स्वास्थ्य

सुदूरपश्चिममा थप २८३ जनामा कोभिड सङ्क्रमण, एकको मृत्यु

इकागज |
माघ १, २०७८ शनिवार १९:१२ बजे

बैतडी - सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन थप २८३ जनामा कोभिड सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४२९ जनाको नमूना परीक्षण गर्दा २८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पीसीआरमार्फत १२६ र एन्टिजेनमार्फत १५७ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १०४, महाकाली अस्पतालमा १४, बाजुरा जिल्ला अस्पतालमा आठ र एन्टिजेनमार्फत कैलालीका १०३, कञ्चनपुरका ४५, दार्चुला पाँच र बैतडीका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन् ।


उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–५ का ५३ वर्षीया सङ्क्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि शुक्रबार यस प्रदेशमा ३८३ जनामा सङ्क्रमण पुष्टि हुँदा १० जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१५ जनाको ज्यान गइसकेको छ । रासस


Author

थप समाचार
x