स्वास्थ्य

डा. यादवले पाए बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको जिम्मेवारी

गिरिले गिराएको साख फर्काउन चुनौती

इकागज |
पुस ३०, २०७८ शुक्रबार २०:५० बजे

काठमाडौँ- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका १२औं तहका कर्मचारी डा. श्यामबाबु यादवले पाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानका विवादित उपकुलपति डा.ज्ञानेन्द्र गिरिको स्थानमा यादवलाई तदर्थ जिम्मेवारी दिएको एक मन्त्रीले इकागजलाई जानकारी दिए ।  

डा.यादवले आफ्नो जागिरे जीवन सिन्धुली जिल्ला अस्पतालबाट सुरु गरेका थिए । अस्पतालमा उनले ४-५ महिना मात्र काम गरेका थिए । उनीसँग त्रिवि शिक्षण अस्पतालमा काम गरेको अनुभवसमेत छ ।


लोकसेवा पास गरेपछि यादवले कान्ति बाल अस्पतालमा दुई पटकसम्म काम गरे । मन्त्रालयले उनलाई एक महिनाअघि प्रतिष्ठानको जिम्मेवारी सम्हाल्‍न प्रस्ताव गरेको थियो । ५९ वर्षीय यादव यसअघि आठौँ तहका कर्मचारी थिए । बाँकेको भेरी अस्पतालमा २३ वर्षसम्म काम गरे । केही महिनाअघि मात्र १२ औँ तहमा बढुवा भएपछि  उनी मन्त्रालय आएका थिए ।

भेरी अस्पतालमा यादव दुई पटकसम्म मेडिकल सुपरीटेन्डेन भएका थिए । उनको जन्म धनुषाको लक्षुमनिया गाउँपालिकामा भएको हो । अब प्रतिष्‍ठानमा लामोसमयसम्म विवादित रहेका गिरिको जिम्मेवारी खोसिएको छ ।  गिरिको शैक्षिक योग्यता र अनुभवका सम्बन्धमा नै बारम्बार प्रश्न उठिरहेको थियो ।

गिरिमाथि किर्ते प्रमाणपत्र पेश गरेको आरोप छ । गिरिले आफू प्राध्यापक भएको पुष्‍टि गर्न सकेका छैनन् । प्रतिष्ठा‍नमा आन्दोलनरत चिकित्सकहरूलाई उनले मादक पदार्थ सेवन गरी दूर्व्यवहारसमेत गरेका थिए ।


Author

थप समाचार
x