स्वास्थ्य

'दीर्घरोगी र ज्येष्‍ठ नागरिकहरू जोखिममा पर्न सक्छन्'

पहिलो र दोस्रो लहरजस्तो संक्रमितमा स्वाद हराउने र सुगन्ध थाहा नपाउने समस्या देखा परेको छैन

इकागज |
माघ ११, २०७८ मगलवार ८:५८ बजे

नेपालमा पछिल्लो समय नेपालमा कोभिड-१९ को संक्रमण तीब्र बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पनि तीव्ररूपमा फैलिरहेको छ । त्रिवि शिक्षण अस्पतालका डा. निरज बम संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्ने बताउँछन् । अहिलेको अवस्थामा संक्रमण फैलिए केही दिनमै अस्पतालहरूमा संक्रमित भरिने उनको भनाइ छ । उनी भन्छन्, 'समुदायमा पुगेको संक्रमित देखिएका छैनन् । संक्रमण समुदायमा परालको आगो जस्तै फैलिइसकेको छ ।' यसै सन्दर्भमा डा. बमसँग इकागजले गरेको कुराकानी:

धेरै स्वास्थ्यकर्मीहरू संक्रमित भइरहेका छन् । उनीहरूको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?


धेरै स्वास्थ्यकर्मीहरू संक्रमित भएकाले केही वार्डसमेत बन्द छन् । संक्रमितको संख्या बढेकाले मेडिकल आइसीयू बन्द छन् । १५ बेडसहितको कोभिडको जनरल वार्ड बन्द गर्नुपर्ने अवस्था छ । केही होम आइसोलेशनमा र कतिपय स्वास्थ्यकर्मीहरू उपचारका लागि आइसक्नु भएको छ । स्वास्थ्यकर्मीहरूमा देखिने गाम्भीर्यता कम भएकाले सातौ दिनपश्‍चात स्वास्थ्यकर्मीहरू नियमित ड्युटीमा आइसकेका छन् । अहिले उपचारमा केही सहज छ ।

अस्पतालमा संक्रमितको संख्या ह्यवात्तै बढेमा जनशक्ति व्यवस्थापन कसरी गर्नुहुन्छ ?

अहिलेको अवस्थामा तीन सय संक्रमितलाई उपचार गर्न सक्‍ने भौतिक पूर्वाधारको व्यवस्था छ । संक्रमितलाई अस्पतालमा जसरी पनि उपचार गर्न सकिन्छ । पहिलो र दोस्रो लहरमा जसरी शैय्‍या तथा अन्य स्वास्थ्य सामग्रीको अभाव भएको थियो अहिले भने अस्पतालमा विगतको जस्तो घट्ना दोहोरिने अवस्था छैन ।

कोभिड उपचार केन्द्रमा कति संख्यामा स्वास्थ्यकर्मी परिचालित छन् ?

कोभिड वार्डमा २० जना डाक्टरसहित तीन सय स्टाफ नर्स खटाइएको छ ।

संक्रमितहरू कति समयसम्ममा निको हुने गरेका छन् ?

ओमिक्रोन भेरियन्ट देखा परेको छ भने पाँचदेखि सात दिनमा निको भएर घर जाने गरेका छन् । तर, दीर्घरोगी र ज्येष्‍ठ नागरिकलाई संक्रमणमुक्त हुन केही समय लाग्‍ने गरेको छ ।

अस्पताल पुग्दा संक्रमितको स्वास्थय अवस्था कस्तो रहेको पाउनु भएको छ ?

दीर्घरोगीहरूमा केही समस्या देखिएको छ । मिर्गौला, मुटु, कलेजो र क्यान्सर रोगीहरू गम्भीर अवस्था पुग्‍ने गरेको देखिएको छ । युवायुवतीहरूमा श्‍वासप्रश्‍वासको समस्या हुने गरेको छ । विगतको जस्तो भर्ना भएका संक्रमितमा गम्भीर समस्या कमैमा देखिएको छ ।

तेस्रो लहर सुरु भएपछि उपचार गराउन आएका संक्रमितको मृत्युदर कतिको बढेको छ ?

दीर्घरोगी हुनेहरूको मृत्युदर बढेको छ । दैनिक मृत्यु नभए पनि दिन बिराएर २-३ जनाको मृत्यु भएको छ । खोपको दुवै मात्रा लगाएका संक्रमितको पनि मृत्यु भइसकेको छ ।

संक्रमित भएर अस्पताल आउनेमा महिला वा पुरुष कसको संख्या बढी छ ?

कोभिड वार्डमा पुरुष संक्रमित भएर बस्नेको संख्या बढिरहेको छ । उनीहरू समुदायमा बढी चलायमान हुने गरेका छन् । बढी भीडभाड र बाहिर निस्कने गर्दा उनीहरूमा संक्रमण पुष्‍टि हुने गरेको छ । महिलाहरू बढी घरमा बस्ने र भीडभाडमा नजाने भएकाले संक्रमितको संख्या कम भएको हुन सक्छ ।

बालबालिकामा पनि संक्रमणदर बढ्दा उपचार गर्न आउनेहरू कति छन् ?

१० प्रतिशत बालबालिका संक्रमित भएर उपचारका लागि आइरहेका छन् । उनीहरूमा सामान्य रुघा-खोकी देखिए पनि त्यस्तो गम्भीर भएर आएका छैनन् ।

ओमिक्रोन भेरियन्ट ८८ प्रतिशत मानिसलाई लागेको कुरा सार्वजनिक भइसकेका छन् । यसले भयावह रुप लिए सबैभन्दा बढी जोखिममा कस्ता मानिसहरू पर्लान् ?

दीर्घरोगीहरू जोखिममा पर्ने देखिन्छ । उनीहरूसँग रोगसँग लड्ने क्षमता एकदमै कम हुन्छ । धेरै औषधि सेवन गरेका कारण पनि शरीर मजबुत भएको हुँदैन । ज्येष्‍ठ नागरिक पनि उत्तिकै जोखिममा पर्न सक्छन् ।   

संक्रमितमा कस्ता-कस्ता लक्षण देखिएको छ ?

पछिल्लो समयमा देखा परेको संक्रमितमा घाटी दुख्‍ने, शरीर दुख्‍ने, रुघा लाग्‍ने र ज्वरो आउने लक्षण देखा परिरहेका छन् । पहिलो र दोस्रो लहरमा जस्तो संक्रमितमा स्वाद हराउने र सुगन्ध थाहा नपाउने समस्या देखा परेको छैन ।

दोस्रो लहरमा अस्पताल बाहिर राखेर उपचार गरिएको थियो । अहिले शैय्याको अभाव हुन नदिन के गरिरहनु भएको छ ?

संक्रमितको उपचार गर्न अहिले अस्पतालमा १३४ शैय्या तयारी अवस्थामा छन् । एचडीयूसहित ४८ वटा आइसीयू बेड छन् । संक्रमितको चाप बढेमा यसअघि प्रयोग गरिएको अधिकांश वार्ड र भवन प्रयोग गरिन्छ । अहिले पहिले जस्तो संक्रमितले उपचार गर्न नपाउने गरी स्वास्थ्य सामग्रीको अभाव हुँदैन । स्वास्थ्यकर्मी बढी संक्रमित भएकाले जनशक्तिको अभाव छ ।

संक्रमितले अस्पतालमा शैय्या पाउँछन् त ?

आजको मितिसम्म अस्पतालमा आइपुगेका कुनै पनि संक्रमितले फर्कनु परेको छैन । इमर्जेन्सीमा केही समय पर्खेमा उनीहरूले उपचारका लागि अवश्य बेड पाउँछन् । दैनिक ८ देखि १० जना डिस्चार्ज हुने गर्छन् । थप उपचारका लागि बेड पनि थप्‍ने तयारीमा छौ ।

अस्पतालमा अक्सिजन प्लान्ट पनि निर्माण भइसकेको छ । प्लान्टले उत्पादन गरेको अक्सिजनले उपचार गर्न आउनेलाई चाहे जति अक्सिजन पुर्‍याउँन सक्छ त ?

अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट छन् । कोभिडको दोस्रो लहरमा बिग्रिएको प्लान्ट बनाइसकिएको छ । अहिले अस्पतालमा लिक्वीड अक्सिजन प्लान्ट पनि छ । प्लान्टले प्रति मिनेट ८ हजार लिटर अक्सिजन उत्पादन गर्छ । अक्सिजन चाहिने बिरामीहरू कम मात्रामा छन् । दीर्घरोगीलाई मात्र अक्सिजन चाहिने भएका छन् ।

पछिल्लो समय अस्पतालमा खोप लगाएका संक्रमितहरू भर्ना हुने क्रम बढिरहेका छन् । खोप लगाएका संक्रमितहरूको स्वास्थ्य अवस्था कस्तो पाउनु भएको छ ?

खोप लगाएका भन्दा नलगाएका मानिसहरूमा बढी गम्भीर असर परेको देखिन्छ । दीर्घरोगीमा समस्या छ । खोप लगाएका मानिसमा न्यून मात्रामा लक्षण देखिएको छ ।

पूर्ण मात्रा खोप लगाएका मानिस पनि संक्रमित भइरहेको छन् नि ?

खोपको प्रभावकारीता कम हुँदै गएको मान्न सकिन्छ । ओमिक्रोनलाई नेपालमा उपलब्ध भएको खोपले काम गर्न नसकेको जस्तो देखिन्छ । खोप लगाएर सावधानी नअपनाउदा र जनस्वास्थ्यको मापदण्ड नअपनाउदा संक्रमण फैलदो क्रममा छन्।

सुरक्षित रहन खोप अन्तिम विकल्प होइन भन्छन् । तर, खोप केन्द्रमा किन भीडभाड बढिरहेको छ त ?

नेपालमा लगाइएको खोपले मानिसहरूमा एन्टीबडी निर्माण गरिरहेको बारेमा अध्ययन हुन सकिरहेको छैन । खोप लगाएको लामो समय हुँदा एन्टीबडी घट्दा संक्रमण भएको हुन सक्छ । नयाँ भेरियन्टमा खोपले गरेको अध्ययन हुन सकेको छैन ।

यसपटक तीव्र रुपमा संक्रमण फैलदा होम आइसोलेसनमा बस्‍नेको संख्या किन बढ्यो ?

सञ्चार माध्यममा आएका समाचारले ‌ओमिक्रोन गम्भीर नभएको भनेर प्रकाशित भएका छन् । आम संक्रमितमा गम्भीर नभएसम्म अस्पताल किन जाने भन्‍ने मानसकिता बनेको छ । होम आइसोलेसनमा बस्दा सन्चो भइन्छ भनेर अस्पताल नजानेको संख्या बढेको हो । बिस्तारै समाजले संक्रमितलाई स्वीकार्दै जाँदा पनि होम आइसोलेसनमा बस्‍नेहरू वृद्धि भएका हुन् ।

दिनप्रतिदिन संक्रमित बढिरहेका छन् । बाहिर सडकमा मानिसको चाप उस्तै छ । यसरी बढिरहेको संक्रमणलाई ब्रेक गर्न सम्भव छ त ?

संक्रमित बढिरहे नियन्त्रण हुन २ देखि ३ हप्‍तासम्म लाग्छ । संक्रमण फैलिएमा अस्पतालमा संक्रमित भरिन्छन् । समुदायका संक्रमित देखिएका छैनन् । संक्रमण समुदायमा परालको आगो जस्तै फैलिइसकेको छ । विदेश जाने र अस्पतालमा भर्ना हुनेले मात्र परीक्षण गरिरहेका छन् । महामारी नियन्त्रण गर्न लकडाउनले सहयोग गर्छ तर, यसलाई अन्तिम विकल्पको रुपमा प्रयोग गर्नुपर्छ ।

अन्त्यमा कोभिडबाट सुरक्षित रहने मुख्य उपायहरू के-के हुन सक्छन् ?

जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्छ । भीडभाडबाट जतिसक्दो टाढा रहनुपर्छ । मास्कको अनिवार्य प्रयोग गरौ । व्यक्ति आफैँ सचेत हुनुपर्ने अवस्था आएको छ । स्वास्थ्य सचेतना फैलाउनुपर्छ । सरकारले सबैमा खोपको पहुँच पुर्‍याउनुपर्छ । पहिलो लगाएकालाई दोस्रो दिनुपर्छ दुवै मात्रा पाएकाले बुस्टरको मात्रा पाउनुपर्छ ।


Author

थप समाचार
x