स्वास्थ्य

'अस्पतालहरूमा संक्रमित भरिन थालेमा मात्र लकडाउन गर्नुपर्छ'

अतिन आचार्य |
माघ २, २०७८ १४:४९ बजे

सबै तस्बिरः अनुज बज्राचार्य

मुलुकमा दिनप्रतिदिन कोभिड-१९ संक्रमण दर उकालो लागिरहेको छ । ओमिक्रोन भेरियन्ट देखापरेसँगै एकपटक कोभिड संक्रमितको संख्याले त्रास पैदा गरेको छ । संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । १० गुणा बढी संख्याले संक्रमण वृद्धि भइरहँदा मुलुकले पुनः मानवीय क्षति व्यहोर्ने त होइन भन्‍ने शंका पनि उब्जिएको छ । सँगसँगै सकरकाले खोप वितरणलाई पनि तीव्रता दिएको छ । दैनिक चार हजार माथि संक्रमण फैलिरहेको अवस्थामा यसले कस्तो असर गर्छ, सरकारले के गरिरहेको छ ? यी र यस्तै जिज्ञासा मेट्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र पाटन स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा आवद्ध संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानी: 

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट देखिएपछि दैनिक संक्रमितको संख्या बढिरहेको छ । के अब कोभिडको तेश्रो लहर सुरु भएको हो ?


यसअघि हामीले कोभिडको दुवै लहर भोगिसकेका छौ । पछिल्लो केही महिनायता संक्रमणदर घटेर गएकै हो । दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा थियो । गत हप्तादेखि ह्वात्त बढेर तीन सयबाट बढेर दैनिक पाँच हजारसम्म पुगिसकेको छ । १० गुणा भन्दा बढीको संख्यामा संक्रमण फैलिरहेको छ । अरु देशको तुलनामा हेर्दा जसरी संक्रमण बढ्दै गएको छ ; जस्तै,  अफ्रिका, अमेरिका र भारतमा बढेको छ,  जुन किसिमले बढेको छ त्यसलाई विश्‍लेषण गर्दा नयाँ भेरियन्टले तेस्रो लहर ल्याएको मान्न सकिन्छ ।

पहिलो र दोस्रो लहर भोगेको नेपालले तेश्रो लहरसँग जुध्न कत्तिको तयारी गरेको पाउनुभएको छ ?

अहिलेको अवस्थालाई दुई तरिकाले हेर्न सकिन्छ – पहिलेको डेल्टा भाइरस एकदमै तीव्र रुपमा फैलनेछ भनिन्थ्यो । ओमिक्रोन भने त्यो भन्दा चार गुणा बढी फैलनेछ । यो भाइरसको स्वभाव ह्वात्तै बढेर जाने खालको छ । सबैले लापरवाही र कम सर्तकता अपनाएका छौं अर्थात जनस्वास्थ्य मापदन्ड पालना भएको छैन । सुरुमा पनि कोभिडलाई जित्यौं भनेर हेलचेक्र्याइँ गर्दा डेल्टा बढेको थियो । दोस्रो लहरपछि मास्क पनि नलगाइ भीडभाड गर्न थालेपछि संक्रमण फेरि बढेको हो । ओमिक्रोन देखापरेपछि सरकारले खुला सीमा र विमानस्थलमा कडाइँ गरेको जस्तो थियो तर, सोचे अनुरुप प्रभावकारीता अपनाउन नसकेको परिणाम हाम्रोसामु विद्यमान छ ।

कोभिड नियन्त्रण प्रभावकारी हुन नसक्नुमा को बढी देषी छन्नागरिक वा सरकार ?

राज्य र नागरिक दुवैले कोभिडलाई विजय प्राप्त गरेजस्तो ठानेका थिए । पहिलो र दोस्रो लहरमा सरकारले कोभिडलाई परास्त गरेको जस्ता घोषणाहरू सार्वजनिक भइरहे । हामीलाई केही गर्दैन, नेपालीको रोग प्रतिरोधी क्षमता बलियो छ । हाम्रो खानेकुरामा प्रयोग हुने बेसार, मसलाको कारण रोग प्रतिरोधी क्षमता बलियो भएको भन्नेजस्ता कुराहरू सरकारमा बसेका मानिसले भनिरहे । डेल्टा भेरियन्ट आउँदा पनि तेस्रो लहर आउने प्रक्षेपण गरिएको थियो । मानवीय स्वभाव हो, उनीहरू पीडालाई बिर्सेर बस्न थाले । कहिलेसम्म डराएर बस्ने भन्दै धेरै मानिस भएका ठाउँमा २-३ सय संक्रमित देखिनुलाई नागरिकले सामान्य जस्तो पनि गरे ।

फेरि सबै कुरा सरकारको नियन्त्रणमा मात्र हुँदैन । उसले जनस्वास्थ्य मापदण्ड पालन गर्न नागरिकलाई आह्वान गर्न सक्छ, खोप वितरण गर्न सक्छ । तर नागरकिले होस नगरेसम्म संक्रमण वृद्धि भइरहन्छ । दैनिक २-३ सय देख्दा बेवास्ता गर्थे र अहिले ४-५ हजार वृद्धि हुँदा पनि गम्भीरता देखिदैंन । तर,  यथार्थ के हो भने सरकार र नागरिक दुवैले बुद्धिमत्तापूर्वक होस गरेनन् कि जस्तो छ । अहिले देखा परेको भाइरस एक जनाबाट सात जनासम्म सर्न सक्ने भएकाले पहिलो जिम्मेवारी स्वयं नागरिकले लिनुपर्नेछ । सरकारले सबैभन्दा महत्त्वपूर्ण काम यसपटक खोपलाई निरन्तरता दिइरहेको छ ।

सुन्दा सरल प्रश्न लाग्ला तर, दैनिक संक्रमण बढिरहनुको कारण के होला जस्तो लाग्छ ?

संक्रमण बढनुमा मुख्य दुई कारण छन् – पहिलो,  भाइरस छिटो सर्ने खालको छ । दोस्रो,  भीडभाड बढिरहेको छ । अन्य कारणमा धेरैले खोप लगाइसकेका छन् । खोपले मृत्यु र आइसीयूमा पुग्नबाट जोगायो तर खोपले कोभिड सर्नबाट सुरक्षित राख्‍न सकेन । किनभने खोप लगाएकालाई पनि संक्रमण देखा परेको छ,  लक्षण देखा परेर रुघाखोकीसते लाग्दोरहेछ ।

समुदायमा संक्रमण त फैलिसक्यो भन्नुभयो नियन्त्रणका प्रभावकारी उपायहरू पनि होलान नि ?

सुरुमा यो कसरी सर्छ भन्ने कुरा बुझ्नुपर्छ । व्यक्ति–व्यक्तिबीच एकअर्काबाट नै सर्ने गर्छ । व्यक्ति-व्यक्तिको सम्पर्क टुटाउने हो । यसले चेन ब्रेकिङको काम गर्छ । तर, मानिस सम्पर्कबाट टाढा जाने भन्ने कुरा पनि रहेन । जनस्वास्थ्यका मापदण्ड पालना गर्ने,  मास्क लगाउने  र सामाजिक दूरी कायम गर्ने हो भने नियन्त्रण सम्भव छ ।

यहाँको अध्ययनमा ओमिक्रोन वा डेल्टा कुन भेरियन्ट बढी खतरनाक छन्?

भाइरसको कुरा गर्ने हो डेल्टाले संक्रमितलाई गाह्रो–साह्रो बनाउने गरेको छ । किनभने यसले सीधा फोक्सोमा गएर श्वासप्रश्वास प्रक्रियामा असर गर्छ । गम्भीर भएर आइसीयूमा राख्दा पनि धेरैको मृत्यु पनि भएको छ । ओमिक्रोन श्वासप्रश्वासको माथिल्लो भागमा मात्र लाग्ने हुनाले रुघामर्की मात्र लाग्छ । जीउ र टाउको दुखाएर बिरामी बनाउन सक्छ । यसको मृत्युदर कम छ तर डेल्टाभन्दा यो चाँडो फैलन्छ ।

अध्ययनले ओमिक्रोन कति समयसम्म रहने देखाएको छ?

विभिन्‍न देशको तथ्यांकलाई हेर्दा छिटो आएर छिटो जाने रहेछ । ६ हप्तादेखि ८ हप्तासम्म पिकमा पुगेर घट्ने गरेको छ ।

शरीरको कुन भागमा असर गर्छ ?

नाकबाट सुरु भएर घाटीमा र अन्त्यमा श्वासप्रश्वासको नलीमा असर गर्ने देखिएको छ । रुघाखोकी जस्तो हुन्छ यसलाई बेवास्ता गर्‍यो भने निमोनिया पनि हुन सक्छ ।

खुला सीमाकै कारण भारतबाट नेपालमा ओमिक्रोन भित्रियो भन्ने छ । सिमाना आसपासमा क्वारेन्टाइन छैनन् । अहिले पनि भारतबाट मानिसहरू गाउँ फर्किरहेका छन् । परीक्षण पनि नगरी गएका छन भन्ने छ यसले त नियन्त्रणभन्दा बाहिर जाने हुँदन र?

सीमा नाकाबाट संक्रमण फैलियो भन्नलाई पनि धेरै ढिलो भइसकेको छ । सुरुमा परीक्षण गरिनुपर्थ्यो । ओमिक्रोन भारत हुँदै वा प्लेनमार्फत नेपालमा प्रवेश गरेको हो यसै भन्न सकिने अवस्था छैन । देशभित्रबाट ओमिक्रोन फैलिएको छ । २०-२३ प्रतिशत संक्रमण देखिनुले ओमिक्रोन समुदायमा पुगिसकेको छ । देशव्यापी रुपमा संक्रमित बढ्न थालेकाले समुदायमा ओमिक्रोन पुगिसक्यो ।

दुई वर्षदेखि मुलुकले महामारी भोगिरहेको छ । महामारी पुनः देखापर्न सक्छ भनेर विभिन्न भेरियन्टले पुष्‍टि गरिसक्दा पनि नियन्त्रण गर्न सरकार किन पूर्वतयारी गर्न सक्दैन?

नियन्त्रण प्रयासका लागि छलफल भइरहेको छ । कसरी रोक्ने त्यस्ता विषयमा छलफल मात्र हुन्छ तर प्रभावकारी कदम कहिले चालिएको छैन । डेल्टा खुला सीमाकै कारण प्रवेश गर्‍यो । सीमामा हेल्थ डेस्क राखियो तर बढी ओहोरदोहोर हुने भएकाले व्यवहारिक रुपमा सम्भव नभएको भनियो । हेल्थ डेस्क नभएका ठाउँबाट मानिसहरू प्रवेश गर्न सक्छन त्यस्ता कारणले गर्दा असम्भव हुने गरेको छ । औपचारिक ‌नाकालाई प्रयोग नगरी अन्य नाकालाई प्रयोग गरेका छन् । यसले समस्या ल्याइरहेको छ ।

उपत्यकाका तीनै जिल्लामा देशका अन्य भागमा भन्दा धेरै संक्रमित यहीँ छन् । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा संक्रमण रोक्न के गर्नुपर्छ होला ?

लकडाउन गर्ने कि नगर्ने विषयमा विवाद छ । लकडाउन गर्दा जीवनयापन गर्न गाह्रो हुन्छ । ओमिक्रोन देखा पर्नुभन्दा धेरै मानिसलाई संक्रमण भइसकेको छ । तर, अहिले भने धेरै मानिसले खोप पाइसकेका छन् । खोप लगाए पछि लकडाउन गर्नुपर्ने अवस्था नआओस, संक्रमण भए पनि लक्षण देखा नपरोस र आपतकालीन अवस्था नआएसम्म लकडाउन गर्नुहुँदैन । यसपटक म आफैँ लकडाउन गर्नु हुँदैन भन्ने पक्षमा छु । अस्पताल संक्रमित भरिन थाल्यो भनेचाहीँ लकडाउन गर्नुपर्छ ।

पहिलो र दोस्रो लहरमा पनि दैनिक २० हजार जनाको मात्र परीक्षण भएको थियो । अहिले पनि परीक्षणको संख्या बढ्न सकिरहेको छैन । परीक्षणको संख्या बढाएर संक्रमितको पहिचान गरी आइसोलेट गरेमा संक्रमण फैलिन कम हुन्थ्यो कि ?

कोभिडको कुरामा छिटो परीक्षण गरेर आइसोलेट भएमा अरुमा सर्दैन । अरुलाई सुरक्षित राख्‍ने माध्यम यही हो । हाम्रो मुलुकमा निजि तथा सरकारी प्रयोगशाला गरी सय भन्दा बढी प्रयोगशालाले परीक्षण गर्छन् । यद्यपि  सरकारले २ वर्षसम्ममा पनि २० हजार भन्दा  बढीको परीक्षण गर्न सक्ने क्षमताको विकास गर्न नसक्नुमा गैह्रजिम्मेवारीपन जस्तै हो । मूल्य मँहगो र दक्ष जनशक्ति नभएकाले समस्या ज्यूँकात्यूँ छन् । एन्टीजेन्ट परीक्षणलाई बढाएर भए पनि परीक्षण दर बढानुपर्ने हो तर किन सरकारले तीव्र रुपमा परीक्षण गर्न सकिरहेको छैन ।

महामारीको समयमा विभिन्‍न राजनीतिक दलले महाधिवेशन गरे । महाधिवेशनमा सहभागी भएकाहरू संक्रमित भए । यस्ता सभा सम्मेलन नगर्नका लागि जनस्वास्थ्यविदले सचेत गराउनुपर्ने होइन र ?

भीडभाड गर्नुहुदैन भनेर हामी जस्ता धेरै भन्दै आएका हौं । सरकारमा सहभागी दलले समेत अधिवेशन गरे । सरकार आफैँ जिम्मेवार जस्तो देखिएनन् । जसले नगर भनेर सचेत गराउनु पर्ने हो उनीहरूले महामारीमा बाटो बिराए जस्तो भएका छन् । नेतृत्वले महामारीमा अभिभावकको भूमिका ग्रहण गर्नुपर्थ्यो । आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्न देशका विभिन्न स्थानबाट हजारौं मानिसहरू भेला पारे। राजनीतिक दलको गतिविधिले जोखिम बढाएकै हो । मानिसहरू आए गए यसले गाउँ वा सहरमा फैलाउन पक्कै पनि सहयोग गरेकै छ । यसमा राजनीतिक दलका नेतृत्वले जिम्मेवारी लिनैपर्छ ।

संक्रमण फैलिरहेको छ लाग्छ सरकारको उपस्थित शून्य छ । फेरि खोप वितरण कार्यले तीव्रता पाइरहेकै छ । भीडभाड उत्तिकै छ सरकारको केही कार्यक्रमले गर्दा मुलुकमा संक्रमण बढिरहेको जस्तो देखिएन र?

स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहन्छ– कोभिड नियन्त्रण गर्न सबै जिम्मेवारी बनौं भनेर । भीडभाड नगरौं आदि इत्यादि तर, सरकारले जसरी भनिरहेको छ त्यसरी कार्यक्रम भएको छ कि छैन? सार्वजनिक स्थानमा भीडभाड नगर्नु भनेको छ त्यसको नियमन कसले गर्ने त खै कहाँ छ?  होटलमा भीडभाड नगर्नू भनेको छ तर त्यसलाई अनुगमन कसैले गरेको देखिदैन । खोप लगाउने ठाउँमा सामाजिक दूरी कायम छैन त्यहाँबाट सर्न सक्छ । खोप लगाउँदा कम्तीमा तीन फिटको दूरीमा लाइन बस्नुपर्छ । ओमिक्रोन त ५-६ फिटसम्म जान सक्ने भनेर बताइएको छ । त्यसलाई निरीक्षण गर्ने निकाय नहुँदा सरकारविहिन जस्तो भएको छ ।

खोपको प्रभावकारीताको कुरा गरौ न । खोप लगाएका मानिसहरू संक्रमित भएर अस्पताल भर्ना भएका छन्, कसरी यस्तो भयो ?

नेपालमा खोप लगाएका ठाउँबाट संक्रमित भएर आएका छन् । खोप लगाउने ठाउँबाट भीडभाड हुँदा एकअर्कामा कोभिड सर्ने सम्भावना भयो । यो दूर्भाग्यपूर्ण कुरा हो । खोपले २-४ हप्तापछि मात्र सुरक्षा प्रदान गर्छ । भेरोसेलको हकमा चार हप्ता र कोभिशिल्डले भने तीन महिनापछि मात्र काम गर्न सक्ने जस्ता आधार बाहिर आएका छन् । डेल्टा भाइरस देखिएको समयमा एउटा खोप लगाएकाहरु अस्पताल भर्ना भएका थिए र दोस्रो खोप लगाएकाहरू धेरै कम मात्रा अस्पताल भर्ना भएका थिए ।

अहिले उपलब्ध खोपले कोभिडका नयाँ-नयाँ भेरियन्टलाई कतिको असर गर्छ?

नेपालमा पाँच वटा खोप उपलब्ध छन् । भेरोसेल बाहेक अन्य सबै खोपको अनुसन्धान भइसकेको छ । डेल्टा देखिदाँसम्म भेरोसेल र अष्‍ट्राजेनिकाले उस्तै-उस्तै देखिएको थियो । दुईवटा खोप लगाइसकेकालाई ५० प्रतिशत मानिसलाई संक्रमण हुँदैन र संक्रमण भए पनि सामान्य लक्षण देखिन्छ । ज्वरो र रुघाखोकी देखिए पनि अस्पताल भर्ना भएर गम्भीर बनाउँदैन । तेस्रो खोप लगाइसकेकालाई संक्रमण हुन दिंदैन ।

खोप लगाएका मानिसहरू संक्रमित हुनुले खोप अन्तिम विकल्प रहेनछ भनेर बुझ्दा भयो ?

खोप प्रभावकारी नभएको होइन । कतिपय रोगलाई खोपले विजय हासिल गरेको छ । मिजस, स्मल पक्सलाई त्यस्ताको विरुद्ध खोप लगाएमा दोस्रो पटक रोग लाग्दैन थियो । यसमा भने लक्षण नदेखाउने, मृत्यु हुनबाट बचाउने र तर, खोपले कोभिड लाग्नबाट सुरक्षित प्रदान गर्दैन । भाइरस परिवर्तन हुने भएकाले यसले चाँडै आक्रमण गर्न सक्छ ।

पहिलो लहरमा ज्येष्‍ठ नागरिक प्रभावित भए । डेल्टाले सबै उमेर समूहकालाई पार्‍यो । ओमिक्रोनले कुन उमेर समूहका मानिसलाई बढी प्रभाव पार्ने देखिएको छ ?

ओमिक्रोनले खोप लगाएका देखि नलगाएका सबैलाई असर गरिरहेको छ । भाइरसले सबैभन्दा बढी प्रभाव पार्ने भनेको दीर्घ रोगी र ज्येष्‍ठ नागरिकलाई नै हो । बालबालिका देखि ५० वर्ष मुनिकाहरू यसबाट पीडित बनेका छन् ।

फ्रन्टलाइनरलाई आजदेखि अतिरिक्त खोप दिने भनिएको छ । केहीले पहिलो मात्रासमेत पाएका छैनन् । समान वितरण नभएको सुनिरहँदा यस्तो अभियान कतिको न्यायसंगत मान्न सकिन्छ?

फ्रन्टलाइनरको रुपमा काम गर्ने दिनुलाई सकरात्मक कुरा हो । स्वास्थ्यकर्मी, दीर्घ रोगी, ज्येष्‍ठ नागरिकलाई दिनु एकदमै राम्रो कुरा हो तर, अहिलेसम्म पाउँदै नपाएकालाई पनि छुटाउनु हुँदैन । पुस मसान्तसम्म राम्रै संख्यालाई दिइएको छ । पूरा मात्रा ५० प्रतिशतले पाइसकेका छन् ।

बुस्टर डोजले 'रोग प्रतिरोधी क्षमता' कम हुन्छ  भन्ने कुराहरू आइरहेका छन् । कति पटकसम्म बुस्टर डोज लिँदा राम्रो हुन्छ ?

अहिलेसम्मको अध्ययनले तेस्रो खोपले राम्रो हुने देखिएको छ । पहिलो र दोस्रो लगाएको ६ महिनापछि तेस्रो खोप लगाउँदा राम्रो हुने विभिन्न अनुसन्धानलेसमेत देखाएको छ । एन्टीबडी घट्दै गएकालाई तेस्रो खोपले २० गुणा बढाइदिदों रहेछ । कोभिडबाट सुरक्षित राख्‍न एन्टीबडी विकास हुने गर्छ । तेस्रो खोपले इम्यून बुस्ट गर्छ भनेर अनुसन्धान भइसकेको छ । यसमा आत्तिनुपर्ने कारण छैन । विज्ञ भएको नाताले पनि तेस्रो खोपसम्म लगाउन सिफारिस गर्छु । तेस्रोले इम्यून बढाउँछ ।

तपाईलाई नेपाल जस्तो देशले खोप छिटो पाए जस्तो लाग्दैन ?

विकसित मुलुकले बनाएको नेपालले कूटनीतिक सम्बन्धकै कारणले पाएको हो । खोप अभाव भएको समयमा पाउनु एकदम राम्रो हो । थाइल्याण्ड जस्तो विकसित मुलुकभन्दा अघि नेपालले खोप पाएको थियो । यो सरकारको सुदृढ कूटनीतिक सम्बन्धको उपज पनि हो ।
केही मुलुकले नेपाललाई माया गरेर पनि सहयोग गरे । नेपालको खोप अभियानमा चीनले धेरै सहयोग गरेको छ ।

कोभिड फैलिरहँदा सरकारले गरिरहेको गतिविधिलाई कसरी हेरिरहनु भएको छ ?

ओमिक्रोन बढेपछि विमानस्थलदेखि सीमा नाकासम्म कडाइँ गरेको भन्ने बुझेको छु । अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । खोपको मात्रा बढाएको छ । दैनिक २ लाखले पाउनेमा पाँच लाखलाई पुर्‍याउने भने पनि अहिलेसम्म साढे ३ लाखलाई लगाएको छ । बच्चादेखि अन्य मानिसलाई खोप लगाउन थालेको छ । दीर्घ रोगीलाई बुस्टर दिने भएको छ । यी गतिविधिलाई उचित मान्नुपर्छ ।

मुलुकले कोभिडको दोस्रो लहरसम्म आइपुग्दा स्वास्थ्य सामग्रीदेखि जनशक्तिको अभाव भएको सास्ती खेपेको थियो । अहिले भने सरकारले पुरानो जस्तोँ समस्या नरहेको दाबी गर्दै आएको छ । सरकारको भनाइमा कतिको साँचो छ?

विगतको तुलनामा अस्पतालले केही मात्रामा सुधार गरेका छन् । अक्सिजन प्लान्ट, सिलिण्डर, शैय्या र अन्य संरचनाको समेत विकास गरेको छ । वीर अस्पतालले छुट्टै कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । बिरामीले पहिलेजस्तो बेड र अक्सिजन नपाउने स्थिति नहोला । जनशक्तिको भने अवश्य केही कमी छन् । आइसीयू र भेन्टीलेटर चलाउने जनशक्ति अझै पनि कम छन् ।

मानवअधिकारसम्बन्धी विश्वव्यापी प्रतिवेदनकामा राज्यको असफलताले दोस्रो लहरमा धेरै मानिसको मृत्यु भयो भनिएको छ । नेपाललाई किन यस्तो आरोप लाग्यो ?

दोस्रो लहरमा कोभिडलाई कम आँक्ने काम सरकारबाट भयो । पहिलो लहरमा मृत्यु थोरै र कमै मानिसमा संक्रमण देख्दा कोभिडमाथि विजय प्राप्त गर्‍यो भन्ने सरकारलाई लागेको थियो । यो कुरा सरकारको आत्मविश्वासले देखाउँदा तयारी अपनाउन केही ढिला भयो । सल्लाह सुझाव दिँदा नमानेको र सरकारले कोभिड नियन्त्रण गर्न दुई साता ढिला गर्दा मानवजीवन धेरै क्षति भएकै हो ।

अन्त्यमा संक्रमितको संख्या बढिरहेको समयमा सरकारलाई केही सुझाव दिन चाहनुहुन्छ ?

तेस्रो लहरको सुरुवात भएको छ । एक सातामा १० गुणा भन्दा बढी मात्रा संख्या वृद्धि भइसकेको छ । परीक्षण दरअनुसार पनि २० प्रतिशमा संक्रमण फैलिएको छ । बढी संक्रमित भएको ठाउँमा नियन्त्रण गर्न कडा नियम लागू गर्नुपर्छ । लकडाउन नगरे पनि सामाजिक दूरी कायम गरी भीडभाड नियन्त्रण गर्नुपर्छ । सार्वजनिक स्थानमा हुने भीडभाडलाई नियन्ण गरी खोप कार्यक्रमलाई तीव्रताको साथ लैजानुपर्छ ।



Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
ad
x