स्वास्थ्य

ओमिक्रोन भेरियन्टको असर

संक्रमितलाई स्वीकार्दै समाज, घरमै राखेर उपचार

गम्भीर लक्षण नभएकाले होम आइसोलेसनमै बस्नेको संख्या बढ्दो

अतिन आचार्य |
माघ ४, २०७८ मगलवार १५:३१ बजे

फाइल फोटो

काठमाडौँ- मुलुकभर कोभिड-१९ को संक्रमित दिनप्रतिदिन वृद्धि भइरहेको छ । अहिले यो समाचार तयार पार्दासम्म मुलुकभर सक्रिय संक्रमित ३० हजार ८ सय ७७ जना छन् । होम आइसोलेसनमा बस्‍नेको संख्या पनि उत्तिकै छ ।

पछिल्लो केही सातादेखि मुलुकमा तीव्र रुपमा संक्रमण फैलिरहेको छ । अस्पतालमा भर्ना हुने संक्रमितभन्दा पनि घरमा बसी उपचार गर्नेको संख्या बढीरहेका छन् । संक्रमण पुष्‍टि भए पनि लक्षण नदेखिएका संक्रमितहरू घरमा बसी उपचार गराइरहेका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न अस्पतालमा गरी एक हजार १७२ संक्रमित उपचाररत छन् । काठमाडौँमा मात्र ४७२ जना उपचारले उपचार गराइरहेका छन् । तर, बागमती प्रदेश मात्र उपचार गराउनेको तुलनामा १० गुणा संक्रमित होम आइसोलेसनमा छन् ।

पहिलो र दोस्रो लहरमा अस्पताल भर्ना हुनेको संख्या बढी थियो । ओमिक्रोन भेरियन्ट देखिदा होम आइसोलेसनमा बस्नेको संख्या बढी छ । दोस्रो लहरमा धेरैले अस्पतालमा शैय्या नपाएर भुइमा बसी उपचार गराएका थिए । अहिले भने संक्रमितले अस्पतालमा सहजै बेड पाउने गरेका छन् ।

तीव्र रुपमा संक्रमण बढे पनि यसपटक अस्पतालमा उपचार गराउने भन्दा पनि होम आइसोलेसनमा बस्नेको संख्या बढी छ । सातै प्रदेशमा गरी कुल २९ हजार ७ सय ५ जना होम आइसोलेसनमा छन् ।

धेरै मानिसहरूमा कोभिड पुष्‍टि भए पनि लक्षण नदेखिएकाले होम आइसोलेसनमा बस्नेको संख्या वृद्धि भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक सागरकुमार राजभण्डारी बताउँछन् ।

'अस्पताल नबस्दा पनि संक्रमणमुक्त हुन सक्नाले धेरै जना भर्ना भएका छैनन्,' उनले भने,' मुख्य कुरा लक्षण नदेखिएका र छिटो-छिटो निको हुने दर बढेकाले घरमा बसी उपचार गर्नेको संख्या बढेको हो ।'

सामान्य रुघाखोकी लाग्नसाथ परीक्षण गर्दा कोभिड पुष्‍टि भएमा संक्रमितहरू होम आइसोलेसनमा बस्न थालेका राजभण्डारीले बताए । 'सरकारको तथ्यांकमा भन्दा होम आइसोलेसनमा बस्‍नेको संख्या बढी हुन सक्छ,' उनले भने ।

होम आइसोलेसनमा बस्नेको संख्या धेरै रहेको अवस्थामा समुदायमा परीक्षण हुन नसकेको उनले गुनासो व्यक्त गरे । परीक्षणदर नबढाएर संक्रमितको पहिचान नगरेमा झन जोखिम बढ्न सक्ने उनको भनाइ छ ।

सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा. प्रविण नेपालका अनुसार कोभिड संक्रमितलाई परिवारदेखि समाजले स्विकार्न थालेका छन् । सबैलाई संक्रमण देखिन सक्‍ने भएकाले धेरै मानिसले सहजताको रुपमा लिएको उनले बताए ।

कोभिडको पहिलो र दोस्रो लहरमा जस्तो मानिसहरू अहिले त्रासमा नरहेको डा. नेपालको बुझाइ छ । ओमिक्रोन भेरियन्टको लक्षण गम्भीर नदेखिएकाले होम आइसोलेसनमा बस्‍नेको संख्या बढेको उनी मान्छन् । खोप लगाएकाले पनि धेरै संक्रमितलाई अस्पताल भर्ना हुनबाट बचाएको उनको दाबी छ ।

'अस्पतालमा भर्ना भएका संक्रमितहरू चाँडो निको भएर जाने गरेका छन,' उनले भने,' संक्रमण पुष्‍टि भए पनि नेगेटिभ नभए पनि चार-पाँच दिनमा होम आइसोलेसनमा बस्‍ने शर्तमा गइरहेका छन् ।'

नेपालले अस्पताल भर्ना भएका ८५ प्रतिशत संक्रमितले कोभिडविरुद्धको खोप लगाएको जानकारी दिए । नयाँ संक्रमित १५ जनालाई अक्सिजनको दिएर राखिएको उनले सुनाए ।

संक्रमितमा लक्षण कम देखिएकाले पनि होम आइसोलेसनमा बस्‍नेको संख्या बढेको हुन सक्‍ने त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बम बताउँछन् । ओमिक्रोन तीव्र रुपमा फैलने र चाँडै निको हुँदा पनि यसपटक संक्रमितको अस्पताल बसाइ कम रहेको उनको भनाइ छ ।

धेरै संक्रमितले यसपटकको भेरियन्टले गम्भीर नबनाउने बुझेकाले पनि अस्पताल भर्नादर अलिक कम भएको हुन सक्ने उनको तर्क । तर, केही दिनयता दिनप्रतिदिन अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्दै गएको भनाइ छ ।

अस्पतालमा २५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । ' स्वास्थ्यकर्मी संक्रमित भएकाले उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ,' डा. बम भन्छन्,' संक्रमितको संख्या बढी भएमा उपचारका लागि वार्ड पनि थप्छौ ।' 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x