स्वास्थ्य

बजारमा पारासिटामोलको अभाव

अतिन आचार्य |
पुस २७, २०७८ मंगलबार १२:४१ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा 'पारा सिटामोल'को अभाव भएको छ । कोभिड-१९ संक्रमण बढिरहेका बेला बजारमा अतिआवश्यक औषधि पारासिटामोलको अभाव भएको हो । 

ललितपुरस्थित बागडोल एक फार्मेसी सञ्चालकका अनुसार दुई सातादेखि औषधि पसलमा पारा सिटामोलको अभाव भएको छ । उत्पादनकर्ता र होलसेलमा समेत पारासिटामोल नपाइएको उनले गुनासो गरे । 'पारासिटामोल खोज्न आउने बिरामीलाई रित्तो हात फर्काउनु परिरहेको छ,' उनले भने,' कुनै पनि बिरामीलाई बढी औषधि बिक्री गरिरहेका छैनौ ।' पारासिटामोलको खोज्दै दैनिक १५-२० बिरामी आउने उनले जानकारी दिए । 


नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले पनि बजारमा पारासिटामोल अभाव रहेको बताए । तर, पारासिटामोलबाहेक अन्य औषधिको भने अभाव नभएको उनको भनाइ छ । कोभिडको त्रासले धेरै मानिसले खरिद गरी घरमा राखेका कारण सिटामोल अभाव भएको हुन सक्ने उनको अनुमान छ ।

'पारासिटामोलको सरकारले मूल्य निर्धारण गरेको छैन,' उनले भने,' अन्तर्राष्‍ट्रिय बजारमा पारा सिटामोलको कच्‍चा पदार्थको मूल्य वृद्धि भएको छ । तर, पारासिटामोलको २१ वर्षदेखि मूल्य समायोन हुन सकेको छैन ।' सरकारले मूल्य समायोजन नगरेका कारण बजारमा औषधि अभाव भएको उनले बताए।

सरकारले वैज्ञानिक मूल्य निर्धारण गर्न नसक्दासम्म सहजै पारासिटामोल उपलब्ध हुन नसक्‍ने उनको भनाइ छ । महँगो मूल्यमा कच्‍चा पदार्थ खरिद गरेर औषधि उत्पादन गर्न सक्ने अवस्था नरहेको आचार्यले बताए ।

दुई दशकअघि तोकिएको मूल्य जबसम्म समायोजन हुँदैन तबसम्म बिरामीले सहजरूपले पारासिटामोल पाउने अवस्था नरहने उनले बताए । औषधि व्यवस्था विभागलाई विभिन्न समयमा मूल्य समायोजनका लागि आग्रह गर्दा पनि बेवास्ता गरेको उनले गुनासो गरे । भारतमा १ रुपैयाँ ६० पैसामा पाइने सिटामोल नेपालमा १ रुपैयाँमा पाइने गरेको उनले बताए । महँगोमा खरिद गरेर सस्तोमा बिक्री गर्नु परिरहेको आचार्यले सुनाए ।

'विज्ञहरूसँग छलफल गरी मूल्य बढाउँछौ'

महामारीको समयमा पारासिटामोलदेखि अन्यत औषधि अभाव हुन नदिन औषधि आयातकर्ता र उत्पादककर्तासँग छलफल गरिरहेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । सरकारले लामो समयसम्म पारासिटामोलको मूल्य वृद्धि नगरेकाले पनि व्यवसायी र उत्पादककर्ताले कृतिम अभाव गरेको हुन सक्‍ने उनले बताए ।

औषधिको कच्चा पदार्थको अन्तर्राष्‍ट्रिय मूल्य वृद्धि भएकाले नेपालमा उत्पादन गर्दा महँगो पर्न गइरहेको उनले बताए । व्यवसायीहरूले मूल्य अभिवृद्धिको माग गरिरहेको उनले जानकारी दिए । महामारीको समयमा मूल्य वृद्धि गर्दा गलत सन्देश जाने भएकाले अहिले वृद्धि गर्न पक्षमा नरहेको उनको भनाइ छ ।

'विज्ञहरूसँग छलफल गरी मूल्य समायोज गरिन्छ,' केसीले भने,' दुई-तीन महिना भित्रमा मूल्य वृद्धि गरिन्छ ।' उनले औषधि खरिद गरी घरमा राख्दा पनि बजारमा औषधि अभाव हुन सक्ने र घर-घरमा मौज्दात नगर्न सर्वसाधारणलाई आग्रह गरे ।

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x