनिधिलेसमेत उपचार पाउनै गाह्रो भैसकेको बताए । उपचार गर्न पर्याप्‍त आवश्यक मेसिनरी सामग्री नभएको नहुँदा पनि सरकार गम्भीर नभएको उनको आरोप छ ।  गम्भीर चोट लागेका बिरामी आएमा बाहिर जिल्लाका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको डा. रिमालले सुनाए ।

'प्रतिष्‍ठान औषधि बिक्री गर्नुपर्ने ठाउँमा पानी बिक्री गरेर बसेको छ,'डा. रिमाल भन्छन्,'बिरामी र बिरामीका आफन्तले अस्पतालदेखि पाँच सय किमी बाहिर गएर औषधि किन्‍नुपर्ने बाध्यता छ ।' कोभिड महामारीको समयमा खरिद गरिएका कतिपय स्वास्थ्य उपकरणहरू सञ्चालनमा ल्याउन नसकेकोमा उनले गुनासो गरे ।

अदक्ष पदाधिकारीले प्रतिष्‍ठानलाई धराशायी बनाइरहेको चिकित्सकले आरोप लगाएका छन् । प्रतिष्‍ठानमा व्यवस्थापन, आवश्यक स्वास्थ्य सामग्री, औषधि र जनशक्ति छैनन् ।

गैह्रजिम्मेवार पदाधिकारीका कारण प्रतिष्‍ठान सुधार्न कठिन बनिरहेको रिमालको भनाइ छ । आन्दोलनरत पक्षको कुरा नसुन्ने र उल्टै विभिन्‍न आरोप लगाइ चिकित्सकमाथि मुद्दा लगाइरहेको उनले बताए । 'बिरामीको सेवा गर्नुपर्ने चिकित्सकहरू तारिखका लागि अदालत परिसरमा देखिनु राज्य कमजोर रहेको प्रमाणित हुन्छ,' उनले भने । 

प्रतिष्‍ठानमा आन्दोलन गरेको र स्वास्थ्य संस्था जस्तो अतिआवश्यकीय क्षेत्रमा हडताल गरेको भन्दै चिकित्सक माथि मुद्दा लगाइएको छ । अदालतको अवहेलना गरेको आरोपमा केही चिकित्सकहरू तारिख धाउन काठमाडौँ आएका हुन् ।

'स्वास्थ्य र शिक्षा क्षेत्रमा समस्या भएमा फास्ट ट्रयाकबाट समाधान खोजौ'

प्रतिष्‍ठान शुद्धिकरण अभियानमा सुरुवातीदेखि सक्रिय रुपमा खटिएका अर्का चिकित्सक डा. विष्‍णु पोख्रेलले सिनेटको बैठक बारम्बार बस्‍न आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

प्रतिष्‍ठानका पदाधिकारी विभिन्न भ्रष्टाचार आरोपमा मुछिएका छन् । भवन निर्माणदेखि खरिद प्रक्रियमासमेत प्रत्यक्ष रुपमा भ्रष्टाचारमा संलग्न भएको आरोप छ । वर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरी को शैक्षिक योग्यता र अनुभवका सम्बन्धमा नै बारम्बार प्रश्न उठेका छन् । उनीमाथि किर्ते गरेको आरोप छ । गिरीले आफू प्राध्यापक भएको पुष्‍टि गर्न सकेका छैनन् । आन्दोलनरत चिकित्सकलाई उनले मादक पदार्थ सेवन गरी दूर्व्यवहार समेत गरेका थिए ।

प्रतिष्‍ठानको सिनेट बैठकले मात्र पदाधिकारीलाई बर्खास्त गर्न सक्ने उनले जानकारी दिए । सिनेटको बैठक बोलाउनमा मुख्य भूमिका कुलपतिको हुन्छ । कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा छन् । सरकारकै कारण बीपी प्रतिष्‍ठान दिनप्रतिदिन धराशायी बनिरहको पोख्रेलले बताए ।

प्रतिष्‍ठानलाई वैधानिक तरिकाले सञ्चालन गर्न सिनेट बैठक गर्न उनले माग गरे । अब बस्ने सिनेटको बैठकले गर्ने निर्णयलाई स्वीकार्ने उनको भनाइ छ । पदाधिकारी छनौट गर्न विज्ञहरूको समूह बनाएर कार्यान्वयनमा ल्याउनलाई उनले माग गरे ।

शिक्षा र स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्रमा भ्रष्‍टाचार बढेमा निवारणका उपाय पनि सरकारले खोज्नुपर्ने उनले बताए । भ्रष्‍टाचारको गन्ध आएमा अदालत र अख्तियारले फास्ट ट्रयाकबाट समाधान गर्नुपर्ने उनको भनाइ छ ।

'चिकित्सकबाट गल्ती भएमा कारबाही भोग्‍न तयार छौ'

चिकित्सकबाट गल्ती भएको छ भने त्यस्तालाई कारबाही गर्न अर्का चिकित्सक वसन्त गेलालले माग गरेका छन् । उनी भन्छन,' हामी खराब छौ भने कारबाही गरौ । प्रतिष्‍ठान भित्र गल्ती गर्ने पदाधिकारीदेखि कर्मचारी कसैलाई पनि छुट हुनुहुदैन ।'

राजनीतिक दलको सदस्यता लिएका प्रतिष्‍ठानमा कार्यरत कर्मचारीलाई कारबाही गर्न उनले माग गरेका छन् । काम गर्ने ठाउँमा राजनीतिको गन्ध आउन नहुने उनले प्रस्‍ट पारे । 'अतिराजनीतिकरणकै कारण संस्थाहरू बिग्रेका हुन्,' उनले भने ।

प्रतिष्‍ठानमा भएको भ्रष्‍टाचार तथा बेथितिलाई सुधार गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मी, विद्यार्थी र कर्मचारीले विभिन्न माध्यमबाट आन्दोलन गरिरहेका छन् । गत असार १ गतेबाट प्रतिष्‍ठानमा आन्दोलन शुरु भएको थियो ।

अदालतको अपहेलना गरेको आरोपमा प्रतिष्‍ठानका पाँच जना चिकित्सकहरूले तारिख धाइरहेका छन् । डा. विष्‍णु पोख्रेल, डा. एसपी रिमाल, बसन्त गेलाल, असिसटेन्स प्रोफेसर रीता पोख्रेल र अर्का चिकित्सक विद्यार्थी पनि छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x